मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्डकाे निर्माण कार्य नसकिए पछि थप १ महिना बन्द हुने भएकाे छ । सडकखण्डमा पुलको एप्रोच रोड (पुलसम्म पुग्ने सडक) निर्माण गर्न भौगोलिकरुपले कठिनाइ भए पछि माघ ६ गतेदेखि फागुन ६ गतेसम्म १ महिना सडक बन्द हुने भएकाे हाे ।
यसअघी नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणकाे लागि पुष ५ गतेदेखि १ महिना विहान ११ बजेबाट दिउँसाे ३ बजेसम्म बन्द गरिएकाे थियाे । सडक मर्मतकाे कार्य नसकिए पछि माघ ६ गतेबाट थप १ महिना विहान १२ बजेबाट दिउँसाे ४ बजेसम्म सडकमा आवतजावत बन्द गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएकाे छ ।
सडक मर्मत गर्न भौगोलिकरुपले कठिनाइ भएको ठाउँमा पहाड काटेर नसकिएपछि सडक बन्द हुने समय थप गरिएको हाे ।उक्त सडकखण्ड अन्गरगत तुइन खोला पुल र चिसेन्जी खोला पुल निर्माण हुने ठाउँमा पहाड काट्ने काम सकिएको छैन । त्यसैका लागि थप एक महिनासम्म दैनिक चार घन्टा बन्द गरेर काम गर्ने निर्णय भएको हाे ।
‘दैनिक चार घन्टा बाटो बन्द गरेर चारवटा पुलको एप्रोच सडकमा पर्ने पहाड काटिएको थियो । बन्द भएका बेला पैदलयात्रु र एम्बुलेन्सलगायतका सवारी हिँड्ने गरेकाले नियमित काम हुन सकेकाे थिएन’ आयाेजनाले भनेकाे छ ‘तुइन खोलाको पहाड अग्लो भएकाले पनि समयभित्रै काम सम्पन्न हुन नसकेको हो । अब दुईवटा पुलमा मात्रै निर्माणकाे काम बाँकी हो, थपिएको एक महिना सक्ने लक्ष्य लिएका छाैं ।’ यस सडकखण्ड भएर यात्रा गर्ने यात्रुहरुको सुरक्षाका लागि सडक बन्द गर्नु परेको बताइएकाे हाे ।
सडकखण्डमा पर्ने तुइन खोलाको दायाँपट्टि ३० प्रतिशत र बायाँपट्टि ६५ प्रतिशतभन्दा बढी पहाड काटिएको छ । तुइन खोलाको भित्तो ४५ मिटर अग्लो भएकाले पहाड काट्न केही कठिन हाे । चिसेन्जी खोलामा ७० प्रतिशत पहाड काटिएको आयाेजनाले जानकारी दिएकाे छ ।
त्यस्तै, पुलको जगमा परेका २६ वटा घरटहरालाई क्षतिपूर्तिकाे रकम उपलब्ध नभएकाेले समेत सडक मर्मतमा समस्या भएकाे हाे । विश्व बैंकले पुल निर्माण गर्न अनुदान दिनुअघि पुल र एप्रोच सडकमा पर्ने घरटहराको क्षतिपूर्ति नेपालले दिनुपर्ने बताएको थियो । तर, सरकारले बजेट निकासा नगर्दा क्षतिपूर्ति दिइएकाे छैन ।
सडक मर्मतकाे लागि २०७६ साल चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी १ अर्ब २५ करोडमा ठेकेदार कम्पनी जनक कन्ट्रक्सनले ठेक्का पाएकाे थियो । सम्झौताको १ दिन पछिबाट कोभिड संक्रमणका कारण भएकाे लकडाउनले काममा अवरोध पुगेको थियाे । पहिलो सम्झौताअनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको हो ।
सो सडकको चौडाइ ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाउन लागिएकाे छ । बिहान १२ बजेदेखि ४ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी संचालन हुन दिने भएकाे छ ।
निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने तथा सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका उपत्यका बाहेकका १० जिल्लामा कार्यरत ४ सय ६६ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को पुस महिनासम्म मातहतमा कार्यरत ९६ जना प्रहरी कर्मचारीलाई भने आचरण विपरीत काम गरेको भन्दै विभागीय कारबाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाइएको छ ।
यस्तै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी जानकारी दिए । हालसम्म कार्यालयले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्ने ४ सय ६६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको एसएसपी रेग्मीले जानकारी दिए । उनका अनुसार कार्यालय मातहत काम गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक महिना १५ जना पुरस्कृतसमेत गर्दै आइरहेको छ ।
बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनाभित्र दुई हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् ।प्रदेशको १० जिल्लाबाट ६ महिनामा २ हजार १ सय ५३ वटा मुद्दा दर्ता भएका हुन् । प्रदेश प्रहरी कार्यालय मातहतका २३ वटा प्रहरी कार्यालयहरुमा उक्त संख्यामा मुद्दा दर्ता भएको हो ।
