मकवानपुर । हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समितिमा शनिबार पत्रकार सम्मेलन गर्दै गारक्षेश्वर विकास समितिका अध्यक्ष एवम् संरक्षक अजयराज सुमार्गीले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
हरेक ५ वर्षको अन्तरालमा बैशाख १ गते नयाँ वर्षबाट सुरु हुने महायज्ञ यो वर्ष बृहष्पति अस्थ भएका कारण बैशाख २० गतेबाट सुरु हुने भएको हो । यसअघि २०६० साल २०६५ साल २०७० साल २०७५ सालमा महायज्ञ आयोजना गरिएको थियो । पाँचौं संस्करणको रुपमा २०८० बैशाख १ गतेदेखि गर्ने सम्पूर्ण तयारी भएपनि बैशाख २० मा महायज्ञ सारिएको समितिका अध्यक्ष सुमार्गीले बताए ।
महायज्ञ अनन्त श्रीविभुषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा.सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुने जनाएको छ ।
महायज्ञमा विभिन्न धर्म संस्कृतिका आचार्य गुरुहरु, सामाजिक व्यक्तिहरु एनआरएनसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तिहरु, समाजसेवी, बुद्धिजीवी , प्राध्यापक, शिक्षक, उद्योगपति, व्यवसायी लगायत नेपालका अन्य जिल्लाबाट समेत विशिष्ट व्यक्तिहरुको सामुहिक उपस्थिति रहने सुमार्गीले जानकारी दिए ।
पछिल्लो चरणमा धर्म संस्कृति र परम्परा लोपोन्मुख हुँदै गएको हुँदा त्यसलाई जोगाउन यो महायज्ञले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । यो महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको हुँदा सबैले खुला मनले महायज्ञमा सहभागी हुन आग्रह समेत उनले गरे ।
हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा बैशाख २० देखि २६ गतेसम्म आयोजना हुने महायज्ञ बैशाख २० गते बिहान ७ बजे शङ्ख, घण्ट, खैजडी भजन, डाण्गिया नृत्य, झाँकीसहित अभुतपुर्व अलौकिक शान्तिशोभा कलशयात्रा, १० बजे समुद्घाटन, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्ति संगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।
त्यसैगरी, बैशाख २१ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, होमहोमादी, विश्वस्तुति, ८ बजे मण्डव पुजन तथा पाठ पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, महाआरती, ५ बजेदेखि खैंजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुनेछ ।
बैशाख २२ गते तेश्रो दिन बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रहनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म खैँजडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुने जनाएको छ ।
बैशाख २३ गते बिहान सबैकार्य पुर्ववत्, दिवकार्य पुर्ववत्, अपरान्ह ३ बजे विश्वशान्तिको कामना सहित बाजागाजाका साथ नगरपरिक्रमा बुद्धचोक हेडम्बीचोक, मानसचोक, संगमचोक, कान्तिराजपथ हुँदै शीतल महलचोक, मेनरोड भुटनदेवी चोक हुँदै अखण्ड हरिकिर्तन चोकमा दीप प्रज्वलन साँझको कार्यक्रम हुने बताएको छ ।
त्यसैगरी, बैशाख २४ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, शिववस्तुति, ८ बजे ब्रतवन्ध कार्यक्रम तथा पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती, ५ बजेदेखि खैँजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजनकिर्तन हुने जनाएको छ ।
बैशाख २५ गते बिहान ५ बजे वेदध्वदिन, विष्णुसहस्रनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपाराण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, साँझ ६ बजे राप्तीतटमा सवा ५ बजे दीपप्रज्वलन हुनेछ भने महायज्ञको अन्तिम दिन बैशाख २६ गते बिहान ७ बजे कथावाचन, ११ बजे तिलार्चना, पुर्णाहुति, समापन कार्यक्रम, पुरस्कार वितरण सामुहिक भोजनसहित विदाई कार्यक्रम हुने आयोजक समितिका महासचिव ह्याग्रीव आचार्यले जानकारी दिए ।
यसवर्ष २५ हजार महिलाहरुले एकै प्रकारको साडीमा कलशयात्रा गर्ने महासचिव आचार्यले बताए । पत्रकार सम्मेलनमा समितिका विरिष्ठ सह–संम्योजक उत्तर शर्मा ढकाल, सदस्य अरुण सुमार्गी, प्रचार विभाग संम्योजक माधव न्यौपाने लगायतको उपस्थिती रहिको थियो ।
मकवानपुर । हेटौंडा साइकल रन प्रतियोगितामा पुजन मगर विजयी भएका छन् । शनिबार बिहान भएको खुल्ला प्रतियोगितामा निर्धारित २५ किमिकाे दुरी ३८ मिनेट १९.३७ सेकेन्डमा पार गर्दै मगर विजयी भएका हुन् ।
