मकवानपुर । प्रतिनिधि सभा सभामुख चयनका लागि आज बिहीबार निर्वाचन हुने भएको छ । संघीय संसद् भवनमा बिहान ११ बजेदेखि सभामुख चयनको लागि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
सभामुख पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेबाट सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन् ।
यस्तै नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छन् । समानुपातिक सांसद न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
सभामुखमा निर्वाचित हुन कम्तीमा १ सय ३८ मत ल्याउनुपर्छ। राजनीतिक समीकरणमा रातारात कुनै नाटकीय हेरफेर नभएमा नेकपा एमालेका नेता घिमिरे प्रतिनिधिसभाको सभामुख बन्ने निश्चित भएको छ ।
सत्ता साझेदार दलहरुको मत नै घिमिरे सभामुख बन्न पर्याप्त छ । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरि २ सय ७५ जना सांसद छन्। प्रतिनिधिसभामा एमाले ७९, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ र जनमत पार्टीसँग ६ सांसद छन्। यो भनेको सभामुख निर्वाचित हुन बहुमत भन्दा बढी हो ।
यसमा जनता समाजवादी पार्टी (जसपा) को १२, नागरिक उन्मुक्ति पार्टीको ३ र स्वतन्त्र सांसदहरुको मत थपिन सक्ने बताईएको छ ।


