मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। आज मङ्गलबार भएको मतदानमा ११० सदस्यमध्ये ९५ प्रतिशतले मत दिएका हुन् । बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका थिए । विश्वासको मतका लागि उनलाई ५६ मत आवस्यक थियो ।
उनको विपक्षमा ३ जनाले मात्रै मत दिए। सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईं विश्वासको मतमा सहभागी भएनन्। प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल मजदुर किसान पार्टी मात्रै मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिएको हो।
पुस २६ गते केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले मंगलवार प्रदेशमा माओवादीकै मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो।
मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टिको २ जनाले विश्वासको मत दिएका हुन्।
५ दलको ७० सांसदको समर्थनमा गत पुस २५ गते प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले २६ गते सपथ लिएका थिए। उनलाई मुख्यमन्त्री नियुक्त हुँदा केन्द्रको समीकरण बाहिर रहेको समाजवादी र हाम्रो नेपाली पार्टीले समर्थन गरेको थियो ।
मुख्यमन्त्रीमा शपथ ग्रहण गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

