मकवानपुर । “सामाजिक विकासका लागि जातीय विभेद एक चुनाैती” विषयक वक्तृत्वकलामा कृतिका लाैडारी प्रथम भएकी छिन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसकाे अवसरमा भएको वक्तृत्वकलामा कृषि तथा वन विश्वविध्यालयकी लौडारी प्रथम भएकी हुन ।
विभिन्न शैक्षिक संस्थाका ३ जना सहभागी प्रतियाेगितामा हेटाैँडा क्याम्पसकी आकृती घिमिरे द्वितीय, सिद्वार्थ माविकी प्रकृति अर्याल तृतीय भएका छन् । यसैगरी महेन्द्र किरण माविका राेशन लामिछाने सान्त्वना भएका छन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः ५ हजार, ३ हजार, २ हजार प्रमाणपत्र तथा र सान्त्वना १ हजार तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
कार्यक्रमका प्रमुख अथिति ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले मानवीय विभेद आज पनि समाजमा अवशेषकाे रूपमा रहेकाले सामाजिक विकासमा अवराेध र समस्या भएकाे बताए । उनले कागजमा मात्र नभई व्यवहारमा नै विभेद अन्त्य हुनुपर्नेमा जाेड दिए ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसकाे अवसरमा सामाजिक अभियान सञ्जाल, हेटाैँडा ४ काे आयाेजना, स्वतन्त्र विध्यार्थी युनियन, हेटाैँडा क्याम्पसकाे व्यवस्थापन तथा ४ नम्बर वडा कार्यालयकाे सहयाेगमा बक्तृत्वकला प्रतियाेगिता भएकाे हाे । सञ्जालकी अध्यक्ष माया लामाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मनाेज पाेखरेल बेदराज काेइराला र डीवी बर्ताैला निर्णायककाे भूमिकामा रहेका थिए ।
कार्यक्रममा गैससकी सुनिता दर्नाल, केन्द्रीय प्रशिक्षण विभाग सदस्य कमलकुमार विश्वकर्मा, गैसस मकवानपुरका उपाध्यक्ष कुमारी वाईवा, शैक्षिक गुणस्तरीय सुधार समिति, हेटाैँडा ४ का अध्यक्ष श्रीराम दाहाल, वडा कार्यालयका सचिव टीका कंडेल, मकवानपुर क्याम्पसका स्ववियु सभापती छाेईसाङ्ग लामा, स्ववियु हेटाैँडा क्याम्पसका अध्यक्ष अभि मैनाली, सामाजिक अभियान सञ्जालका सचिव जाेराेम घले आधुनिक राष्ट्रिय माविका सहायक प्रअ दीपक अधिकारी, ईष्टु जिल्ला कार्यासमितिका सदस्य अनिल परियारलगायतकाे आथित्यता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा सुशील घिमिरे चयन भएका छन । शनिबार हेटौँडामा भएकोव नवौं जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
यसअघि संघको उपाध्यक्ष रहेका घिमिरेको अध्यक्षतामा गठन भएको जिल्ला समितिमा उपाध्यक्ष उज्वल शर्मा भण्डारी, सचिव अमित मानन्धर र कोषाध्यक्ष राजन शिल्पकार चयन भएका छन । यसैगरी सदस्यहरु शिव श्रेष्ठ, मिनबहादुर घलान, रुपा विडारी र लक्ष्मी पुडासैनी चयन भएका छन् । नवनिर्वाचित कमिटीको कार्यकाल ३ वर्षको रहनेछ ।
