आज फागुन ७ गते ऐतिहासिक गौरवको दिन हो । एक सय चार वर्षे जहानियाँ राणा शासनको अन्त्यपछि नेपाली जनताले नागरिक स्वतन्त्रता र मौलिक अधिकार प्राप्त गरेको आज ७५ वर्ष पुगेको छ। नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको दिन फागुन ७ गते नेपाली जनताको त्याग, बलिदान र संघर्षको प्रतिक प्रजातन्त्र दिवस ।
प्रजातन्त्र प्राप्तिपछिको यो सात दशक लामो यात्रामा नेपाली राजनीतिक उतारचढावहरू जारी छ। २००७ सालको क्रान्तिले बिजारोपण गरेको प्रजातन्त्रकै जगमा उभिएर हामी आज संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौं। संविधान सभाबाट निर्मित संविधान, समावेशी राज्य प्रणाली र जनतामा निहित सार्वभौमसत्ता प्रजातन्त्रकै महत्वपूर्ण उपलब्धिहरू हुन्। यद्यपि,व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको जनगुनासो व्याप्त छ। प्रजातन्त्रको मुख्यमर्म नै सुशासन र जनताको जीवनस्तरमा सुधार हो। जबसम्म सामान्य नागरिकले राज्यको उपस्थिति महसुस गर्न पाउँदैनन् र न्याय एवम् अवसरमा समान पहुँच हुँदैन, तबसम्म प्रजातन्त्रको वास्तविक फल प्राप्त भएको मान्न सकिँदैन। अहिलेको मुख्य चुनौती प्राप्त उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्नु हो।यसको लागि राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र पनि मजबुत हुनु आवश्यक छ।कानुनी शासन र भ्रष्टाचारमुक्त समाज नागरिकको अपेक्षा हो, आवश्यकता हो।
प्रजातन्त्र भनेको चुनावमा भोट हाल्नु मात्र होइन,नागरिक सचेत हुनु र सत्तालाई जवाफदेही बनाउनु पनि हो। प्रजातन्त्र दिवस मनाइरहँदा ती महान सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली तब मात्र हुनेछ, जब हामी देशको हितलाई सर्वोपरि ठानेर अघि बढ्नेछौं। व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर आवश्यकता अनुसार खबरदारी गर्दै राष्ट्र निर्माणमा योगदान गरौं, हातेमालो गरौ ।
मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ । उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
विजय गौतम (नेपाल कम्युनिष्ट पार्टी) नेकपा
मकवानपुर-१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट विजय गौतमले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । काभ्रेमा जन्मिएका मकवानपुरको बकैया गाउँपालिका स्थायी घर भएका ४० वर्षीय गौतम विद्यार्थी राजनीतिबाट मुलधारकाे राजनीतिमा आएका हुन् ।
- विद्यार्थी राजनीतिमा आफूलाई प्रमाणित गर्दै छोटो समयमै पार्टी जिम्मेवारी पाउँदै मूलधारको राजनीतिमा स्थापित भएका हुन् उनी । उनको राजनीतिक यात्रा आन्दोलनको पृष्ठभूमिबाट अघि बढ्दै तत्कालीन नेकपा माओवादी पार्टीको केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्जको भूमिकामा पुगेका उनी जिल्लामा पार्टी संगठन सुदृढीकरण र राजनीतिक व्यवस्थापनमा सक्रिय रहेका छन् ।
- युवा उमेरमै केन्द्रीय जिम्मेवारी पाएका गौतम पार्टी संगठन, कार्यकर्ता समन्वय र स्थानीय मुद्दामा सक्रिय भूमिकाका कारण मकवानपुरमा परिचित छन् । विशेषत: सुशासनको पक्षमा उनले आवाज उठाउँदै आएका छन् ।
