लघुकथाका साधक नवराज रिजालसँंग लघुकथाकै सेरोफेरोमा रहेर हाम्राे लघुकथा केन्द्रका संरक्षक राजु क्षत्री अपुरोले गरेकाे कुराकानी
- सर्वप्रथम यहाँको परिचय बताइदिनुहोस् न ?
– म, नवराज रिजाल, स्वाभिमान बस्ती, जितपुर सिमारा उपमहानगरपालिका-१६, बारा निवासी हुँ।
- लघुकथा लेखनमा यहाँको यात्रा कहिलेदेखि शुरु भएको हो नि ?
-२०३९ सालमा काठमाडौँबाट प्रकाशित मातृभूमी साप्ताहिकमा छापिएको ‘पागलको चाहना ‘ लघुकथा नै मेरो पहिलो लघुकथा हो भन्ने म स्वयंको बुझाई छ ।
- अहिले पुराना पुस्ताका थुप्रै लघुकथाकारहरू पनि सामाजिक सञ्जालमा सक्रिय भइरहेको अवस्थामा समेत यहाँ त्यति सक्रिय देखिनु हुन्न नि ?
-सामाजिक सञ्जालमा म त्यति सक्रिय छैन ,यो सत्य हो । तर म साहित्यिक कर्मबाट टाढा छैन । आ–आफ्नो रूचिको कुरा हो । म लामो समयदेखि साहित्यिक कर्म नै गरिरहेको छु । अलिकति पनि टाढा छैन । हेर्नोस्,२०५० सालबाट मेरै सम्पादन/ प्रकाशनमा आरम्भ भएको नवप्रज्ञापन साहित्यिक पत्रिका २०८० बैशाखमा आइपुग्दा शतक अङ्क प्रकाशित हुन सफल भएको छ । मेरा पौने दुई दर्जन कृति प्रकाशित भएका छन् । मैले दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरेको छु । दुई कृति माथि स्नातकोत्तर तहका विद्यार्थीले अनुसन्धान सकेका छन् । दुई कृति माथि अनुसन्धान जारी छ । स्नातक तहमा भएका र हुँदै गरेका अनुसन्धान त आधा दर्जन छन् । अनि मेरा आठवटा रचनाहरूले विभिन्न तहका पाठ्यपुस्तकमा स्थान पाएका छन् । अनि सामाजिक सञ्जालमा सक्रिय तपाईले मसँग यति माया र सद्भावका साथ कुराकानी गरिरहनु भएको छ । सामाजिक सञ्जालमा नदेखिए पनि माया गर्ने यहाँहरू जस्ता मित्रहरू पनि हुनुहुँदो रहेछ । म यसैमा खुसी छु ।
- आफू वरिष्ठ बन्नु छ भने कनिष्ठलाई माया गर, प्रशंसा गर भन्ने उक्तिलाई थुप्रै साहित्यकारहरूले पछ्याउनु पनि भएको छ । तर केही साहित्यकारहरूले कनिष्ठहरूले गरेको कार्यहरूलाई नकारात्मक रूपले हेर्ने गरेको समेत् पाइन्छ । साहित्यकारहरूमा यो भावना उब्जनुले के सन्देश जाला ?
– हरेक मानिसका आआफ्ना सोच र चिन्तन हुन्छन् । विचार र विचारधारा हुन्छन् । मूल्य र मान्यता हुन्छन् । कसले कस्तो व्यवहार किन र कसरी गर्यो ? ती कुराको निर्धारणमा माथिका तत्वहरूको अहं भूमिका हुन्छ । मलाई लाग्छ संसारमा सबैभन्दा ठुलो कुरा आफूले आफूलाई चिन्नु, जान्नु र बुझ्नु हो । आफूले आफैँलाई चिनेको खण्डमा वरिष्ठ र कनिष्ठका कुराहरूले त्यति महत्त्व राख्दैनन् । यो भावना राख्नु पनि हुँदैन । को बरिष्ठ, को कनिष्ठ भनिरहने कुरै हैन । यो कामको समय हो, हामीले लेखनमा विश्वास गर्नुपर्छ । बरिष्ठ-कनिष्ठको विभेदमा हैन । लेखनलाई निरन्तरता दिँदै परिमार्जित हुँदै गए हिजोका कनिष्ठ आज वरिष्ठ र आजका कनिष्ठ भोलिका बरिष्ठ हुन् ।
त्यसकारण त्यस्ता कुराहरू नै गर्नुहुँदैन । फेरि लेखन भनेको एउटा तपस्या हो र लेखकहरू तपस्वी हुन् । मेरो विचारमा तपस्यामा जो खरो उत्रन सक्छ त्यो बरिष्ठ र जो उत्रन सक्दैन त्यो कनिष्ठ हो । हेर्नोस्, बरिष्ठ कनिष्ठ छुट्याउने आधार लेखन हो, उमेर होइन । कसले के र किन भन्यो भनेर समय खेरफाल्नु भन्दा लेखनतिर अझ सक्रिय भएर लाग्नु श्रेयस्कर हुन्छ । यसर्थ म आग्रह गर्छु कि लेखौँ, लेख्दै जाऔँ र सबैभन्दा राम्रो लेखौँ, त्यही नै लेख्नेहरूको सबैभन्दा राम्रो उपाय हो । लेख्नेहरूको काम लेख्ने र परिमार्जित हुने हो, दुनियाँको नजर पढेर दायाँबायाँ गर्ने पटक्कै हैन । म अझ जोडका साथ भन्छु वेकारमा चित्त दुखाएर नबसौँ, मिहिनेतका साथ खुरुखुरु लेखौँ र साहित्यलाई समृद्ध बनाउन आफ्नोतर्फबाट सकेको योदान गरौँ ।
- हाम्रा गतिविधिहरूलाई यहाँले कसरी नियाली रहनु भएको छ ?