कार्यक्रममा बक्सिङ संघका कोषाध्यक्ष राजन शिल्पकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला बक्सिङ अध्यक्ष दीपेश जोशीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।
संघका केन्द्रीय अध्यक्ष राम अवाले, महासचिव सबिन भट्टचार्य, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी र हेटौँडा–१४ का वडाध्यक्ष दीपक खड्का लगायतको कार्यक्रममा उपस्थित रहेको थियो ।
जुनु घिमिरे
जूनको सिरक ओडेर
सुत्ने बानी त परेको थिएँ
तर मक्किएका आमाका चोलीहरूले
मनमा आगो सल्काइ दियो
हो,त्यही आगो निभाउन
आँखा भरी पानी बोकेर
पर्देशीएको हुँ।
नभन्नु मलाई पर्देशी मान्छे
मायालुको ओठमा खुम्चिदै गएको हाँसो
अनी आँखामा बग्दै गरेको पानीले
हृदयमा आगो दन्किएको देखेपछि
रुखले झै ठड्याएर आफूलाई
हरियो किताबमा
मेरो पनि नाम लेखाएको हुँ ।
जसरी रुखका पातहरू
सुकेपछि पत्कर बन्छन्
त्यस्तै पत्कर झै मान्ने रहेछन्
मेरो देशको राहदानीलाई
श्रमको मुल्य तिर्नेहरूले
हो,
म त्यही पत्करमा टेकेर
धरती र आकशको दुरी झै लाग्ने
जीवन र खुसीको दुरी नापिरहेछु
पसिनाको धारो खोलिदिएर परदेशमा
घुड्को प्यास मेटाउन
सानो बोतल थापिरहेछु ।
भन्दिन म ,
मेरो देशले मलाई पर्देश पठायो
अंह हुँदै होइन
मलाई त आफ्नै पेटको भोकले
सुत्न दिएन
आमाका च्यातिएका फरियाले गिज्याउँदै
आमासँगै नजर जुट्न दिएन
प्यारीका आँखाले अभावको गीत गाएको देखेर
कपास जस्तो मनलाई उठ्न दिएन
त्यसैले, सुखको गीत गाउन
दु:खका तारहरू जोड्दै
उज्यालो भविष्यको सारङ्गी रेट्ने प्रयासमा
बिदेशीएको हुँ ।
मेरो देशले मलाई खोज्दैन भनेर कस्ले भन्यो ?
मेरो सरकारले त मलाई खोजी रहेछ
हरेक चुनावमा
पाटीको झण्डा बोकाउन
समृद्ध नेपाल अनी सुखी नेपालीको
नारा घोकाउन
बेला बेला सम्झि रहन्छ
म पुग्न भ्याउँदिन
त्यसैले त ,
सरकारले मलाई पर्देशी भन्छ
पर्देशले मलाई पर्देशीनै मान्छ
त्यसो भए, मेरो स्वदेश कहाँ छ ?
झोलाको राहदानीमा मात्रै ?
या कथम कदाचित
पर्देशमै यो मुठ्ठी श्वासले ठाउँ छोड्यो भने
कफनको बाहिर लेखिने स्टिकरमा ?
भक्तपुर
लघुकथाका साधक नवराज रिजालसँंग लघुकथाकै सेरोफेरोमा रहेर हाम्राे लघुकथा केन्द्रका संरक्षक राजु क्षत्री अपुरोले गरेकाे कुराकानी
- सर्वप्रथम यहाँको परिचय बताइदिनुहोस् न ?
– म, नवराज रिजाल, स्वाभिमान बस्ती, जितपुर सिमारा उपमहानगरपालिका-१६, बारा निवासी हुँ।
- लघुकथा लेखनमा यहाँको यात्रा कहिलेदेखि शुरु भएको हो नि ?
-२०३९ सालमा काठमाडौँबाट प्रकाशित मातृभूमी साप्ताहिकमा छापिएको ‘पागलको चाहना ‘ लघुकथा नै मेरो पहिलो लघुकथा हो भन्ने म स्वयंको बुझाई छ ।
- अहिले पुराना पुस्ताका थुप्रै लघुकथाकारहरू पनि सामाजिक सञ्जालमा सक्रिय भइरहेको अवस्थामा समेत यहाँ त्यति सक्रिय देखिनु हुन्न नि ?
