मकवानपुर । श्याम प्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित हुने भएका छन् ।साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष उक्त सम्मान प्रदान गर्दै आएकाे छ ।
संगमले मंगलबार पत्रकार भेटघाटमा हेटौडामा कार्यक्रम गरी उक्त सम्मानकाे जानकारी दिएको हो । पत्रकार भेटघाटमा संगम अध्यक्ष डीबी बर्तौलाले असार ७ गते यस वर्षकाे श्याम प्रसाद शर्मा स्मृति सम्मान साहित्यकार एवम् पूर्व मन्त्री ज्ञवालीलाई सम्मानित गर्ने बताए ।
प्रगतिशील साहित्य लेखनमा स्थापित शर्माकाे नाममा स्थापित सम्मानकाे राशी २५ हजार रुपैया रहेकाे छ । यस अघि १५ हजार रहेकाे उक्त सम्मानकाे राशी यस वर्षबाट बढाएर २५ हजार रुपैया बनाइएकाे बताइएकाे छ ।
कार्यक्रममा ज्ञवालीका एकल कविता वाचन हुनेछ भने उनले लेखेका गीतकाे गायन समेत हुनेछ । साहित्यकार निमेष निखिल र सुवास खनालले ज्ञवालीका कविताहरू वाचन गर्ने तथा आशाकाजी श्रेष्ठ र अजर फुयाँलले ज्ञवालीका गीतलाई गाउने छन् । यस्तै श्यामकुमार बानियाँ, पुरूषोत्तम आचार्य र हरि पौड्यालको विविध साङ्गीतिक प्रस्तुति समेत रहने सचिव मनोज पोखरेलले जानकारी दिए ।
साहित्य सङ्गमको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को प्रवर्धनमा हुने सम्मान तथा साङ्गीतिक कार्यक्रममा ज्ञवालीका एकल कवितामाथि घनश्याम घिमिरेले समीक्षा गर्ने समेत पाेखरेलले बताए ।
२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ चौतारामा जन्मिएका ज्ञवालीले २०७३ सालमा ‘बिना सालिकका नायकहरु’ कविता कृति प्रकाशित गरेका थिए । यसअघि शीतविन्दु नामबाट साहित्य रचना गर्दै आएका ज्ञवालीले सहयात्री – २०४६ (उपन्यास), चिता जलिरहेछ – २०५१ (कविता संग्रह), आस्था, ओ मेरी प्रिया -२०५७ (कविता संग्रह), कुहिरो – २०६० (कथा संग्रह), माक्र्सवादको सिर्जनात्मक प्रयोग – (२०५८), प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टिकरण (२०५९), फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन (२०६४), युवाः एक बहस (२०६६), राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थराजनीतिक बहस (२०७०) लगायत कृति प्रकाशित छन्।

