मकवानपुर । मकवानपुर प्रहरीले १ थान सेमिअटोमेटिक पेस्तोल र २० थान गोली सहित पक्राउ परेका ३ जनालाई सार्वजनिक गरेको छ ।
मकवानपुर प्रहरीले शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित एक घरको कोठाबाट १ थान सेमी अटो मेटिक पेस्तोल सोमा लाग्ने गोली २० राउण्ड तथा अन्य सामान सहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउपछि ३ नै जनालाई शनिबार जिल्ला प्रहरी कार्यलय परिसरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई पेस्तोल गोली र घटनामा प्रयोग भएको अन्य सामानसहित शुक्रबार पक्राउ गरिएकोमा शनिबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरु साथमा रहेको पेस्तोल (NO.0010.11.22 भएको ROUND 7 लेखेको), उक्त पेस्तोलमा लाग्ने गोली (KF 7.65 mm को) १९ राउण्ड, 9 mm को गोली (LOLO लेखेको) १ राउण्ड , हतियार सफा गर्ने रड बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४ सय मिलिग्राम,लागु औषध तौल गर्ने २ थान डिजिटल तराजु, घटनामा प्रयोग भएको ना२५प ३३०५ नम्बरको सिवि युनिकर्न मोटरसाइकल, ना६३प ९६७८ नम्बरको RR310 CC को मोटरसाइकल, ५ थान मोबाईल सेट र नगद ५० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
गत मंसिर १८ गते सोमबार हेटौंडा–९ धर्मपथस्थित सुर्य प्रसाद पौडेलको घरमा लगातार धेरै पटक गोली पड्केको जस्ताे आवाज आएकाे तथा उनको घरको वरीपरी गोलीको थप्रै खोका फेला परेपछि मकवानपुर प्रहरीले अनुसन्धान थालेको थियाे ।
‘घटनाको जानकारी पाए लगत्तै हामीले तत्काल अनुसन्धान सुरु गरौं । अनुसन्धानकाे क्रममा उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लाग्दाको जस्तो दाग देख्यौ, त्यसैगरी प्रगति स्कुल अगाडीको सडकमा १ राउण्ड गोली समेत फेला परेकाे थियाे । घटनामा संलग्न ३ जनालाई शुक्रबार पक्राउ गरी,आज सार्वजनिक गरिएको हो’ मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजालले भने ।