- गौतमले नीति निर्माण र प्रशासनिक कामको प्रत्यक्ष अनुभव पनि हासिल गरेका छन् । नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा उनको सचिवालयमा रहेर काम गरेको अनुभवले उनलाई राज्य सञ्चालन, सुरक्षा संयन्त्र र प्रशासनिक प्रक्रियाबारे व्यावहारिक ज्ञान दिएको छ । यही अनुभवलाई संसदीय अभ्यास र नीति निर्माणमा उपयोग गर्ने बताउँदै आएका छन् ।
- त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका गौतम युवामैत्री राजनीति र परिवर्तनमुखी एजेन्डा उठाएका छन् । विकास र सुशासनलाई आफ्नो मूल राजनीतिक एजेन्डा बनाएका छन् ।
“म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ । तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन’ गौतम भन्छन् ‘जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । तपाईंहरूबाट टाढाको होइन फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु ।’
‘हाम्रो पुस्ता त जसोतसो गुज्रियो, तर हाम्रो अर्को पुस्ता पासपोर्ट च्यापेर विदेश जान बाध्य नहोस् भन्ने मेरो लडाइँ हो’ उनले भने। व्यवस्था बद्लियो, अब हाम्रो आँगन, हाम्रो बस्ती, हाम्रो जीवन बदलिनुपर्ने उनले बताए ।
मकवानपुर क्षेत्र नम्बर १ मा गौतमसहित स्वतन्त्र १० तथा दलका १३ जना निर्वाचनमा उम्मेदवार छन् ।
मकवानपुर । नेकपा एमाले मकवानपुरकाे निर्वाचन परिचालन सचिवालय बैठकले जिल्लाको दुवै निर्वाचन क्षेत्रमा पार्टीको जीत सुनिश्चित रहेको निष्कर्ष निकालेको छ ।
विगत निर्वाचनमा पार्टीको उम्मेदवारले प्राप्त गरेको मतलाई सुरक्षित गर्न र फरक चुनौतीलाई सामना गर्न सबै नेता र कार्यकर्ता चनाखो हुनपर्ने र प्रचार कार्यलाई थप प्रभावकारी बनाईनु पर्ने निर्णय समेत बैठकले गरेकाे छ । उम्मेदवारहरू कार्यकर्ता र मतदाता समक्ष पुग्दा अत्यन्तै उत्साहप्रद रहेको र यसअघि सञ्चालित उम्मेदवार अगुवा कार्यकर्ता भेला जिल्लाकाे १ सय २ वटै वडामा गरिएको निर्वाचन प्रचार प्रसार संयोजक नवीन सिग्देलले जानकारी दिए ।
निर्वाचन सम्पर्क कार्यलय वडा तहसम्म खोलिएकाे, पार्टी र जनसंगठनमा निर्वाचन परिचालन कमिटीहरू निर्माण भएको निर्वाचन परिचालन कमिटी सचिव हिदम लामाले बताए । बैठकमा निर्वाचन परिचालन मतदातासँगको जनसम्वाद, प्रचार प्रसार, स्वयम् सेवक परिचालन, आर्थिक व्यवस्थापन र घोषणा पत्र निर्माणबारे छलफल भएको सिग्देलले बताए ।
निर्वाचन परिचालन कमिटी, अनुगमन समिति संयोजक डोरमणि पौडेलले पार्टीप्रति विपक्षीले फैलाएको सबै भ्रमलाई मतदाताको बीच चिर्दै राष्ट्रिय रूपमा लोकतन्त्र स्थापना गर्न खेलेको योगदान, संविधान जारी गर्न र मुलुकमा शान्ति स्थापना, मुलुकमा विकास र समृद्विको लागि खेलेको भूमिकाबारे जनतामा प्रभावकारी रूपमा लैजान सबै नेता र कार्यकर्ता एकजुट भएर लाग्न निर्देशन दिएका थिए ।
बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नं. १ निर्वाचन परिचालन संयोजक एकालाल श्रेष्ठ, क्षेत्र नं. क्षेत्र निर्वाचन परिचालन सहसंयोजक राजाराम स्याङ्तान, केन्द्रीय लेखा आयोगका सदस्य तथा निर्वाचन प्रचार प्रसार संयोजक सिग्देल, प्रतिबद्धता पत्र तयारी समिति संयोजक अनन्त पौडेल, आर्थिक व्यवस्थापन समिति संयोजक गोपाल श्रेष्ठलगायतले बैठकमा समिक्षात्मक रिपोर्टिङ्ग गरेकाे बताइएकाे छ ।
