मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ११ सिमलटारमा खेल मैदान निर्माण भएकाे छ । सिमलटारमा निर्माण भएको खेलमैदानको बुधबार उद्घाटन गरिएकाे छ ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले नब निर्मित खेल मैदानको उद्घाटन गरेका हुन् । १० नम्बर वडा र ११ नम्बर वडाकाे १०/१० लाख गरी २० लाख रुपियाँको लागतमा खेल मैदान निर्माण गरिएको हो ।
सिमलटारमा खेलमैदानको काम सम्पन्न पनि बस्ति बाक्लो भएका कारण बाल उद्यानको काम हुन नसकेको मेयर लामाले बताइन् । बाल उद्यानकाे कामलाई छिट्टै अघि बढाइने उनले जानकारी दिइन् । । उपप्रमुख बानियाँले खेल मैदानको थप व्यवस्थापनका लागि उपमहानगरले काम गर्ने बताए । उउनले खेलकुदको विकासका लागि उपमहानगर लागि रहेको बताए ।
उद्घाटन कार्यक्रममा खेलमैदान निर्माणमा भूमिका निर्वाह गर्ने र स्थानीय महिला बाजा समुहलाई सम्मान गरिएको थियो । सिमलटारक्षेत्रमा करिब १७ सय घरघुरी बसोबास गर्छन् ।
मकवानपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय महाधिवेशन प्रतिनिधि राजेन्द्र सिम्खडाले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट चयन गरिनु पर्ने बताएका छन् । पार्टीकाे आठाैँ स्थापना दिवसकाे अवसरमा जिल्ला कमिटिले हेटौडामा बुधबार गरेकाे पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा सिम्खडाले उक्त कुरा बताएका हुन् ।
उनले नयाँ विचार, नयाँ दृष्टिकोणकाे मुद्दा स्थापित गर्न याे धारमा लागेकाे बताउँदै जबसम्म राजनीतिमा खाने दाँत र देखाउने दाँतमा फरक हुन्छ लाेकतान्त्रिक धारबाट अघि बढ्न नसकिने भनाई व्यक्त गरे । पार्टी जिल्ला संयाेजक तेजराज उप्रेती रमेशले जिल्लामा ५१ सदस्यीय महाधिवेशन आयाेजक कमिटि गठन गरिएकाे जानकारी दिए ।
उप्रेतीकाे संयाेजकत्वमा समिति गठन गरिएकाे हाे । पार्टीले आगामी माघ महिना भित्र केन्द्रीय महाधिवेशन गर्ने भएकाे छ । जिल्ला अधिवेशन आगामी मंसिर महिना भित्र गरिसक्ने तयारी गरेकाे उप्रतीले जानकारी दिए । पार्टी जिल्ला ईन्चार्ज ईजहार आलमकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे ।
यसैबीच नेसपा (नयाँ शक्ति) ले आठौं स्थापना दिवसको अवसरमा बुधबार बिहान रक्तदान कार्यक्रम गरेकाे छ । पार्टी मकवानपुर जिल्ला कमिटीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । बुधबार उनले उद्योग कार्यलयमा कार्यभार सम्हालेका हुन् ।
संघीय मन्त्रिपरिषदले केही दिन अघि भण्डारीलाई उद्योगको अध्यक्षमा नियुक्ति गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले उद्योगमा विभिन्न समस्या भएपनि समाधान गर्न सकिने बताए । ‘विगत तीन/चार बर्षमा भएकाे कमिकमजाेरी पहिल्याउने छौ’ भण्डारीले भने ‘ समाधानको अल्पकालिन र दिर्घकालिन बाटो तय गरिने छ ।’ कामकाे सिलसिलामा आउने कमेन्टहरु सकारात्मक रुपमा आए सहज र उपयुक्त वातावरण सिर्जना गरि उत्पादनलाई बजारमा व्यवस्थापन गरिने उनले बताए ।
महाप्रवन्धक वसन्त कुमार पाण्डेले उद्योगको अवस्था राम्राे नभएको बताउदै आन्तरिक स्राेतबाट उद्योग संचालन हुने अवस्था नरहेकाे भनाई व्यक्त गरे । उनले सरकारकाे उचित निर्णय र सहयाेग आवश्यक रहेको बताए । ‘उद्योगबाट अवकाश भएका कर्मचारीकाे उपादान दिन सकिएको छैन’ उनले भने ‘अर्थ मन्त्रालयसम्म पहल गरिएकाेमा कम्तिमा दुई बर्षका लागि समस्या अस्थायी रुपमा समाधान हुन सक्ने छ ।’ उद्योगकाे समस्या टुङ्गिने वातावरण बन्ने तर नटुङ्गिने गरि क्रियाकलाप भैरहेकाेले उद्योग हालको अवस्थामा रहेको उनले बताए ।
नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पाेखरेलले ५ हजार भन्दा बढिलाई राेजगारी दिने उधाेग बन्द हुन नदिन बताए । ‘मजदुर कर्मचारीकाे सहयाेग विना उद्योगमा केही गर्न सकिने अवस्था छैन’ उनले भने । ५२/५३ वटा चुन ढुङ्गा तथा सिमेन्ट उद्याेगसँग प्रतिष्पर्धा गर्नु अवस्था रहेकाे बताउँदै उनले यही हालतमा सिमेन्ट उद्याेगले गति लिन नसक्ने भनाई राखेका थिए । प्रतिष्पर्धामा उत्रन सबै मिलेर काम गर्नु पर्छ उनले भने ।
