मकवानपुर । थाहा नगरपालिका मकवानपुरको पर्यटन प्रबर्द्धनका लागि चितवनको खैरहनीमा फोटो प्रदर्शनी गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग वाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा २०७९ माघ ४ देखि १५ सम्म बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सव सुरु भएको छ । महोत्सवमा माघ ५ गते विहीबारबाट थाहा नगर आसपासको फोटो प्रदर्शनीका लागि राखिएको हो ।
थाहा नगरपालिका तथा थाहा नगर उद्याेग वाणिज्य संघको ब्यवस्थापन र फरक सोचको समन्वयमा थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरपालिका भित्रका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू समेटिएका ६० वटा फोटो उक्त महोत्सवमा प्रदर्शनीका लागि राखिएका छन् ।
बिहिबार करिब ५०० जनाले थाहाको फोटो अवलाेकन गरेको थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिए ।आन्तरिक पर्यटकलाई आकर्षित गर्दै प्रबर्द्धन गर्न तथा थाहा नगरको समग्र परिचय दिने उद्देश्यले उक्त महोत्सवमा फोटो प्रदर्शनी सुरु गरिएको थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले बताए ।

