मकवानपुर । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मानवीय सेवा मानव जीवनको सर्वोच्च काम भएको बताएका छन् । मकवानपुरको हेटौंडामा आज मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन गर्दै प्रम प्रचण्डले यस्तो बताएका हुन् ।
“मानवताको निम्ति पीडितहरूको निम्ति सेवा गर्नुभन्दा ठूलो धर्म केही पनि छैन” उनले भने “हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो प्रचलन पनि मन्दिरमा जाने भेटी चढाउने चलन छ, दानभन्दा ठूलो धर्म अरु केही छैन ।” राज्यले मानव सेवा आश्रमले गरेको कामको उच्चमुल्याङ्कन गर्ने उनले बताए । अर्थमन्त्री र अर्थ सचिवलाई पनि आश्रमबारे जानकारी गराउनुपर्ने उनले बताए ।
सहयोगापेक्षी सडक मानव मुक्त प्रदेशको अभियानमा प्रदेश सरकार नै लागेको बेला यो आश्रमको काम उच्च रहेको उनलेे बताए । सहयोगापेक्षि मानवहरुलाई उद्धार गर्नको निम्ति आश्रमलाई गाडीको आवश्यकता महसुस गरेको बताउँदै उनले भने “मैले यसबारे सहयोग गर्ने बचन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नै घोषणा गरेको थिएं, म सहयोग गर्न तत्पर छु । ” राष्ट्रिय सभागृहमा भनिएको कुराको कार्यान्वयन प्राविधिक कारणले ढिलो भएपनि अब रफ्तार लिने आश्वासन उनले दिए ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलन आगामी पुस ३ गते हुने भएको छ । कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले शुक्रबार पत्रकार भेटघाट गरी जिल्ला सम्मेलनकाे जानकारी दिएको छ ।
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढावा हुन नदिन काउन्सिलले सार्थक पहल गरिरहेको बताए ।
कसैको गलत प्रवृत्तिलाई उजागर गर्नुपर्नेमा सञ्चार माध्यमले नै ढाकछोप गरेर भ्रम पैदा गर्नु चिन्ताको विषय भएको भन्दै उनले सञ्चार माध्यमले सम्प्रेषण गरेका विषयमाथि फरक अनुसन्धान र खोज गर्ने अवस्था आएको उल्लेख गरे ।’कुनै नयाँ र खोजमूलक सामग्री कम तर केही बेथितिका कुरा आउला भनेर ढाकछोप गर्नका लागि पनि अनलाइन खुलेका देखियो’ उनले भने, ‘त्यस्ता प्रवृत्ति रोक्नका लागि काउन्सिलले विभिन्न कदम चालिरहेको छ ।’
बिहिबार काउन्सिलमा आयोजित पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले नयाँ दर्ता भएका अनलाइन पत्रिकाले व्यावसायिक पत्रकारिता गर्ने विश्वास व्यक्त गरे । काउन्सिलले अरू मिडियासँगै अहिले युट्युबको सामग्री पनि अध्ययन गरिरहेको उनको भनाइ थियो ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकार कुनै एउटा जाति, धर्म, पार्टीप्रति नभएर सिङ्गो समाजप्रति नै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
काउन्सिलका सदस्य दिपक पाण्डेले सम्पादक नै व्यवस्थापक र व्यवस्थापक सम्पादक हुँदा समस्या हुने भन्दै सूचना खोज्ने पत्रकारले नै विज्ञापन पनि खोज्न नहुने सुझाव दिए । कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल तथा ४२ सञ्चार माध्यमका प्रकाशक र सम्पादकको सहभागिता थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे मनहरी स्थित पशुपतिनाथ माविमा गरिएकाे आँखा जाँचबाट ११ प्रतिशत अभिभावकहरुमा माेतियाबिन्दु भेटिएकाे छ ।
मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा बिहीबार भएको आँखा परीक्षण शिविरमा १९८ जनाले परीक्षण गराउँदा ११ प्रतिशत अर्थात २२ जानमा माेतियाबिन्दु भेटिएकाे हाे । माेतियाबिन्दु भएकाहरु ५० वर्ष उमेर नाघेकाहरु बढी भएकाे विद्यालयका प्रध्यानाध्याक भानुभक्त आचार्यले बताए ।
शिविरमा बनकरिया, तामाङ, चेपाङलगायतका समुदायका आँखाका रोगीले आँखा परीक्षण गराएका थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीको टोलीद्वारा आँखा परीक्षण गरेको हो । रोटरी क्लब अफ मकवानपुर, रोट्रयाक्ट क्लब अफ हेटौंडाको समन्वयमा भएको आँखा परीक्षण शिविरमा २२ जना मोतियाबिन्दुको रोगी फेला परेका विद्यालयका प्रध्यानाध्याक आचार्यले बताए ।
सामुदायिक आँखा अस्पताल हेटौंडामा नि:शुल्क शल्यक्रिया गर्ने तयारी भएको रोटरी क्लबका कार्यक्रम संयोजक उमाप्रसाद रौनियारले बताए । मोतियाबिन्दुका कारण आँखा देख्न नसक्ने भएका ग्रामीण क्षेत्रका बिपन्न बर्गका नागरिकलाई मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरिदिने रौनियारले बताए । शिविरमा विद्यालयमा अध्ययनरत बालबालिकाले पनि आँखा परीक्षण गराएका थिए ।
रोटरीले क्लब मकवानपुरले जिल्लाका बिभिन्न ग्रामीण क्षेत्रमा नि:शुल्क आँखा परीक्षण शिविर संचालन गर्दा मोतियाबिन्दुका रोगीको नि:शुल्क शल्यक्रिया गरेर सहयोग गरिरहेको रोटरी क्लवका निर्वाचित अध्यक्ष प्रकाश ढकालले बताए ।
पशुपतिनाथ माविमा सञ्चालित आँखा परीक्षण शिविरमा मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापा, मनहरी गाउँ कार्यपालिका सदस्य मीरा खत्री, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधब गौतम, रोटरी क्लब र रोट्रयाक्ट क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
मनहरीमा अध्यक्ष कप फुटबल प्रतियोगिता
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे मनहरीमा गाउँपालिकास्तरीय फुटबल प्रतियाेगिता हुने भएकाे छ । मनहरीमा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० को हुने भएकाे हाे ।
खेलकुद विकास समिति मनहरीको आयोजना संचालन हुने प्रतियाेगिता आगामी मंसिर ३० गतेबाट सुरु हुने छ ।शनिबार प्रतियाेगिताकाे तयारी तथा व्यवस्थापनकाे पत्रकार भेटघाट गरी जानकारी गराइएकाे हाे । प्रतियोगिताको खेल तालिका सार्वजनिक, मैदान मर्मत, आन्तरिक व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।
प्रतियोगितामा गाउँपालिकाका नौवटा वडाको सहभागिता रहनेछ । नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समिति संयोजक विरु लामाले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डलाई जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्ने समिति सदस्य कविन दर्लामीले बताए । प्रतियोगिताको उद्घाटनमा मनहरी गाउँपालिकाबाट जुनियर राष्ट्रिय टोलीमा समावेश २ जना फुटबलरलाई सम्मानित गरिने बताइएकाे छ ।
प्रतियोगितामा करिब आठलाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । प्रतियाेगिता संचालनकाे लागि गाउँपालिकाकाे ७ लाख रुपैयाँ सहयाेग रहने अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । गाउँपालिकाले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ वर्षेनी प्रतियोगिता सञ्चालनमा सहयाेग गर्दै आएकाे उनले बताए । पालिकाले विभिन्न खेलहरुमा योजनाबद्ध लगानी गर्दै आएकाेमा त्यसबाट नतीजा निस्कन थालेको उनकाे भनाइ रहेकाे छ ।