मकवानपुर । २०२० को दशकमा बनेको नेपाली फिल्म माइतीघरको ‘वसन्त नै बस्न खोज्छ यहाँ’ गीत नसुनेका सायदै नेपाली होलान् । गीत लेखिएको ६ दशक पुगिसक्दा पनि उस्तै सदाबहादर छ । न त स्रोता नै घटेका छन् ।
उक्त गीतमा आमाभन्दा अगाडिको पुस्ता पनि नाच्यो, आमा पुस्ता पनि नाच्यो, नाति पुस्ता पनि रमाएरै नाच्दैछ । माइतीघरको शीर्ष गीतका गीतकार हुन्, किरण खरेल । उमेरको ८७ औं वर्षमा रमाउँदै गरेका उनै खरेल बागमती प्रदेशकाे राजधानी हेटौंडामा सम्मानित हुँदैछन् । यस वर्षकाे ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट गीतकार खरेललाई भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले हेटौंडामा सम्मानित गर्ने भएका हाे ।
प्रतिष्ठानले पत्रकार भेटघाट मार्फत १ लाख रुपैयाँ राशीकाे १७ औं संस्करणकाे उक्त पुरस्कार खरेललाई प्रदान गर्ने निर्णय भएकाे जानकारी दिएको हो । आगामी माघ १५ गते बिहीबार हेटौंडामा सांगीतिकसहितकाे कार्यक्रम गरि गीतकार खरेललाई ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिए । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा उक्त पुरस्कार स्थापना गरेका थिए ।
नेपाली गीत लेखनको क्षेत्रमा विगत सात दशकदेखि निरन्तर कलम चलाउँदै आउनु भएका खरेलले आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत लोकप्रिय गीतहरू सिर्जना गरेका छन् । खरेलले त्यसयता सात सयभन्दा बढी गीत लेखेका छन् । खरेलले माइतीघर लगायत एक सयभन्दा बढी चलचित्रका लागि गीत रचना गरेका छन् । माइतीघर अगाडि नै गीतकारका रुपमा नेपाली आधुनिक संगीत क्षेत्रमा परिचित भइसकेका थिए । ‘ए दूरका सितारा..’ बोलको गीत उनकाे पहिलाे रचना हाे ।
चारवटा गीत संग्रह प्रकाशित गरेका खरेलले तत्कालीन शाही नेपाल चलचित्र संस्थान तथा रेडियो नेपालको कार्यक्रम निर्माता तथा सञ्चालकको रुपमा जिम्मेवारी सम्हालेका थिए । छिन्नलता गीत पुरस्कारलगायत विभिन्न पुरस्कार एवम् विभूषणबाट विभूषित खरेलले आफ्नो कलमको माध्यमबाट नेपाली गीत सङ्गीतलाई देश विदेशमा चिनाउन पुर्याएकाे योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारबाट सम्मानित गर्न लागेको जनाएको महासचिव छवि अनित्यले बताए ।
विसं २०२२ मा माइतीघरका लागि खरेलले पहिलो पटक नेपाली फिल्मका लागि गीत लेखेका थिए । त्यसयता उनले सयभन्दा बढी नेपाली फिल्मका लागि गीत लेखेका छन् । गीतकार खरेलका जिन्दगीलाई जीत होइन…, हिमालको काखमा छ मेरो सानो गाउँ…, मन्दिरमा छ कि मूर्तिमा माया…, तारामात्र होइन तिमीलाई… लगायतका गीतहरू कालजायी छन् ।
उक्त पुरस्कारबाट यसअघि अम्बर गुरूङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), दीप श्रेष्ठ (२०६९), प्रकाश श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४), दावा ग्याल्मो (दीपक जंगम), किरण प्रधान (२०७९), राजेन्द्र थापा (२०८०) र निर शाह (२०८१) सम्मानित भइसकेका छन् ।
प्रतिष्ठानले तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम विराग युवा सङ्गीत पुरस्कार, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, कमला–भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रदान गर्दै आएकाे प्रतिष्ठान महासचिव अनित्यले जानकारी दिए ।
२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
मकवानपुर । प्रत्येक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्बरसम्म मनाइने लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान मंगलबारबाट सुरु भएकाे छ । प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौँ’ (Unite To End Digital Violence Against All Women And Girls ) भन्ने नाराका साथ यो वर्षकाे लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान संचालन गरिएकाे हाे ।
हेटौडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले हिंसाको प्रतिकार गर्नुपर्ने बताइन् । अभियान सुरु भएकाे अवसरमा मंगलबार हेटौंडामा आयोजना गरिएकाे किशोरी संवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘जुनसुकै हिंसाको विरुद्दमा खुलेर बोल्नुपर्छ’ उनले भनिन् ‘हिंसा जति सह्यो अझ बढी हिंसा गर्न तर्फ प्रेरित हुन्छन् ।’
