जुनु घिमिरे
जूनको सिरक ओडेर
सुत्ने बानी त परेको थिएँ
तर मक्किएका आमाका चोलीहरूले
मनमा आगो सल्काइ दियो
हो,त्यही आगो निभाउन
आँखा भरी पानी बोकेर
पर्देशीएको हुँ।
नभन्नु मलाई पर्देशी मान्छे
मायालुको ओठमा खुम्चिदै गएको हाँसो
अनी आँखामा बग्दै गरेको पानीले
हृदयमा आगो दन्किएको देखेपछि
रुखले झै ठड्याएर आफूलाई
हरियो किताबमा
मेरो पनि नाम लेखाएको हुँ ।
जसरी रुखका पातहरू
सुकेपछि पत्कर बन्छन्
त्यस्तै पत्कर झै मान्ने रहेछन्
मेरो देशको राहदानीलाई
श्रमको मुल्य तिर्नेहरूले
हो,
म त्यही पत्करमा टेकेर
धरती र आकशको दुरी झै लाग्ने
जीवन र खुसीको दुरी नापिरहेछु
पसिनाको धारो खोलिदिएर परदेशमा
घुड्को प्यास मेटाउन
सानो बोतल थापिरहेछु ।
भन्दिन म ,
मेरो देशले मलाई पर्देश पठायो
अंह हुँदै होइन
मलाई त आफ्नै पेटको भोकले
सुत्न दिएन
आमाका च्यातिएका फरियाले गिज्याउँदै
आमासँगै नजर जुट्न दिएन
प्यारीका आँखाले अभावको गीत गाएको देखेर
कपास जस्तो मनलाई उठ्न दिएन
त्यसैले, सुखको गीत गाउन
दु:खका तारहरू जोड्दै
उज्यालो भविष्यको सारङ्गी रेट्ने प्रयासमा
बिदेशीएको हुँ ।
मेरो देशले मलाई खोज्दैन भनेर कस्ले भन्यो ?
मेरो सरकारले त मलाई खोजी रहेछ
हरेक चुनावमा
पाटीको झण्डा बोकाउन
समृद्ध नेपाल अनी सुखी नेपालीको
नारा घोकाउन
बेला बेला सम्झि रहन्छ
म पुग्न भ्याउँदिन
त्यसैले त ,
सरकारले मलाई पर्देशी भन्छ
पर्देशले मलाई पर्देशीनै मान्छ
त्यसो भए, मेरो स्वदेश कहाँ छ ?
झोलाको राहदानीमा मात्रै ?
या कथम कदाचित
पर्देशमै यो मुठ्ठी श्वासले ठाउँ छोड्यो भने
कफनको बाहिर लेखिने स्टिकरमा ?
भक्तपुर
