मकवानपुर । मकवानपुरकाे मनहरीमा गाउँपालिकास्तरीय फुटबल प्रतियाेगिता हुने भएकाे छ । मनहरीमा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० को हुने भएकाे हाे ।
खेलकुद विकास समिति मनहरीको आयोजना संचालन हुने प्रतियाेगिता आगामी मंसिर ३० गतेबाट सुरु हुने छ ।शनिबार प्रतियाेगिताकाे तयारी तथा व्यवस्थापनकाे पत्रकार भेटघाट गरी जानकारी गराइएकाे हाे । प्रतियोगिताको खेल तालिका सार्वजनिक, मैदान मर्मत, आन्तरिक व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।
प्रतियोगितामा गाउँपालिकाका नौवटा वडाको सहभागिता रहनेछ । नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समिति संयोजक विरु लामाले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डलाई जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्ने समिति सदस्य कविन दर्लामीले बताए । प्रतियोगिताको उद्घाटनमा मनहरी गाउँपालिकाबाट जुनियर राष्ट्रिय टोलीमा समावेश २ जना फुटबलरलाई सम्मानित गरिने बताइएकाे छ ।
प्रतियोगितामा करिब आठलाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । प्रतियाेगिता संचालनकाे लागि गाउँपालिकाकाे ७ लाख रुपैयाँ सहयाेग रहने अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । गाउँपालिकाले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ वर्षेनी प्रतियोगिता सञ्चालनमा सहयाेग गर्दै आएकाे उनले बताए । पालिकाले विभिन्न खेलहरुमा योजनाबद्ध लगानी गर्दै आएकाेमा त्यसबाट नतीजा निस्कन थालेको उनकाे भनाइ रहेकाे छ ।