यसैगरी माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले लैङ्गिक हिंसाको प्रकृति अहिले परिवर्तन भएको बताइन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ कात्तिक २९ गते निर्णयबाट हरेक वर्ष नोभेम्बर २५ तारिखबाट महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई दिवसका रूपमा मनाउने घोषणा गरेकाे उनले जानकारी दिइन् । अभियानकाे प्रभावकारी कार्यान्वयनकाे लागि विभिन्न गतिविधि र कार्यक्रम गरी दिवस मनाउँन थालिएको उनले बताइन् ।
‘महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ’ उनले भननिन् ‘लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित गर्नु पर्छ ।’ त्यसो नगरेसम्म कुनै पनि देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको उनकाे भनाई रहेकाे छ । नेपाल सरकारले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियानमूलक र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उनले जनकारी दिइन् ।
हेटौडा उपमहानगरपालिकाको आयोजना तथा मानव अधिकार तथा मानव बेचविखन बिरुद्दको संजालको समन्वयमा गरिएकाे किशोरी संवाद कार्यक्रममा संजाल अध्यक्ष आरती पाठकले सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको बताइन् । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएकाे अभियान अन्तर्गत हिलामाथि हुने हिंसाविरुद्ध जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्दै आएकाे उनले बताइन् ।
लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेकाे बताइएकाे छ । नोभेम्बर २५ देखि डिसेम्बर १० का बिचमा पर्ने अन्य दुई महत्त्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियानअन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्बर १ एड्स दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्दछन् । यस अभियानअन्तर्गत विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना/शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफललगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।
नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । २१ औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन ।
मकवानपुर । जिल्लास्तरीय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जीएस निकेतनले जितेको छ । नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना एवं जुनियर रेडक्रस सर्कल शारदा मावि, आमभन्ज्याङ्गकाे व्यवस्थापनमा आयोजित शिक्षक भलिबलकाे उपाधी जीएसले हात पारेकाे हाे ।
शारदा माविकाे स्वर्ण जयन्तीकाे अवसरमा शुक्रबारबाट सुरु प्रतियोगिता अन्तरगत आइतबार फाइनल खेल भएकाे थियो । आइतबार भएकाे फाइनलमा जिएसले शारदालाई २०-२५, २५-२३, २५-२०, २५-१७ ले पराजित गर्दै उपाधी हात पारेकाे हाे । उपाधीसँगै जिएसले ५० हजार रुपैंया नगद सहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएकाे शारदाले ३० हजार रुपैंया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यसैगरी सान्त्वना हुँदै प्रजा जागृती मावि राक्सिराङ्ग र सुन्दरीदेवि मावि थाहानगरले १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
शनिबार भएकाे पहिलो सेमिफाइनलमा जिएसले प्रजा जागृतिलाई २५–१७, २५–२२ र २५–९ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेकाे थियाे । त्यस्तै शनिबार नै भएकाे दोश्रो सेमिफाइनलमा शारदाले सुन्दरीदेवीलाई २५–१८, २५–१७ र २५–१७ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका थियाे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी जीएसका अमित मिश्र, उत्कृष्ट कोच जीएसकै इश्वर लामिछाने, उत्कृष्ट डिफेन्डर जिएसका आयुशा सिङ्ग, उत्कृष्ट सेटर जीएसका बिनोद श्रेष्ठ घोषित भए । यस्तै उत्कृष्ट स्पाइकर शारदाका आशिष घलान घोषित भए । प्रतियोगितामा मकवानपुरका २४ वटा विद्यालयको सहभागीता रहेको थियो ।
प्रतियोगिताकाे बिजेता टोलीलाई नेपाल रेडक्रस सोसाइटी, मकवानपुरका उपमन्त्री एवं जिल्ला जुनियर युवा सामितिको संयोजक शिवहरि दाहाल, जिल्ला सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई,मकवानपुर गढी -५ का वडा अध्यक्ष दिपेश दाहाल तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज सापकोटाले पुरस्कार वितरण गरेका थिए ।