रनकाे उपाधी विजेतासँगै मगरले ५० हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् । प्रतियाेगितामा सहभागी राजिव ठाकुरले ३७ मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेकाेमा उनी मकवानपुर जिल्लाको स्थायी बासिन्दा नभएकोे पाइएपछि मगरलाई प्रथम घोषणा गरिएको हेटाैडा उपमहानगरपालिकाका खेलकुद शाखाका अधिकृत बसन्तकुमार सिटौलाले बताए ।
यसैगरी ३८ मिनेट १९.७७ सेकेन्डमा २५ किमिकाे दुरी पार गर्दै आशिष थापा मगर द्वितीय भएका छन् । ३९ मिनेट ३८.२३ सेकेन्डमा निर्धारित दुरी पार गरेका सुमन आले मगर तृतीय भएका छन् । द्वितीय र तृतीयले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्दा प्रतियोगितामा सान्त्वना भएका प्रदिप थापा क्षेत्री र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ हात पारेका छन् ।

सिटाैलाका अनुसार ५० जनाको सहभागिता रहेको प्रतियोगिता हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पा, चुच्चेखाेला, हटिया, कमाने हुँदै पुनः हुप्रचौरमा आएर समापन भएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएकाे हाे ।
प्रतियोगिताकाे समापनमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने र १४ का वडाध्यक्ष दीपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । नगरकाे विकासमा टाेल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले बताएका छन् ।
हेटौंडा ४ स्थित पृथ्वीपथ टाेल विकास संस्थाकाे साधारण सभामा वडा अध्यक्ष सिग्देलले राजनीतिक संकिर्णता भन्दा माथि उठेर विकासलाई बुझ्नुपर्ने र यसकाे वास्तविक प्रतिनिधित्व टाेल विकास संस्थाले गर्नसक्ने बताए । सामाजिक अभियानमा जाेड दिनुपर्ने बताउदै टाेल विकास संस्थाकाे परिचालनद्वारा जनतालाई शसक्तिकरण गर्न सकिने र विकासमा जनसहभागीता गराउन मद्दत गर्ने उनले बताए ।
जनताकाे सचेतना तथा शसक्तिकरण विना विकास दिगाे र प्रभावकारी हुन नसक्ने भन्दै उनले टाेल विकास संस्था सशक्त हुनुपर्ने बताए ।
पृथ्वीपथ टाेविस अध्यक्ष चन्द्राकान्त श्रेष्ठकाे अध्यक्षतामा भएकाे साधारणसभामा टाेल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, उपाध्यक्ष शान्ति श्रेष्ठ, ४ नं. वडा ईन्चार्ज उर्मिला रानाकाे उपस्थिति रहेकाे थियो ।
मकवानपुर । मकवानपुर प्रहरी लागूऔषध अफिम जस्तो पदार्थ सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौंडा उपमहागरपालिका–१० बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
अफिम जस्तो पदार्थ सहित भारत मोतिहारी फुलबारीया बस्ने २८ वर्षीय मुकेश प्रसाद पासवान, ३० वर्षीय पिंकु शर्मा र ४५ वर्षीय कपिलदेब सहनीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो।
हेटौंडा १० बसपार्कस्थित रहेको रोशन होटल अगाडी रोकि राखेको बिआर ०६ सिजेट ३५०५ नम्बरको भारतीय गाडी शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ३०० मिलीग्राम लागुऔषध अफिम जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाडीसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रबिधि मैत्री बन्दै गएको छ । कार्यालयले सेवाग्राहीलाई प्रदान गर्ने सेवा छिटो र सहज बनाउन प्रविधिको प्रयोग गर्दै टोकन मेसिन राखेर टोकन नम्बर अनुसार सेवा प्रदान सुरु गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कार्यालयबाट टोकन प्रणालीका आधारमा सेवा प्रवाह गरिने बताउदै यसले सेवाग्राहीलाई सहज हुनुका साथै कर्मचारीलाई कार्यसम्पादनमा सहजता हुने बताए । यसै गरि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबारबाट नागरिक सहायता कक्षाबाट निःशुल्क राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम भर्ने कार्य सुरु गरेको छ ।

प्रशासनले आफ्नो कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैले भरी पेश गर्नुपर्ने राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम अब निःशुल्क भरिदिने व्यवस्था गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । कार्यालयले साधारण निवेदन लेखन सम्बन्धी सेवा पनि प्रदान गरेकोछ । कार्यलयको नि:शुल्क सेवा प्रशासन भवनको कोठा नम्वर २० बाट प्रदान गरिने बताइएको छ ।
यसअघि हेटौंडाभित्र रहेका विभिन्न स्थानमा शुल्क तिरेर मात्र सर्वसाधरणहरुले फारम भर्दै आएका थिए । साथै सेवाग्राहीको सहजताको लागि हुलाक टिकट समेत उपलब्ध गराइने प्रशासनले जनाएको छ ।