प्रहरी कार्यालयले विभिन्न अपराधमा संलग्न भएको आरोपमा १ हजार ४ सय ५ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । कार्यालयका अनुसार फैसला कार्यान्वयनतर्फ प्रहरीले ३ सय ८७ जनालाई पक्राउ गरी ४ करोड ८ लाख ६१ हजार ८ सय ९९ रुपैयाँ जरिवाना संकलन गरेको छ ।
यस्तै चालुआर्थिक वर्षको ६ महिनामा १ लाख २८ हजार ७ सय ५४ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियम विपरित चलेका सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा परेका उक्त सवारी साधन कारबाहीबाट ११ करोड ३२ लाख ६५ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरिएको एसएसपी रेग्मीले जानकारी दिए । सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी साधनको यान्त्रिक परीक्षण अभियान संचालन गरी ५ हजार ५ सय ९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको प्रवक्ता रेग्मीले बताए ।
सवारी साधनको तीब्र गति नियन्त्रणका लागि विभिन्न २ सय २० स्थानमा राडर गनसहित चेकजाँच गर्ने व्यवस्था मिलाएर सिन्धुली, काभ्रे, चितवन, मकवानपुर र धादिङ जिल्लाका राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनमा टाइम कार्डको व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताए ।
बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा लागूऔषध ओसारपसारमा संलग्न २ सय ५७ जना पक्राउ परेका छन् । सो अवधिमा प्रदेशको कार्यक्षेत्रका १० जिल्लामा लागूऔषध ओसारपसारमा संलग्न २ सय ५७ जना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा सार्वजनिक गरिएको विवरण अनुसार, सो अवधिमा लागूऔषध गाँजा २ हजार ८८७ किलो, चरेश ९५ किलो, अफिम २ किलो र खैरो हिरोइन १८७ ग्राम बरामद भएको छ ।
त्यस्तै, विभिन्न प्रतिबन्धीत औषधिजन्य लागूऔषध २२ हजार ९१३ पिस, १ लाख ५ हजार ५०० मिलि लिटर तरलजन्य लागूऔषधसहित २५७ जनालाई पक्राउ गरेको जनाएको हो । साथै सो अवधिमा २६ हजार ८६७ लिटर तयारी घरेलु मदिरा र कच्चा मदिरा २३ हवार ८१ किलो बरामद गरेर नष्ट गरिएको छ ।
यस्तै, कार्यालयले प्रशासनिक सुधारअन्तर्गत मातहतका १४ वटा कार्यालयसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेको र १२ लक्ष्य र १ सय क्रियाकलाप कार्यान्वयनमा रहेको रेग्मीले बताए । प्रादेशिक प्रहरी अस्पताल तथा प्रदेशस्तरीय विधिविज्ञान प्रयोगशाला निर्माण गर्न ३० वर्षका लागि हेटौँडा उपमहानगरपालिका–१७, स्थित हटियामा नेपाल सरकारको नाममा रहेको ४ बिगाहा जग्गा लिजमा लिने सम्झौता भएको समेत रेग्मीले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयले शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै लगेको रेग्मी बताउँछन् । उनका अनुसार सिसिटिभी जडानलाई प्राथमिकता दिँदै ६ महिनाको अवधिमा प्रदेशका विभिन्न स्थानमा थप ८१ वटा सिसिटिभी जडान गरिएको छ ।
बागमती प्रदेश प्रवेश गर्ने विभिन्न राजमार्ग तथा नाकाहरुमा रहेका सिसिटिभी प्रदेश प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट मनिटर गरिँदै आएको छ । थप सिसिटिभी जडानका लागि प्रदेश सरकारबाट १ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको उनले बताए ।
मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिकामा भएकाे पाँचौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता,२०७९ को उपाधिमा भुटनिज युथ स्पोर्टसकाे कब्जा जमाएकाे छ । बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा मंगलबार भएकाे फाइनल खेलमा संकट क्लब काठमाडाैलाई टाइब्रेकरमा ८–७ गोलअन्तरले पराजित गर्दै अमेरिकन क्लब भुटनिज च्याम्पियन बनेकाे हो ।
खेलकाे निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउट टाइब्रेरमा धकेलिएकाे थियाे । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समय नखेलाई खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो । निर्धारित समयको पहिलो हाफमै दुबै टिमको तर्फबाट चार गोल भएको थियो । निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको पहिलो मिनेटमै भुटनिजले अग्रता बनाएको थियो । भुटनिजका लागि प्रबिन बस्नेतले गोल गरेका थिए ।