मकवानपुर । विपद् प्रभावित स्थानमा जडान गर्न भारत सरकारले नेपालका लागि १० वटा बेलिब्रिज सहयोग उपलब्ध गराएको छ । बिहीबार हेटौंडामा एक समारोहमा भारत सरकारले अनुदानमा उपलब्ध गराउने १० वटा बेलिब्रिजमध्ये पहिलो ब्रिज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएका पुल ७० मिटरभन्दा लामा, ४.२५ मिटर चौडा (एकल–लेन) र ३८ मेट्रिक टनसम्मको भार वहन गर्न सक्ने क्षमताका रहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा हेटौंडामा आयोजित कार्यक्रमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त ब्रिज हस्तान्तरण गरेका हुन् । गत असोज महिनाको बाढी र पहिरोले क्षति पुर्याएको भौतिक पूर्वाधार, विशेषगरी पूर्वी नेपालको कोशी प्रदेश र अन्य क्षेत्रमा अवरुद्ध सडक सञ्जाल पुनर्निर्माणका लागि उक्त सहयोग प्रदान गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।
‘नेपाल सरकारको अनुरोधमा भारत सरकारले गत वर्षजस्तै यस वर्ष पनि १० वटा बेलिब्रिज उपलब्ध गराएको हो’ महानिर्देशक जैसीले भने ‘यस वर्ष इलाम लगायतका क्षेत्रमा भारी वर्षाले पुर्याएको क्षतिपछि भारतले तत्काल प्राविधिक सहयोग र थप बेलिब्रिज उपलब्ध गराइएको हाे ।’ गत वर्षको भीषण बाढी र पहिरोपछि भारतले उपलब्ध गराएका १० वटा बेलिब्रिजहरु जडान गरेर सडक सञ्जाल संचालन गरिएको थियो । अहिले प्राप्त बेलिब्रिज पनि हेवा खोला, बागमती नदी र लार्छा लगायतका स्थानमा जडान गरिनेछ ।
उक्त पुलहरु चाँडै जडान गरी सडककाे सञ्जाल पुनस्थापना गरिने बताइएकाे छ । लामा स्पानका पुलहरु जडान गर्न विशेष प्राविधिक विशेषज्ञता चाहिने भएकाले भारतले पुल निर्माण गर्ने कम्पनी ‘गार्डन रिच’ का इन्जिनियरहरुको टोली पठाउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बताए । उक्त टोलीले नेपाली इन्जिनियरहरूलाई क्षमता विकास तथा तालिम प्रदान गरी पुल जडानमा सहयोग गर्ने छ ।
नेपालकाे विकासमा भारत व्याकबाेनः मन्त्री घिसिङ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नेपालकाे विकासमा भारत सरकार व्याकबाेन भएकाे बताएका छन् । भारतकाे सहयोगमा बनिरहेकाे हुलाकी हाइवेकाे चर्चा गर्दै उनले नेपालकाे पुर्वदेखि पश्चिमसम्मकाे यातायात विकासकाे लागि भारतकाे सहयोग प्रशंसा योग्य भएकाे बताए ।
नेपालकाे ग्रामीणदेखि शहरी क्षेत्रकाे विकासमा निरन्तर सहयाेग गरेकाे बताउँदै उनले भने ‘जयनगरदेखि वर्दिबास सम्मकाे रेलवे नेटवर्कले नेपाललाई भाैगाेलिक रुपमा मात्र नभै सामाजिक सांस्कृतिक रुपमा पनि साउथ एसियासँग जोड्ने छ।’ भारत अघिल्लाे वर्ष १० वटा बेलिब्रिज सहयाेग रहेकाेमा यस वर्ष समेत १० वटा बेलीब्रिजकाे सम्झाैता भइसकेकाेमा तत्काल चारवटा आवश्यक रहेकाे उनले बताए ।
नेपालीलाई छात्रवृत्ति, स्वास्थ्य, प्रविधिलगायतकाे क्षेत्रमा समेत सहयाेग गर्दै आएकाे बताउँदै उनले भने ‘नेपालकाे हरेक क्षेत्रमा भारतले साथित्वकाे व्यवहार निर्वाह गर्ने गरेकाेले धन्यवाद दिन्छु ।’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्राविधिक शिक्षा अहिलेकाे आवश्यकता भएकाे बताएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङमा रहेको शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्ने उनले यस्तो बताएका हुन् ।
सोमबारबाट सुरु शारदाकाे सप्ताहव्यापी स्वर्ण महोत्सव कार्यक्रममा बानियाँले भने ‘अहिलेकाे शिक्षा भनेको देश भित्रै र बिदेशमा समेत विकाउ हुन आवश्यक छ ।’ प्रावविधिक शिक्षा तर्फ जोड दिंदै उनले यसका लागि विद्यालयलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । ‘परम्परागत शिक्षा भन्दा प्रविधिसँग जोड्ने शिक्षा अबकाे आवश्यक हाे’ उनले भने । अब पढ्दै, सिक्दै, काम गर्दै गर्न सक्ने शिक्षा आवश्यक रहेको उनले बताए ।
मुख्यमन्त्री बानियाँले शारदा गाना बिमोचन तथा स्तम्भ अनावरण समेत गरेका छन् । स्वर्ण महाेत्सव शुभारम्भकाे अवसरमा बिद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निवर्तमान अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष मान कुमारी पाख्रिन नेपाली, शिक्षा विकास निर्देशनालयका महानिर्देशक गोपाल कंडेल, राष्ट्रिय परीक्षा वोर्ड हेटौंडा प्रमुख बद्री पाठक, विद्यालयका पूर्व अध्यक्ष बलराम घिमिरेलगायत उपस्थित थिए ।
यसैबिच, शारदा माविको स्वण महोत्सवका अवसरमा सप्ताहव्यापी कार्याक्रम अन्तरगत जिल्ला स्तरीय शिक्षक बुद्धिचाल प्रतियोगिता भएको छ । प्रतियोगितामा शिक्षक भीम तिमल्सिना प्रथम, प्रअ इन्द्रबहादुर कार्की द्वितीय, रामजीप्रसाद हुमागाईं तृतीय र दिवस दुलालले सान्त्वना स्थान हात पारेका छन् । बिद्यालयले आफ्नो स्थापनाको स्वर्ण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछ ।
प्रधानध्यापक कार्कीले स्वागत गरेकाे उद्घाटन कार्यक्रम बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा भएको हाे ।