-सामाजिक सञ्जालमा म त्यति सक्रिय छैन ,यो सत्य हो । तर म साहित्यिक कर्मबाट टाढा छैन । आ–आफ्नो रूचिको कुरा हो । म लामो समयदेखि साहित्यिक कर्म नै गरिरहेको छु । अलिकति पनि टाढा छैन । हेर्नोस्,२०५० सालबाट मेरै सम्पादन/ प्रकाशनमा आरम्भ भएको नवप्रज्ञापन साहित्यिक पत्रिका २०८० बैशाखमा आइपुग्दा शतक अङ्क प्रकाशित हुन सफल भएको छ । मेरा पौने दुई दर्जन कृति प्रकाशित भएका छन् । मैले दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरेको छु । दुई कृति माथि स्नातकोत्तर तहका विद्यार्थीले अनुसन्धान सकेका छन् । दुई कृति माथि अनुसन्धान जारी छ । स्नातक तहमा भएका र हुँदै गरेका अनुसन्धान त आधा दर्जन छन् । अनि मेरा आठवटा रचनाहरूले विभिन्न तहका पाठ्यपुस्तकमा स्थान पाएका छन् । अनि सामाजिक सञ्जालमा सक्रिय तपाईले मसँग यति माया र सद्भावका साथ कुराकानी गरिरहनु भएको छ । सामाजिक सञ्जालमा नदेखिए पनि माया गर्ने यहाँहरू जस्ता मित्रहरू पनि हुनुहुँदो रहेछ । म यसैमा खुसी छु ।
- आफू वरिष्ठ बन्नु छ भने कनिष्ठलाई माया गर, प्रशंसा गर भन्ने उक्तिलाई थुप्रै साहित्यकारहरूले पछ्याउनु पनि भएको छ । तर केही साहित्यकारहरूले कनिष्ठहरूले गरेको कार्यहरूलाई नकारात्मक रूपले हेर्ने गरेको समेत् पाइन्छ । साहित्यकारहरूमा यो भावना उब्जनुले के सन्देश जाला ?
– हरेक मानिसका आआफ्ना सोच र चिन्तन हुन्छन् । विचार र विचारधारा हुन्छन् । मूल्य र मान्यता हुन्छन् । कसले कस्तो व्यवहार किन र कसरी गर्यो ? ती कुराको निर्धारणमा माथिका तत्वहरूको अहं भूमिका हुन्छ । मलाई लाग्छ संसारमा सबैभन्दा ठुलो कुरा आफूले आफूलाई चिन्नु, जान्नु र बुझ्नु हो । आफूले आफैँलाई चिनेको खण्डमा वरिष्ठ र कनिष्ठका कुराहरूले त्यति महत्त्व राख्दैनन् । यो भावना राख्नु पनि हुँदैन । को बरिष्ठ, को कनिष्ठ भनिरहने कुरै हैन । यो कामको समय हो, हामीले लेखनमा विश्वास गर्नुपर्छ । बरिष्ठ-कनिष्ठको विभेदमा हैन । लेखनलाई निरन्तरता दिँदै परिमार्जित हुँदै गए हिजोका कनिष्ठ आज वरिष्ठ र आजका कनिष्ठ भोलिका बरिष्ठ हुन् ।
त्यसकारण त्यस्ता कुराहरू नै गर्नुहुँदैन । फेरि लेखन भनेको एउटा तपस्या हो र लेखकहरू तपस्वी हुन् । मेरो विचारमा तपस्यामा जो खरो उत्रन सक्छ त्यो बरिष्ठ र जो उत्रन सक्दैन त्यो कनिष्ठ हो । हेर्नोस्, बरिष्ठ कनिष्ठ छुट्याउने आधार लेखन हो, उमेर होइन । कसले के र किन भन्यो भनेर समय खेरफाल्नु भन्दा लेखनतिर अझ सक्रिय भएर लाग्नु श्रेयस्कर हुन्छ । यसर्थ म आग्रह गर्छु कि लेखौँ, लेख्दै जाऔँ र सबैभन्दा राम्रो लेखौँ, त्यही नै लेख्नेहरूको सबैभन्दा राम्रो उपाय हो । लेख्नेहरूको काम लेख्ने र परिमार्जित हुने हो, दुनियाँको नजर पढेर दायाँबायाँ गर्ने पटक्कै हैन । म अझ जोडका साथ भन्छु वेकारमा चित्त दुखाएर नबसौँ, मिहिनेतका साथ खुरुखुरु लेखौँ र साहित्यलाई समृद्ध बनाउन आफ्नोतर्फबाट सकेको योदान गरौँ ।
- हाम्रा गतिविधिहरूलाई यहाँले कसरी नियाली रहनु भएको छ ?