-तपाईहरू निरन्तर काम गरिरहनु भएको छ । तपाईहरूले गरेको कामलाई कसले नराम्रो भन्न सक्छ र ? नराम्रो भन्ने यदि कोही छन् ती आफैँ नराम्रो हुन् । मैले पनि तपाईहरूको कामलाई अत्यन्तै सकारात्मक रूपमा लिएको छु । तपाई त झन् विदेशमा बस्नु हुन्छ तैपनि काम नेपालकै र नेपाली साहित्यकै गरिरहनु भएको छ । यो हाम्रो परम्परा पनि छ। हेर्नुस् ,नेपाली भाषालाई आजको अवस्थामा ल्याउन विदेशमा बस्ने नेपालीहरूको योगदान अति महत्त्वपूर्ण छ । अहिले पनि मेरो नजरमा सुधपा र उहाँहरूको योगदान झलझली आईरहेको छ । म तपाई र तपाईको टिमका साथीहरूका कामलाई उच्च सम्मान र आदर गर्दै भविष्यमा पनि यस्तो कार्य गरिरहन आग्रह गर्छु ।
- हामीले खेल्न पर्ने भूमिकामा कुनै कसर बाँकी भए यहाँको अमूल्य सुझावको अपेक्षा समेत् राखेका छौँ । केही सुझाव दिन चाहनुहुन्छ कि ?
– यहाँ दिन सकिने सबैभन्दा सजिलो कुरा भनेकै सुझाव हो । सुझाव नदिने को होला ?, कोही होलान्, त्यस्तो मलाई पटक्कै लाग्दैन । हेर्नोस् यहाँ त, भुसुना मार्न नसक्नेहरू पनि हात्ती मार्ने सुझाव दिन कम्मर कसेर बस्छन् । बल्लबल्ल बिहान ८ बजे ओछ्यान छाड्ने व्यक्तिसमेत् अरूहरूलाई सबेरै उठ्नुपर्छ, यो राम्रो बानी हो भन्न बिर्सदैनन् । राजुजी, धन्न मलाई यस्तो प्रश्न गरेर तपाई बच्नु भयो । अरूहरूलाई यस्तो प्रश्न सोध्नु भएको भए फस्नुहुन्थ्यो । मेरो सुझाव हैन आग्रह छ, कुनै पनि काम कहिल्यै पुरा हुँदैनन् । यहाँहरूले थालेको कामलाई निरन्तरता दिइरहनोस् । हिँड्ने काम कहिल्यै नछाड्नोस् यो मेरो सुझाव होइन, अनुरोध हो ।
- यस्तो एउटा मानक लघुकथा जसले तपाइलाई लेख्न प्रेरित गर्यो, याद भए त्यो लघुकथा हाम्रा पाठकका लागि भनिदिनु होस् न ?
–मलाई मन परेका कथाहरू मध्येको अर्धसत्य एउटा लघुकथा हो । यो कथा कथाकार किशोर पहाडीको किंवदन्ती लघुकथा सङ्ग्रहमा सङ्गृहीत छ । र अर्काे पेट लघुकथा हाे ।
- र अन्तमा लघुकथा सम्बन्धी आफूलाई लागेका र छुटेका केहि कुराहरू भए……?
– नेपाली साहित्यमा लघुकथा लेखनको परम्परा त्यति लामो छैन । २००७ सालमा प्रकाशित झिल्को पहिलो लघुकथा कृति मानिन्छ । त्यसपछि पनि यसको गति ढिलै रह्यो । यसका बाबजुद पनि चालीस र पचासको दशकमा लघुकथा लेखकहरूको सङ्ख्या केही मात्रामा बढ्यो ।
साठीको दशक पछि गति झाङ्गीदै गयो र सत्तरीको दशकदेखि ह्वात्तै बढेको अवस्था छ । लेखक सङ्ख्या बढ्नु वा धेरै नजर यता सोझिनु सकारात्मक पक्ष हो । यसले मानिसहरूमा लघुकथाप्रति मोह जाग्दै गएको महशुस हुन्छ । यो पनि हो, धेरैको आँखा यता पर्नुले लघुकथाको महत्त्व दिनप्रतिदिन बढिरहेको प्रतीत हुन्छ ।
अँ, यतातिर धेरैजना आइरहनु भएको छ । लेखिरहनु भएको छ । अहिले लघुकथा लेखनमा बाढी नै आएको छ । मेरो विचारमा यो राम्रो पक्ष हो । म यसलाई सकारात्मक आँखाले हेर्छु । लेखनमा प्रवेश गरेका नवप्रवेशीहरूलाई हार्दिक
स्वागत गर्छु ।
अन्त्यमा, मलाई यो अवसर प्रदान गर्नु भएकोमा धन्यावद सहित सफलताको कामना ।

लघुकथाकार तथा हाम्रो लघुकथा केन्द्रका संरक्षक राजु क्षत्री अपुरोले हाम्रो लघुकथा केन्द्रको फेसबुक पेजमा पोस्ट गर्नु भएको अन्तर्वार्ता हामीले साभर गरी संसोधन सहित प्रकाशित गरेका हौं । सम्पादक
