मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रबिधि मैत्री बन्दै गएको छ । कार्यालयले सेवाग्राहीलाई प्रदान गर्ने सेवा छिटो र सहज बनाउन प्रविधिको प्रयोग गर्दै टोकन मेसिन राखेर टोकन नम्बर अनुसार सेवा प्रदान सुरु गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कार्यालयबाट टोकन प्रणालीका आधारमा सेवा प्रवाह गरिने बताउदै यसले सेवाग्राहीलाई सहज हुनुका साथै कर्मचारीलाई कार्यसम्पादनमा सहजता हुने बताए । यसै गरि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबारबाट नागरिक सहायता कक्षाबाट निःशुल्क राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम भर्ने कार्य सुरु गरेको छ ।

प्रशासनले आफ्नो कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैले भरी पेश गर्नुपर्ने राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम अब निःशुल्क भरिदिने व्यवस्था गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । कार्यालयले साधारण निवेदन लेखन सम्बन्धी सेवा पनि प्रदान गरेकोछ । कार्यलयको नि:शुल्क सेवा प्रशासन भवनको कोठा नम्वर २० बाट प्रदान गरिने बताइएको छ ।
यसअघि हेटौंडाभित्र रहेका विभिन्न स्थानमा शुल्क तिरेर मात्र सर्वसाधरणहरुले फारम भर्दै आएका थिए । साथै सेवाग्राहीको सहजताको लागि हुलाक टिकट समेत उपलब्ध गराइने प्रशासनले जनाएको छ ।