-तपाईहरू निरन्तर काम गरिरहनु भएको छ । तपाईहरूले गरेको कामलाई कसले नराम्रो भन्न सक्छ र ? नराम्रो भन्ने यदि कोही छन् ती आफैँ नराम्रो हुन् । मैले पनि तपाईहरूको कामलाई अत्यन्तै सकारात्मक रूपमा लिएको छु । तपाई त झन् विदेशमा बस्नु हुन्छ तैपनि काम नेपालकै र नेपाली साहित्यकै गरिरहनु भएको छ । यो हाम्रो परम्परा पनि छ। हेर्नुस् ,नेपाली भाषालाई आजको अवस्थामा ल्याउन विदेशमा बस्ने नेपालीहरूको योगदान अति महत्त्वपूर्ण छ । अहिले पनि मेरो नजरमा सुधपा र उहाँहरूको योगदान झलझली आईरहेको छ । म तपाई र तपाईको टिमका साथीहरूका कामलाई उच्च सम्मान र आदर गर्दै भविष्यमा पनि यस्तो कार्य गरिरहन आग्रह गर्छु ।
- हामीले खेल्न पर्ने भूमिकामा कुनै कसर बाँकी भए यहाँको अमूल्य सुझावको अपेक्षा समेत् राखेका छौँ । केही सुझाव दिन चाहनुहुन्छ कि ?
– यहाँ दिन सकिने सबैभन्दा सजिलो कुरा भनेकै सुझाव हो । सुझाव नदिने को होला ?, कोही होलान्, त्यस्तो मलाई पटक्कै लाग्दैन । हेर्नोस् यहाँ त, भुसुना मार्न नसक्नेहरू पनि हात्ती मार्ने सुझाव दिन कम्मर कसेर बस्छन् । बल्लबल्ल बिहान ८ बजे ओछ्यान छाड्ने व्यक्तिसमेत् अरूहरूलाई सबेरै उठ्नुपर्छ, यो राम्रो बानी हो भन्न बिर्सदैनन् । राजुजी, धन्न मलाई यस्तो प्रश्न गरेर तपाई बच्नु भयो । अरूहरूलाई यस्तो प्रश्न सोध्नु भएको भए फस्नुहुन्थ्यो । मेरो सुझाव हैन आग्रह छ, कुनै पनि काम कहिल्यै पुरा हुँदैनन् । यहाँहरूले थालेको कामलाई निरन्तरता दिइरहनोस् । हिँड्ने काम कहिल्यै नछाड्नोस् यो मेरो सुझाव होइन, अनुरोध हो ।
- यस्तो एउटा मानक लघुकथा जसले तपाइलाई लेख्न प्रेरित गर्यो, याद भए त्यो लघुकथा हाम्रा पाठकका लागि भनिदिनु होस् न ?
–मलाई मन परेका कथाहरू मध्येको अर्धसत्य एउटा लघुकथा हो । यो कथा कथाकार किशोर पहाडीको किंवदन्ती लघुकथा सङ्ग्रहमा सङ्गृहीत छ । र अर्काे पेट लघुकथा हाे ।
- र अन्तमा लघुकथा सम्बन्धी आफूलाई लागेका र छुटेका केहि कुराहरू भए……?