मकवानपुर । कुमार नेगी ‘पालुङ्गे चरो’ श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२ बाट सम्मानित भएका छन् । गजल मञ्च मकवानपुरले शनिबार भएकाे २३३ औं गजल यात्रामा नेगीलाई ५ हजार रुपैयाँ राशिकाे उक्त सम्मान प्रदान गरिएकाे हाे ।
साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला सिलवालले माता–पिता तथा छोरीको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । जिल्लाको गजल इतिहासमा पहिलो गजल कृति २०५८ सालमा ‘श्रीजनाका हातहरू’ गजल संग्रह प्रकाशन गरी गजल विधाको विकास, श्रीवृद्धि र प्रवद्र्धनमा पुर्याएको योगदानको कदरस्वरूप नेगीलाई सम्मानित गरिएकाे गजल मञ्च मकवानपुर अध्यक्ष संजित श्रेष्ठले जानकारी दिए ।
उक्त सम्मानबाट यसअघि गजलकार अनिश न्यौपाने ‘भावना’ तथा गजल मञ्च मकवानपुरका संस्थापक एवं पूर्व अध्यक्ष दुर्गा लामिछाने ‘नमूना’ सम्मानित भएका छन्।
मनमाया स्मृति गजल प्रतियोगितामा इन्दिरा प्रथम
गजल मञ्च मकवानपुरको आयोजनामा भएकाे मनमाया स्मृति गजल प्रतियोगितामा इन्दिरा विश्वकर्मा प्रथम भएकी छिन् । हेटौंडा १८, फुर्केचौरस्थित गोरक्षनाथ माविमा कक्षा १० मा अध्ययनरत उनले प्रमाणपत्रसहित ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।
२०७२ सालदेखि गजल मञ्चले निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताको लागि गजल मञ्चका पूर्वअध्यक्ष दीपक गौतमले आफ्ना हजुरआमाको स्मृतिमा पुरस्कारको व्यवस्थापन गरेका हुन् । प्रतियोगिताका लागि प्राप्त १८ वटा गजलमध्ये पहिलो चरणमा उत्कृष्ट १० वटा छनोट गरिएको थियो । उत्कृष्ट १० जना गजलकारलाई प्रमाणपत्र प्रदान गरिएको थियाे।
उत्कृष्ट १० वटा गजल शनिबार अन्तिम चरणको प्रतियोगितामा वाचन गरिएकाे थियाे । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा भएको उक्त गजल प्रतियोगिता भएकाे हाे । प्रतियोगितामा मकवानपुर जिल्लाका विद्यालयहरुमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
मञ्चकाे नियमित गजल यात्रा अन्तर्गत मुस्कान तिमल्सिना, गौरी कडेंल, देवराज तिवारी र राम कार्की लगायतले गजल वाचन गरेका थिए। मञ्चका अध्यक्ष सञ्जीत श्रेष्ठको सभाध्यक्षता भएकाे कार्यक्रममा डा. निमेष निखिलको प्रमुख आतिथ्यता तथा तुलसी घिमिरे विशेष अतिथि रहेकाे थिए ।
- रमादेवी अधिकारी
सबै महिलाहरूले भोग्ने साझा विषय ।
कसैले वास्ता गर्दैन समाधानको उपाय ।
चिटचिट पसिना, तनाव, रिस उठ्छ ।
भावना बुझ्ने भए केही सहज हुन्छ ।
दु:ख पिएर बसे कहेनन् आमा,दिदीहरू ।
सम्बन्ध जोगाउन धेरै सहे कठिनाईहरू ।
श्रीमान् सोच्छन् कमि भयो मायामा ।
छोराछोरी भन्छन् गनगन गर्छिन् आमा।
बढ्दो उमेरले बच्चामा हर्मोन गडबढी ।
आमालाई पनि समस्या हुन्छ झन् बढी ।
समस्या नबुझ्दा आमाहरू परे एकल ।
भएका छन् कति परिवार अलमल ।
आजसम्म पनि धेरैले बुझेका छैनन् हेर ।
त्यसैले त यसमा परेन कसैको नजर ।
महिनावारी सुक्ने सक्ने बेला हुन्छ सबैमा ।
यसमा व्यापक छलफल गरौँ घरघरमा ।