मकवानपुर । बागमती प्रदेशकाे राजधानी मकवानपुरकाे हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनको प्रिमियर भएको छ । शनिबार हेटौंडाको ओम्याक्स सिनेमामा चलचित्रको प्रिमियर गरिएको हो । चलचित्रको पहिलो शो नै हेटौंडामा गरिएको हो । हेटौंडा निवासी नारायण खातीले निर्माण गरेकाे चलचित्रलाई हेटौडामा प्रिमियर शाे गर्दै भदौ १ गतेबाट देशभर प्रदर्शन गरिने निर्माता खातीले बताए ।
सुन र सुन बनाउने पुरानो चलनलाई चलचित्रको पर्दा मार्फत देखाइएको छ । सुन सँग जोडिएर बनाइएको चलचित्र एउटा सामाजिक कथावस्तु रहनुका साथै गाउँघरमा हुने सुनारलाई हेर्ने गाउँका काजीहरुको नजरलाई चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक राजु गिरीले बताए । चलचित्र हेरिसके पछि दर्शकहरुले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।
गाउँले परिवेश र जातित्व सँगै मायाप्रेमलाई चलचित्रमा समावेश रहेकाले हेरेर प्रतिक्रिया दिन चलचित्रका नायक गौरव पहाहीले अनुराेध गरेका छन् । प्रिमियर शोमा चलचित्रका निर्देशक गिरी, निर्माता खाती, कलाकार पहाडी, किरण नेपाली लगायतको उपस्थिती रहेको थियो । चलचित्रमा पहाडी तथा नेपालीको अलावा नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका उपाध्यक्ष श्रीराम अर्जुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मकवानपुर सुनचादीँ व्यसायी संघका अध्यक्ष पवन शाक्य, हेटौंडाका कलाकार सुशान्त कुमार श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपाल चितवनका उपाध्यक्ष सागर ढुङ्गाना लगायतले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सुवर्ण शिभान्स फिल्मस् को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता भने सरोज खाती, सविन खाती, र मनोज रिजाल रहेका छन् । चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा सम्वाद रहेको छ भने अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहेको छ । चलचित्रमा रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्धन्द र गौतमराज खड्काको सम्पादन रहेको छ ।