– नेपाली साहित्यमा लघुकथा लेखनको परम्परा त्यति लामो छैन । २००७ सालमा प्रकाशित झिल्को पहिलो लघुकथा कृति मानिन्छ । त्यसपछि पनि यसको गति ढिलै रह्यो । यसका बाबजुद पनि चालीस र पचासको दशकमा लघुकथा लेखकहरूको सङ्ख्या केही मात्रामा बढ्यो ।
साठीको दशक पछि गति झाङ्गीदै गयो र सत्तरीको दशकदेखि ह्वात्तै बढेको अवस्था छ । लेखक सङ्ख्या बढ्नु वा धेरै नजर यता सोझिनु सकारात्मक पक्ष हो । यसले मानिसहरूमा लघुकथाप्रति मोह जाग्दै गएको महशुस हुन्छ । यो पनि हो, धेरैको आँखा यता पर्नुले लघुकथाको महत्त्व दिनप्रतिदिन बढिरहेको प्रतीत हुन्छ ।
अँ, यतातिर धेरैजना आइरहनु भएको छ । लेखिरहनु भएको छ । अहिले लघुकथा लेखनमा बाढी नै आएको छ । मेरो विचारमा यो राम्रो पक्ष हो । म यसलाई सकारात्मक आँखाले हेर्छु । लेखनमा प्रवेश गरेका नवप्रवेशीहरूलाई हार्दिक
स्वागत गर्छु ।
अन्त्यमा, मलाई यो अवसर प्रदान गर्नु भएकोमा धन्यावद सहित सफलताको कामना ।

लघुकथाकार तथा हाम्रो लघुकथा केन्द्रका संरक्षक राजु क्षत्री अपुरोले हाम्रो लघुकथा केन्द्रको फेसबुक पेजमा पोस्ट गर्नु भएको अन्तर्वार्ता हामीले साभर गरी संसोधन सहित प्रकाशित गरेका हौं । सम्पादक
मकवानपुर । बागमती प्रदेशकाे राजधानी मकवानपुरकाे हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनको प्रिमियर भएको छ । शनिबार हेटौंडाको ओम्याक्स सिनेमामा चलचित्रको प्रिमियर गरिएको हो । चलचित्रको पहिलो शो नै हेटौंडामा गरिएको हो । हेटौंडा निवासी नारायण खातीले निर्माण गरेकाे चलचित्रलाई हेटौडामा प्रिमियर शाे गर्दै भदौ १ गतेबाट देशभर प्रदर्शन गरिने निर्माता खातीले बताए ।
सुन र सुन बनाउने पुरानो चलनलाई चलचित्रको पर्दा मार्फत देखाइएको छ । सुन सँग जोडिएर बनाइएको चलचित्र एउटा सामाजिक कथावस्तु रहनुका साथै गाउँघरमा हुने सुनारलाई हेर्ने गाउँका काजीहरुको नजरलाई चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक राजु गिरीले बताए । चलचित्र हेरिसके पछि दर्शकहरुले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।
गाउँले परिवेश र जातित्व सँगै मायाप्रेमलाई चलचित्रमा समावेश रहेकाले हेरेर प्रतिक्रिया दिन चलचित्रका नायक गौरव पहाहीले अनुराेध गरेका छन् । प्रिमियर शोमा चलचित्रका निर्देशक गिरी, निर्माता खाती, कलाकार पहाडी, किरण नेपाली लगायतको उपस्थिती रहेको थियो । चलचित्रमा पहाडी तथा नेपालीको अलावा नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका उपाध्यक्ष श्रीराम अर्जुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मकवानपुर सुनचादीँ व्यसायी संघका अध्यक्ष पवन शाक्य, हेटौंडाका कलाकार सुशान्त कुमार श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपाल चितवनका उपाध्यक्ष सागर ढुङ्गाना लगायतले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सुवर्ण शिभान्स फिल्मस् को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता भने सरोज खाती, सविन खाती, र मनोज रिजाल रहेका छन् । चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा सम्वाद रहेको छ भने अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहेको छ । चलचित्रमा रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्धन्द र गौतमराज खड्काको सम्पादन रहेको छ ।
