मकवानपुर । बागमती प्रदेशका उपत्यका बाहेकका १० जिल्लामा कार्यरत ४ सय ६६ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को पुस महिनासम्म मातहतमा कार्यरत ९६ जना प्रहरी कर्मचारीलाई भने आचरण विपरीत काम गरेको भन्दै विभागीय कारबाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाइएको छ ।
यस्तै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी जानकारी दिए । हालसम्म कार्यालयले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्ने ४ सय ६६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको एसएसपी रेग्मीले जानकारी दिए । उनका अनुसार कार्यालय मातहत काम गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक महिना १५ जना पुरस्कृतसमेत गर्दै आइरहेको छ ।
बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनाभित्र दुई हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् ।प्रदेशको १० जिल्लाबाट ६ महिनामा २ हजार १ सय ५३ वटा मुद्दा दर्ता भएका हुन् । प्रदेश प्रहरी कार्यालय मातहतका २३ वटा प्रहरी कार्यालयहरुमा उक्त संख्यामा मुद्दा दर्ता भएको हो ।
प्रहरी कार्यालयले विभिन्न अपराधमा संलग्न भएको आरोपमा १ हजार ४ सय ५ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । कार्यालयका अनुसार फैसला कार्यान्वयनतर्फ प्रहरीले ३ सय ८७ जनालाई पक्राउ गरी ४ करोड ८ लाख ६१ हजार ८ सय ९९ रुपैयाँ जरिवाना संकलन गरेको छ ।
यस्तै चालुआर्थिक वर्षको ६ महिनामा १ लाख २८ हजार ७ सय ५४ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियम विपरित चलेका सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा परेका उक्त सवारी साधन कारबाहीबाट ११ करोड ३२ लाख ६५ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरिएको एसएसपी रेग्मीले जानकारी दिए । सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी साधनको यान्त्रिक परीक्षण अभियान संचालन गरी ५ हजार ५ सय ९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको प्रवक्ता रेग्मीले बताए ।
सवारी साधनको तीब्र गति नियन्त्रणका लागि विभिन्न २ सय २० स्थानमा राडर गनसहित चेकजाँच गर्ने व्यवस्था मिलाएर सिन्धुली, काभ्रे, चितवन, मकवानपुर र धादिङ जिल्लाका राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनमा टाइम कार्डको व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताए ।
बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा लागूऔषध ओसारपसारमा संलग्न २ सय ५७ जना पक्राउ परेका छन् । सो अवधिमा प्रदेशको कार्यक्षेत्रका १० जिल्लामा लागूऔषध ओसारपसारमा संलग्न २ सय ५७ जना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा सार्वजनिक गरिएको विवरण अनुसार, सो अवधिमा लागूऔषध गाँजा २ हजार ८८७ किलो, चरेश ९५ किलो, अफिम २ किलो र खैरो हिरोइन १८७ ग्राम बरामद भएको छ ।
त्यस्तै, विभिन्न प्रतिबन्धीत औषधिजन्य लागूऔषध २२ हजार ९१३ पिस, १ लाख ५ हजार ५०० मिलि लिटर तरलजन्य लागूऔषधसहित २५७ जनालाई पक्राउ गरेको जनाएको हो । साथै सो अवधिमा २६ हजार ८६७ लिटर तयारी घरेलु मदिरा र कच्चा मदिरा २३ हवार ८१ किलो बरामद गरेर नष्ट गरिएको छ ।
यस्तै, कार्यालयले प्रशासनिक सुधारअन्तर्गत मातहतका १४ वटा कार्यालयसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेको र १२ लक्ष्य र १ सय क्रियाकलाप कार्यान्वयनमा रहेको रेग्मीले बताए । प्रादेशिक प्रहरी अस्पताल तथा प्रदेशस्तरीय विधिविज्ञान प्रयोगशाला निर्माण गर्न ३० वर्षका लागि हेटौँडा उपमहानगरपालिका–१७, स्थित हटियामा नेपाल सरकारको नाममा रहेको ४ बिगाहा जग्गा लिजमा लिने सम्झौता भएको समेत रेग्मीले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयले शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै लगेको रेग्मी बताउँछन् । उनका अनुसार सिसिटिभी जडानलाई प्राथमिकता दिँदै ६ महिनाको अवधिमा प्रदेशका विभिन्न स्थानमा थप ८१ वटा सिसिटिभी जडान गरिएको छ ।
बागमती प्रदेश प्रवेश गर्ने विभिन्न राजमार्ग तथा नाकाहरुमा रहेका सिसिटिभी प्रदेश प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट मनिटर गरिँदै आएको छ । थप सिसिटिभी जडानका लागि प्रदेश सरकारबाट १ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको उनले बताए ।

