मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्डकाे निर्माण कार्य नसकिए पछि थप १ महिना बन्द हुने भएकाे छ । सडकखण्डमा पुलको एप्रोच रोड (पुलसम्म पुग्ने सडक) निर्माण गर्न भौगोलिकरुपले कठिनाइ भए पछि माघ ६ गतेदेखि फागुन ६ गतेसम्म १ महिना सडक बन्द हुने भएकाे हाे ।
यसअघी नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणकाे लागि पुष ५ गतेदेखि १ महिना विहान ११ बजेबाट दिउँसाे ३ बजेसम्म बन्द गरिएकाे थियाे । सडक मर्मतकाे कार्य नसकिए पछि माघ ६ गतेबाट थप १ महिना विहान १२ बजेबाट दिउँसाे ४ बजेसम्म सडकमा आवतजावत बन्द गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएकाे छ ।
सडक मर्मत गर्न भौगोलिकरुपले कठिनाइ भएको ठाउँमा पहाड काटेर नसकिएपछि सडक बन्द हुने समय थप गरिएको हाे ।उक्त सडकखण्ड अन्गरगत तुइन खोला पुल र चिसेन्जी खोला पुल निर्माण हुने ठाउँमा पहाड काट्ने काम सकिएको छैन । त्यसैका लागि थप एक महिनासम्म दैनिक चार घन्टा बन्द गरेर काम गर्ने निर्णय भएको हाे ।
‘दैनिक चार घन्टा बाटो बन्द गरेर चारवटा पुलको एप्रोच सडकमा पर्ने पहाड काटिएको थियो । बन्द भएका बेला पैदलयात्रु र एम्बुलेन्सलगायतका सवारी हिँड्ने गरेकाले नियमित काम हुन सकेकाे थिएन’ आयाेजनाले भनेकाे छ ‘तुइन खोलाको पहाड अग्लो भएकाले पनि समयभित्रै काम सम्पन्न हुन नसकेको हो । अब दुईवटा पुलमा मात्रै निर्माणकाे काम बाँकी हो, थपिएको एक महिना सक्ने लक्ष्य लिएका छाैं ।’ यस सडकखण्ड भएर यात्रा गर्ने यात्रुहरुको सुरक्षाका लागि सडक बन्द गर्नु परेको बताइएकाे हाे ।
सडकखण्डमा पर्ने तुइन खोलाको दायाँपट्टि ३० प्रतिशत र बायाँपट्टि ६५ प्रतिशतभन्दा बढी पहाड काटिएको छ । तुइन खोलाको भित्तो ४५ मिटर अग्लो भएकाले पहाड काट्न केही कठिन हाे । चिसेन्जी खोलामा ७० प्रतिशत पहाड काटिएको आयाेजनाले जानकारी दिएकाे छ ।
त्यस्तै, पुलको जगमा परेका २६ वटा घरटहरालाई क्षतिपूर्तिकाे रकम उपलब्ध नभएकाेले समेत सडक मर्मतमा समस्या भएकाे हाे । विश्व बैंकले पुल निर्माण गर्न अनुदान दिनुअघि पुल र एप्रोच सडकमा पर्ने घरटहराको क्षतिपूर्ति नेपालले दिनुपर्ने बताएको थियो । तर, सरकारले बजेट निकासा नगर्दा क्षतिपूर्ति दिइएकाे छैन ।
सडक मर्मतकाे लागि २०७६ साल चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी १ अर्ब २५ करोडमा ठेकेदार कम्पनी जनक कन्ट्रक्सनले ठेक्का पाएकाे थियो । सम्झौताको १ दिन पछिबाट कोभिड संक्रमणका कारण भएकाे लकडाउनले काममा अवरोध पुगेको थियाे । पहिलो सम्झौताअनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको हो ।
सो सडकको चौडाइ ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाउन लागिएकाे छ । बिहान १२ बजेदेखि ४ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी संचालन हुन दिने भएकाे छ ।
निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने तथा सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने बताइएकाे छ ।