त्यस्तै खेलको छैठौँ मिनेटमा प्रबिन बस्नेतले ब्यक्तिगत दोस्रो गोल गर्दै टोली २–० को अग्रता दिलाए । तर, त्यो अग्रता पहिलो हाफको खेलमै तोडियो । सुनिल बलले खेलको ९ र २२ औं मिनेटमा गोल गर्दै संकटालाई खेलमा फर्काए । सुनिलले पहिलो गोल हेडमार्फत गरेका थिए भने दोस्रो गोल पेनाल्टीमार्फत प्रहार गरेका हुन् ।
दोस्रो हाफको खेलमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णयका पेनाल्टी सुटआउटमा धकेलिएकाे हाे । पेनाल्टी सुटआउटमा भुट्नीजलाई उपाधि दिलाउन मिगुएल पालाफक्स, धिरज धजाली, अम्मृलिन नेएने,रिल्ये यूरे, हेक्टर ओर्टेगा, प्रविन बस्नेत, उल्स, पुजन थापा मगर गोल गरे । त्यस्तै संकटाका सुनिल बल, सरोज दाहाल, मनिष डाँगी, मेसुके, आयूष घलान, स्टीफन विनोङ्ग र कुलदीप कार्कीले गोल गर्दा सुरज ज्यू ठकुरीका प्रहार भुट्नीजका गोलरक्षक पुजन थापा मगरले बचाउ गर्न सफल भए ।
प्रतियोगिताको विजेता भुट्नीज युथले नगद ८ लाख, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले संकटालले नगद ४ लाख रुपैयाँमा चित्त बुझाएको छ । बागमती खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगितामा दुई घरेलु, एक विदेशी र ७ एडिभिजनसहित १० टोलीको सहभागिता रहेको थियो । पुष २४ गतेबाट प्रतियाेगिताकाे पाचाैं संस्करण सुरु भएकाे थियाे ।
मकवानपुर । गत मंसिरमा सम्पन्न चुनावी परिणाम पछी सरकार गठनकाे समयमा एकाएक बदलिएकाे सत्तागठबन्धनले नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा रहेकाे थियाे । संसदमा सबै भन्दा ठुलाे दल काँग्रेसले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा विपक्षमा मत दिएकाे हाे ।
तिनै प्रधानमन्त्रीले विश्वासकाे मत दिदा काँग्रेस समेतले विश्वासकाे मत दिए पछी संघीय संसद प्रमुख प्रतिपक्ष विहिन जस्तै भएकाे छ । केन्द्रीय संसदकाे झल्काे दिने गरी बागमती प्रदेशमा समेत काँग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासकाे मत दिदाँ संसद प्रमुख प्रतिपक्ष विहिन भएकाे छ । बागमती प्रदेश सभामा रहेका ७ दल मध्ये ६ दलले मुख्यमन्त्रीलाई विश्वासकाे मत दिएकाे हाे ।
तर ३ सदस्य रहेकाे नेपाल मजदुर किसान पार्टीले भने विश्वासकाे मतकाे विपक्षमा मतदान गरेकाेले संसदमा एक्लाे तर कमजाेर प्रतिपक्ष भएकाे छ । केन्द्रीय सरकारका प्रधानमन्त्रीलाई पनि विश्वासको मत दिएको थिएन। नेपाली कांग्रेसले समेत मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएपछि नेमकिपा एक्लो प्रतिपक्षी दल बनेको हो । नेमकिपा प्रदेशसभाको पहिलो कार्यकालमा पनि ५ वर्ष नै प्रतिपक्षमा बसेको थियो। नेमकिपाका २०७४ सालमा पहिलाे पटक गठन भएकाे प्रदेश सभमा २ जना प्रदेशसभा सदस्य रहेका थिए ।
११० जना सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले ९५ प्रतिशत संसदकाे मतकाे विश्वास प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी १०५ जनाले विश्वासको मत दिएका हुन्।
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। आज मङ्गलबार भएको मतदानमा ११० सदस्यमध्ये ९५ प्रतिशतले मत दिएका हुन् । बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका थिए । विश्वासको मतका लागि उनलाई ५६ मत आवस्यक थियो ।
उनको विपक्षमा ३ जनाले मात्रै मत दिए। सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईं विश्वासको मतमा सहभागी भएनन्। प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल मजदुर किसान पार्टी मात्रै मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिएको हो।
पुस २६ गते केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले मंगलवार प्रदेशमा माओवादीकै मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो।
मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टिको २ जनाले विश्वासको मत दिएका हुन्।
५ दलको ७० सांसदको समर्थनमा गत पुस २५ गते प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले २६ गते सपथ लिएका थिए। उनलाई मुख्यमन्त्री नियुक्त हुँदा केन्द्रको समीकरण बाहिर रहेको समाजवादी र हाम्रो नेपाली पार्टीले समर्थन गरेको थियो ।
मुख्यमन्त्रीमा शपथ ग्रहण गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।