संविधान सभा सदस्य अनन्त पौडेलले सबै मिलेर सार्थक प्रयास गरे सफल हुन सकिकने धारणा राखे । कुनै समय मुनाफामा चलेकाे सिमेन्ट उद्योग नेपालकै खानीले बाच्नुपर्छ उनले भने । पदभार ग्रहण कार्यक्रममा उद्योगका मजदुर, कर्मचारीसँगै बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईलगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । श्याम प्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित हुने भएका छन् ।साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष उक्त सम्मान प्रदान गर्दै आएकाे छ ।
संगमले मंगलबार पत्रकार भेटघाटमा हेटौडामा कार्यक्रम गरी उक्त सम्मानकाे जानकारी दिएको हो । पत्रकार भेटघाटमा संगम अध्यक्ष डीबी बर्तौलाले असार ७ गते यस वर्षकाे श्याम प्रसाद शर्मा स्मृति सम्मान साहित्यकार एवम् पूर्व मन्त्री ज्ञवालीलाई सम्मानित गर्ने बताए ।
प्रगतिशील साहित्य लेखनमा स्थापित शर्माकाे नाममा स्थापित सम्मानकाे राशी २५ हजार रुपैया रहेकाे छ । यस अघि १५ हजार रहेकाे उक्त सम्मानकाे राशी यस वर्षबाट बढाएर २५ हजार रुपैया बनाइएकाे बताइएकाे छ ।
कार्यक्रममा ज्ञवालीका एकल कविता वाचन हुनेछ भने उनले लेखेका गीतकाे गायन समेत हुनेछ । साहित्यकार निमेष निखिल र सुवास खनालले ज्ञवालीका कविताहरू वाचन गर्ने तथा आशाकाजी श्रेष्ठ र अजर फुयाँलले ज्ञवालीका गीतलाई गाउने छन् । यस्तै श्यामकुमार बानियाँ, पुरूषोत्तम आचार्य र हरि पौड्यालको विविध साङ्गीतिक प्रस्तुति समेत रहने सचिव मनोज पोखरेलले जानकारी दिए ।
साहित्य सङ्गमको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को प्रवर्धनमा हुने सम्मान तथा साङ्गीतिक कार्यक्रममा ज्ञवालीका एकल कवितामाथि घनश्याम घिमिरेले समीक्षा गर्ने समेत पाेखरेलले बताए ।
२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ चौतारामा जन्मिएका ज्ञवालीले २०७३ सालमा ‘बिना सालिकका नायकहरु’ कविता कृति प्रकाशित गरेका थिए । यसअघि शीतविन्दु नामबाट साहित्य रचना गर्दै आएका ज्ञवालीले सहयात्री – २०४६ (उपन्यास), चिता जलिरहेछ – २०५१ (कविता संग्रह), आस्था, ओ मेरी प्रिया -२०५७ (कविता संग्रह), कुहिरो – २०६० (कथा संग्रह), माक्र्सवादको सिर्जनात्मक प्रयोग – (२०५८), प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टिकरण (२०५९), फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन (२०६४), युवाः एक बहस (२०६६), राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थराजनीतिक बहस (२०७०) लगायत कृति प्रकाशित छन्।
चितवन । अत्यधिक गर्मीले जनजीवन समेत प्रभावित हुन थालेपछि भरतपुर महानगरपालिकाका सबै विद्यालय जेठ ३२ गतेसम्म विदा हुने भएकाे छ । गर्मीका कारण महानगरपालिकाले जेठ २९ गते मंगलबारबाट विद्यालय विदा दिने भएकाे हाे ।
भरतपुर महानगरले सोमबार सूचना सार्वजनिक गर्दै बर्खे विदाबाट कट्टी हुनेगरी मंगलबारदेखि शुक्रबारसम्म शैक्षिक संस्थामा पठनपाठन नगराउन अनुरोध गरेको हो । गर्मीका कारण बालवालिकाको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिहरू, अभिभावक, विद्यालय र सरोकारवालाहरूको सुझावका आधारमा महानगरका विद्यालय ४ दिन बन्द गरिएकाे बताइएकाे छ ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएकाे छ – ‘केही दिनदेखिको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भैरहेको र बालवालिकाहरूको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले विद्यालय सञ्चालनका लागि कठिन भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिहरू, अभिभावक, विद्यालय र सरोकारवालाहरूको सुझावका आधारमा साउनको अन्तिम साता (साउन २९ देखि ३२ गतेसम्म) को वर्षे विदाबाट कट्टा हुनेगरी यही मिति २०८१/०२/२९ गते देखि २०८१/०२/३२ गते (मंगलबारदेखि शुक्रबार) सम्म जम्मा ४ दिन महानगरपालिकाबाट विदा गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।
साथै विदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी-पोखरीहरूमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरूलाई अनुरोध गर्दै सोही बमोजिम आफ्ना विद्यार्थीहरूलाई निर्देशन दिनुहुन सबै विद्यालयहरूलाई अनुरोध छ ।´ अब महानगरका विद्यालय असार २ गतेबाट खुल्ने छन् ।