मकवानपुर । बागमती प्रदेश सञ्चार रजिष्ट्रारमा रेवती प्रसाद सापकोटा नियुक्त भएका छन । बागमती प्रदेश सरकारमातहतको सञ्चार रजिष्ट्रारमा सापकोटा दोस्रो पटक नियुत्त भएका हुन ।
४ वर्षे पहिलो कार्यकाल पूरा गरेका सापकोटालाई गत चैत २८ गते प्रदेश सरकारले दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश सञ्चार माध्यमसम्बन्धी ऐन २०७५ को दफा ३१ बमोजिम सापकोटालाई रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
सापकोटालाई आइतबार एक कार्यक्रमबीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूम मन्त्री गंगानारायण श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।शपथ ग्रहण कार्यक्रमपछि नियुक्तिको प्रमाणपत्र मन्त्रालयका सचिब ध्रुब गैँडाले सापकोटालाई हस्तान्तरण गरेका थिए ।
४ वर्ष अघि सापकोटालाई बागमती प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सञ्चार रजिष्ट्रारको रुपमा पदबहाली गराएका थिए । दोस्रो कार्यकालको लागि नियुक्त भए संगै सापकोटाले ४ वर्षे कार्यकाल उल्लेखनीय भएको बताए । पहिलो पटक रजिष्ट्रारमा नियुक्ति हुँदा प्रदेशमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ मात्रै रहेको स्मरण गर्दै सापकोटाले नियमावली बनाएर कार्य गरेकोमा हाल ऎन ३ पटक र नियमावलीमा ४ पटक संसोधन भएको जानकारी दिए ।
कार्यालय,कर्मचारी र सेवाग्राही समेत नभएको अबस्थामा आफूले सुरुमा नियुक्ति लिएकोमा हाल एफ एम रेडियो, केवलमा आधारित टेलिभिजन, अनलाइन सञ्चार माध्यम, परिचयपत्र प्राप्त गर्ने पत्रकार, लेखन बृत्ति प्राप्त गर्ने पत्रकार, तालिम प्राप्त गर्ने पत्रकार तथा प्राविधिकसहित झण्डै १५ सय सेवाग्राही प्रत्यक्ष सञ्चार रजिष्ट्रारको कार्यालयसँग उनले बताए ।
‘सञ्चार क्षेत्रबाट राजस्व संकलन हुन्छ भन्ने थाहा नै थिएन, प्रदेश सरकारको क्षेत्राधिकारका फाइल संघीय सरकारमा थिए’ उनले भने
चार बर्षका लागि नियुक्ति लिदै गर्दा सपथ मन्त्रालयको आर्थिक सहयोगमा गरिएको कोभिड बिमामा (९४५ जना) र चालु आर्थिक बर्षको दुर्घटना बिमामा (१५८४जना) पत्रकार बागमती प्रदेशसँग जोडिएका छन ।
सेवाग्राहीलाई सेवा दिने, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने काम हेटौडा र काठमाडौ उपत्यका कार्यालयबाट भइरहेको समेत सापकोटाले जानकारी दिए ।
प्रदेश सरकारका लागि बार्षिक एक करोड भन्दा बढी राजस्व संकलन गर्ने तथा एफ,एम रेडियो, केवलमा आधारित टेलिभिजन र अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने कार्यालयको रुपमा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय स्थापित भएको समेत उनले बताए ।
आगामी चार बर्षे कार्यकालमा अघिल्लो अवधिमा भएका कामलाई थप संस्थागत गर्ने, संघीय सरकारबाट फाइल हस्तान्तरण गर्न प्रशासनिक पहल गर्ने, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ ले दिएका थप जिम्मेवारीको अधिकतम बहन काम गर्ने र प्रदेश सरकारले दिएका अन्य जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत सापकोटाले व्यक्त गरेका छन ।
मकवानपुर । एमाले महासचिव ईश्वर पोख्रेलले आफूहरुले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान आगामी २०८४ मा हुने आम निर्वाचित केन्द्रीत रहेको बताएका छन् । उनले अब एमालेले ‘मिसन ८४’ लाई अभियानको रुपमा सञ्चालन गर्ने बताए ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत हेटौँडामा भएको प्रशिक्षणमा महासचिव पोख्रेलले वर्षभरी एमाले हुने तर भोट हाल्ने दिन एमाले विर्सने सदस्यहरु एमाले हुन नसक्ने भन्दै उनले नविकरणमा भन्दा कटिवद्ध एमाले निर्माण अभियानमा जोड दिन मातहतका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
