मकवानपुर । २०२० को दशकमा बनेको नेपाली फिल्म माइतीघरको ‘वसन्त नै बस्न खोज्छ यहाँ’ गीत नसुनेका सायदै नेपाली होलान् । गीत लेखिएको ६ दशक पुगिसक्दा पनि उस्तै सदाबहादर छ । न त स्रोता नै घटेका छन् ।
उक्त गीतमा आमाभन्दा अगाडिको पुस्ता पनि नाच्यो, आमा पुस्ता पनि नाच्यो, नाति पुस्ता पनि रमाएरै नाच्दैछ । माइतीघरको शीर्ष गीतका गीतकार हुन्, किरण खरेल । उमेरको ८७ औं वर्षमा रमाउँदै गरेका उनै खरेल बागमती प्रदेशकाे राजधानी हेटौंडामा सम्मानित हुँदैछन् । यस वर्षकाे ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट गीतकार खरेललाई भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले हेटौंडामा सम्मानित गर्ने भएका हाे ।
प्रतिष्ठानले पत्रकार भेटघाट मार्फत १ लाख रुपैयाँ राशीकाे १७ औं संस्करणकाे उक्त पुरस्कार खरेललाई प्रदान गर्ने निर्णय भएकाे जानकारी दिएको हो । आगामी माघ १५ गते बिहीबार हेटौंडामा सांगीतिकसहितकाे कार्यक्रम गरि गीतकार खरेललाई ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिए । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा उक्त पुरस्कार स्थापना गरेका थिए ।
नेपाली गीत लेखनको क्षेत्रमा विगत सात दशकदेखि निरन्तर कलम चलाउँदै आउनु भएका खरेलले आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत लोकप्रिय गीतहरू सिर्जना गरेका छन् । खरेलले त्यसयता सात सयभन्दा बढी गीत लेखेका छन् । खरेलले माइतीघर लगायत एक सयभन्दा बढी चलचित्रका लागि गीत रचना गरेका छन् । माइतीघर अगाडि नै गीतकारका रुपमा नेपाली आधुनिक संगीत क्षेत्रमा परिचित भइसकेका थिए । ‘ए दूरका सितारा..’ बोलको गीत उनकाे पहिलाे रचना हाे ।
चारवटा गीत संग्रह प्रकाशित गरेका खरेलले तत्कालीन शाही नेपाल चलचित्र संस्थान तथा रेडियो नेपालको कार्यक्रम निर्माता तथा सञ्चालकको रुपमा जिम्मेवारी सम्हालेका थिए । छिन्नलता गीत पुरस्कारलगायत विभिन्न पुरस्कार एवम् विभूषणबाट विभूषित खरेलले आफ्नो कलमको माध्यमबाट नेपाली गीत सङ्गीतलाई देश विदेशमा चिनाउन पुर्याएकाे योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारबाट सम्मानित गर्न लागेको जनाएको महासचिव छवि अनित्यले बताए ।
विसं २०२२ मा माइतीघरका लागि खरेलले पहिलो पटक नेपाली फिल्मका लागि गीत लेखेका थिए । त्यसयता उनले सयभन्दा बढी नेपाली फिल्मका लागि गीत लेखेका छन् । गीतकार खरेलका जिन्दगीलाई जीत होइन…, हिमालको काखमा छ मेरो सानो गाउँ…, मन्दिरमा छ कि मूर्तिमा माया…, तारामात्र होइन तिमीलाई… लगायतका गीतहरू कालजायी छन् ।
उक्त पुरस्कारबाट यसअघि अम्बर गुरूङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), दीप श्रेष्ठ (२०६९), प्रकाश श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४), दावा ग्याल्मो (दीपक जंगम), किरण प्रधान (२०७९), राजेन्द्र थापा (२०८०) र निर शाह (२०८१) सम्मानित भइसकेका छन् ।
प्रतिष्ठानले तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम विराग युवा सङ्गीत पुरस्कार, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, कमला–भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रदान गर्दै आएकाे प्रतिष्ठान महासचिव अनित्यले जानकारी दिए ।
२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

