मकवानपुर । मकवानपुर जिल्लाकाे इन्द्रसराेवर गाउँपालिकामा सुमाे दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । भीमफेदी– कुलेखानी–काठमाडौं सडक खण्ड अन्तरगत इन्द्रसरोवर २ बतासेमा जेठ २४ गते बेलुका ७:३० बजेको समयमा सुमाे दुर्घटना भएकाे हाे ।
हेटौडा तर्फबाट काठमाडौं तर्फ जादै गरेको ना.१ ज १७६४ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट ४०/५० मिटर तल खसी दुर्घट्ना हुँदा ९ जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । सुमाे दुर्घटनामा घाइते भएकालाई इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीसहितकाे प्रहरी टेालीले उपचारकाे लागि काठमाडाै पठाइएकाे हाे ।
दुर्घटनामा घाइते हुनेहरुमा सुमो चालक हेटौडा ३ का २३ वर्षिय बुद्ध रुम्बा, हेटाैडा १८ का २४ वर्षिय ईसाख मोक्तान, मकवानपुर कैलाश गाउँपालिका ९ का ३० वर्षिय भिम बहादुर मोक्तान, हेटौडा १८ का १८ वर्षिय सुमन घलान, बारा नितनपुर १० का २२ वर्षिय करण पटेल र २२ वर्षीय रामजित राउत र काठमाडौंका २५ वर्षिय बिमला तमाङ रहेका प्रहरी निरक्षक कार्कीले जानकारी दिइन् ।
अन्य २ जना घाइते प्रहरी पुग्नु अगाडीनै उपचारको लागि काठमाडौं तर्फ पठाएकोले नाम थर नखुलेको प्रहरीकाे भनाइ रहेकाे छ । घाइते सवै जनाकाे अवस्था मध्यम तथा सामान्य रहेकाे छ । सुमो घटना स्थलमा रहेको र चालक प्रहरीको नियन्त्रणमा रहेकोकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ झ्याम्रुस्थित नेपाल टेलिकमको टावरबाट सल्किएको आगोले स्थानीयकाे गोठ समेत जलेर क्षति पुगेको छ । नेपाल टेलिकमको टावर मुनी राखिएको ब्याकपबाट सल्किएको आगोले स्थानीय धर्मराज मोक्तानको गाईगोठमा क्षति पुगेको मकवानपुर प्रहरी जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आगलागीबाट मोक्तानको गोठमा रहेका १० वटा बाख्रा, ५ वटा बोका, अन्नपात, लत्ताकपडा, फर्निचर र नगद १ लाख ५० हजार गरी करीब ८ लाख ६१ हजार बराबरको क्षती भएको छ ।
नेपाल टेलिकमको ब्याकप वाईरिङ मेशिनको मुल्य एकिन नभएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ । हेटौंडा १२ सिक्रेनीमा झुण्डिएर १ जना र हेटौंडा १९ मा रुख काट्ने क्रममा लडेर १ जनाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
झुण्डिएर मृत्यु हुनेमा हेटौंडा १२ कि १३ वर्षीय रोजी भुजेल र लडेर मृत्यु हुनेमा हेटौंडा १९ का अन्दाजी २५/२६ वर्षीय कुमार स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवाक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
जेठ २४ गते बुधबार हेटौंडा १२ सिक्रेनी चारघरे बस्ने रुपक भुजेलकि बहिनी रोजीले घरको झ्यालको भेन्टिलेटरमा सलको पासो लगाई झुण्डिएर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न सकेको छैन भने आबश्यक अनुसन्धान भइ रहेको प्रहरीको भनाई छ ।
यस्तै जेठ २४ गते हेटौंडा १९ बुद्धचोक बस्ने कुमार स्याङ्तानको घर नजिकको जलेश्वर सामुदायिक वनमा सालको रुख काट्ने क्रममा खोल्सामा खस्दा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । अङ्गारेश्वर मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले १ हप्ते राजयोग तथा ध्यान कोर्स संचालन गर्ने भएको छ। राजयोग तथा ध्यान कोर्स जेठ २६ देखि ३२ गतेसम्म हुनेछ।
प्रत्येक दिन साझ ५ बजेदेखि ६ बजेसम्म संचालन हुने कार्यक्रम हेटौंडा १७ हटिया स्थित अङ्गारेश्वर मन्दिरको सभाहलमा हुने मन्दिर ब्यबस्थापन समिती अध्यक्ष कृष्णदेव भण्डारीले जानकारी दिए।
राजयोग कोर्स ब्रह्माकुमारी राजयोग सेवा केन्द्र हेटौंडाकी प्रमुख ब्रह्माकुमारी सुशिला दिदीको प्रमुख आतिथ्यता र अङ्गारेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको अध्यक्षता २६ गते साझ ५ बजे उद्घाटन हुने कार्यतालिका रहेको छ । प्रशिक्षण ब्रह्माकुमारी दिदीहरूबाट हुने भण्डारीले बताए ।
यस्ता कार्यक्रमले मानिसको तन र मन स्वस्थ्य राख्नुका साथै अनुशासित र सत्चरित्रवान बनाउन मद्दत पुग्ने अध्यक्ष भण्डारीले बताए । उनका अनुसार यस किसिमको योग तथा ध्यान कार्यक्रमले अध्यात्मिक ज्ञान समेत दिने उनको भनाइ छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल बुधबारबाट हुदैछ । नगर खेलकुद विकास समितिको आयोजनामा भएको तेस्रो मेयर कप अन्तरगत मंगलबार क्वार्टरफाइनलका दुई खेलहरु भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको हो ।
हेटौँडा–५ पिप्लेक्याम्पा रंगशालामा मंगलबार भएको खेलमा १३ नम्बर र १५ नम्बर वडा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । १३ नम्बरले २ नम्बरलाई ३–१ गोलअन्तरले र १५ ले १९ नम्बरलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
यसअघि प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो क्वाटरफाइनल खेलबाट ११ नम्बर वडा र दोस्रो खेलबाट १४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरे । ११ नम्बर वडाले १ नम्बर वडालाई र १४ नम्बर वडाले ९ नम्बर वडालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन ।
बुधबारको पहिलो सेमिफाइनल खेलमा १४ नम्बरले १५ नम्बर वडाको सामना गर्नेछ । यस्तै बिहीबार हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल १३ नम्बर र ११ नम्बर वडाबीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितीका अधिकृत लक्ष्मण न्यौपानेले बताए । प्रतियोगिताको फाइनल खेल भने शनिबार हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