एक फरक प्रसङ्गमा महासचिव पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमालेको कोटाबाट टिकट दिने पार्टी नेतृत्वको निर्णयबारे खुलासा समेत गरेका छन् ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गतको प्रशिक्षण कार्यक्रममा पोखरेलले स्थानीय तहमा देखिएको पार्टीको पराजय, राजतन्त्रको पक्षमा रहेको राप्रपाको उदयको शंकेत सहित एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेर नाकावन्दीको समयमा दिएको महत्वपूर्ण साथ तथा गणतन्त्रलाई स्विकार गरेको कारण थापालाई एमालेले उम्मेद्वार बनाएको बताए । यस्तै देशमा नाकाबन्दीको चर्को असर रहेको समयमा थापाले गरेको सहयोग निकै महत्वपूर्ण रहेको निश्कर्ष नेतृत्वले निकालेको र उनलाई एक पटक अवसर दिईएको उनको भनाई रहेको थियो ।
यस्तै महासचिव पोखरेलले जनताको प्रश्न देखेर रिसाउने र भाग्नेहरु जनताको नेता हुन नसक्ने दाबी गरेका छन् । प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले अरुलाई प्रश्न गर्न सहज भएको मान्नेहरु आफूलाई प्रश्न आउँदा भाग्दै हिडेको बताए ।
स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका एकजना स्थानीय ब्यवसायीप्रति गरेको ब्यवहारप्रति ब्यङ्ग्य गर्दै महासचिव पोखरेलले भने ‘हिजो अरुलाई प्रश्न सोध्नेहरु आज जनताबाट आएको प्रश्न देखेर भाग्न पाईन्छ ?’ महासचिव पोखरेलले प्रचण्ड नेतृत्वको सरकारले देशको अर्थतन्त्र बदल्न नसक्ने दाबी गरे । एमाले सरकारमा हुँदा नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको तर एमालेको बहिर्गमन पछि देशको अर्थ ब्यवस्था ध्वस्त हुँदै गएको उनले बताए ।
एसियाको दुई ठुला शक्तिराष्ट्रहरुको बिचमा आफूहरु रहेको र विश्वको अर्थतन्त्रको केन्द्र यि दुई राष्ट्र बन्दै गएको कारण नेपालमा विदेशी शक्तिको चलखेल बढनसक्ने भन्दै महासचिव पोखरेलले विदेशी शक्तिको केन्द्र बन्नबाट रोक्नको लागि एमालेलाई जनताले बहुमत दिनपर्ने बताए ।
मकवानपुर । गजल मञ्च मकवानपुरको १९ औँ वार्षिकोत्सव तथा २ सय १ औँ गजल यात्रा गजलकार अमला अधिकारीको एकल गजल विशेष भएको छ ।
गजल मञ्चको निमन्त्रणमा शनिबार हेटौँडा आएकी अधिकारीले करिब डेढ दर्जन गजल वाचन गर्दा गजलका शेर नै पिच्छे तालीको गुन्जहाट कार्यक्रम स्थलमा भएको थियो ।
अब निदाउँ कालेका बा सपना देख्नुपर्छ ।
यो तितो विपनालाई एकछिन लखेट्नुपर्छ ।
खुन बेचेर नुन किन्यौ आँखा कमजोर भए,
यदि चश्मा किन्नुपरे आँखा बेच्नुपर्छ ।
––––
मुटु बधशालामा आँखा सिमानामा राखिदिनु ।
त्यसपछि मात्र यो शरीरलाई चितामा राखिदिनु ।
हामी कारखानामै सिध्याइदिन्छौँ रगत र पसिना,
सरकार हाम्रा नानीहरुलाई पाठशालामा राखिदिनु ।
––––
मलाई दूर बस्नु छ प्यारको असरबाट ।
तिमी दूर गइदेउ यी मेरा नजरबाटव।
मेरो धान फल्ने खेतमा मोटर गुडेको छ,
चामल ओसार्नु छ मोटरमा सहरबाट ।
माथिका गजलका शेरहरु जस्तै सरल र सहज भाषामा ग्रामीण जनजीवन, परिवेश र पछाडि पारिएका वर्गको आवाजलाई बोल्ने गजलकार अधिकारीले वाचन गरेका गजलहरुमाथि समीक्षासमेत गरिएको थियो ।
कार्यक्रममा वाचित गजलहरुमाथि समीक्षक घनश्याम घिमिरेले विचार, भाव र संरचना पक्षको बारेमा समालोचना गरेका थिए । समीक्षक घिमिरेले अमलाका गजलहरुले आवाजबिहीनहरुका आवाजहरु बोलेको बताए । ग्रामीण परिवेश, भोगाई, विपन्न र निमुखाका जीवन भोगाईका विविध पाटाहरुलाई गजलमा सुन्दर तरिकाले प्रस्तुत गरिएको भन्दै घिमिरेले गजलकारको प्रसंशा गरेका थिए ।
गजल मञ्च मकवानपुरले अधिकारीलाई गजल श्रष्टा सम्मान समेत प्रदान गरेको छ । गजलको उन्नयन, विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका रहेकोले अधिकारीलाई गजल सम्मान २०८० प्रदान गरिएको हो । यसअघि निमेष निखिल, धनराज गिरी, रवि प्राञ्जल, बुँद राना, ज्ञानुवाकर पौडेल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, र श्याम न्यौपानेलाई उक्त सम्मान मञ्चले प्रदान गरिसकेको छ ।
शिक्षण पेशामा आवद्ध सर्लाही स्थायी निवासी अधिकारीका ४ वटा गजल सङ्ग्रह र एउटा उपन्यास प्रकाशित भइसकेको छ । उनको ‘अमला’, ‘आगो’, ‘आरन’ र ‘आश्रम’ गजल सङ्ग्रह हो ‘आलय’ उपन्यास प्रकाशित छन् ।
गजल मञ्च अध्यक्ष केशव समर्पणको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने र गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश तथा विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउने गर्छन् ।
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ ।
नयाँ वर्षको दिन आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
विक्रम सम्वत् पात्रो अनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । नयाँ वर्ष आरम्भका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे प्रदेश प्रमुख यादवचन्द्र शर्मा लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको प्रगतिको कामना गरेका छन् ।
सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने भनाई छ ।
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो नेपाल, भारत जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो नेपालमा औपचारिक कामकाजको पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ नेपालमा बैशाख महिनाको पहिलो दिनबाट हुन्छ भने भारतमा चैत्र महिनाको पहिलो दिन ।
विक्रम सम्वत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्वत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो । यस सम्वत सूर्यसँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले आरम्भ गरेको विक्रम सम्वतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको कार्यकाल देखि प्रचलनमा आएको हो ।
नेपाली पात्रो विक्रम सम्बतमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। यो पात्रो नेपालको आधिकारिक पात्रो हो। यस पात्रो अनुसार नयाँ वर्ष बैशाख १ गते पर्दछ। हरेक वर्ष प्रकाशित हुने पात्रोले वर्षभरिका तिथि मिति, राष्ट्रिय दिवस, सांस्कृतिक दिवस, चाडपर्व, सार्वजनिक विदा लगायतका मितिहरू तय गर्दछ। नेपालमा पात्रो निर्माणका लागि पञ्चाङ्ग निर्णायक समितिले पञ्चाङ्ग गणना गरी पात्रो प्रकाशित गर्दछ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीम
शुभकामना दिएका छन् ।
प्रमुख शर्माले भनेका छन् ,‘देशलाई सर्वोपरि राखी हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न आजैका दिनदेखि मन, वचन र कर्मले लागिपर्न प्रतिबद्ध रहन सकौं ।’
उनले संविधानले निर्धारित गरेको लक्ष्य र राष्ट्रले तय गरेको गन्तव्यमा पुग्न हाम्रो दृढ निश्चय र कठोर सङ्कल्प चाहिने बताएका छन् । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढिकरणमा थप टेवा पुर्याउँन सक्ने उनको भनाई छ ।
समस्त देशवासीहरुका लागि नयाँ वर्षले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस् भन्ने कामना प्रदेश प्रमुख शर्माको छ ।‘हाम्रो बीचमा रहेको सद्भाव, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बन्न सकोस्,स्थायी शान्ति,दिगो विकास र आर्थिक समुन्नतिको मार्ग प्रसस्त हुन सकोस्’ शर्माले भनेका छन् । भित्तेपात्रो फेर्ने र केही पटाका फोर्ने कर्मकान्डी परम्पराको अन्त्य गरी देश निर्माणको महायज्ञमा समर्पित रहन विक्रम संवत २०८० ले हामी सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना प्रमुख शर्माले सन्देशमा भनेका छन् ।

प्रदेश प्रमुख शर्माले शुुभकामना सन्देश जारी गर्दै भनेका छन् “विक्रम संवत २०७९ मा झुण्डिएको भित्तेपात्रोले अवकाश पाएको छ र विक्रम संवत २०८० को पात्राले नेपाली घरका भित्ताहरूमा आजदेखि पदबहाली गरेको छ, नयाँ पात्राको पदवहालीको यो दिनलाई हामी नववर्ष भन्दछौं भन्दै प्रदेश प्रमुख शर्माले यो नयाँ वर्षमा संमृद्ध जीवनका सपना साकार पार्ने सार्थक प्रयत्न हामी सबैले गर्न सकौं ।”