काठमाडाैं। निर्वाचन आयाेगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएका घाेषणा गरेकाे छ। साेमबार आयाेगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सांसदहरुकाे सूची प्रकाशित गर्दै ११० जनालाई निर्वाचित घोषणा गरेकाे हाे ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ काे लागि पेश गरेकाे बन्दसूचीबाट आ-आफ्नो दललाई प्राप्त गरेको सिट कलस्टर अनुसार निर्वाचन आयोगमा नाम पेस गरेपछि आयोगले सोमबार ६ वटा दलबाट ११० जना निर्वाचित भएको घोषणा गरेको हो । आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।
यसैगरी ६ दलबाट ११० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला रहेका छन् । जसमा सबैभन्दा बढी रास्वपाबाट ४८ जना, दोस्रोमा नेपाली कांग्रेसबाट १५ जना, तेस्रोमा नेकपा (एमाले) बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४ जना, श्रम संस्कृति पार्टीबाट ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट २ जना छन् ।
Samanupatik samsad 2082मकवानपुर । हेटौंडाको टिसिएन चौरमा सञ्चालन भैरहेको खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा जारी जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सोमबार भएको क्वाटरफाइनल खेलबाट जित निकाल्दै ४ वटा टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । क्वाटरफाइनलमा जित निकाल्दै थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लव, बज्रबाराहीको नवप्रतिभा क्लव, मनहरी गाउँपालिका र छहारी युवा क्लव हेटौंडा ११ ले अन्तिम चारमा स्थान बनाएका छन् ।
सोमबार भएकाे पहिलो खेलमा मंगलेश्वर क्लवले मिलन युवा क्लवलाई २५–२० र २५–१४ को सोझो सेटमा हराएको छ । दोस्रो खेलमा नवप्रतिभाले बागमती गाउँपालिकालाई २५–१९ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो । सोमबारै भएको अर्को खेलमा मनहरी गाउँपालिकाले सफल केयर हेटौंडा १५ लाई २५–१२ र २५–२२ को सोझो सेटमा हराएको हो । अन्तिम खेलमा छहारी युवा क्लवले पशुपति युवा क्लव हेटौंडा ९ लाई २५–१४ र २५–१८ को सोझो सेटमा पाखा लगाएको हो ।
फाइनल प्रवेशका लागि मंगलेश्वर र नवप्रतिभा क्लव तथा मनहरी गाउँपालिका र छहारी युवा क्लवको बीचमा खेल हुनेछ । सेमिफाइनल मंगलबार बिहान र फाइनल दिउँसो १ बजेबाट हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टिमले एकलाख र उपविजेता टिमले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टिमले समान नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । मकवानपुर जिल्लाका ८ वटा टोली सहभागी प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालकी बागमती प्रदेश सदस्य सुमि थिङकाे मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ को विमोचन गरिएको छ ।
शनिबार चौतारीको ४२ ओैँ शृङ्खलाकाे अवसरमा थिङको कृति विमोचन एवम् विमर्श हेटौंडामा गरिएको हो । हेटौंडा १ स्थित अमर माविमा कक्षा ९ मा अध्ययनरत सुमिले पहिलाे कृति मुक्तक सङ्ग्रह प्रकाशन गरेकी हुन् ।कृतिमाथि साहित्यकार सानु खनाल तथा विविशा रुम्बाले समीक्षात्मक टिप्पणी गरेका थिए । यस्तै नवसर्जक राेज कार्की, नम्रता पराजुलीले कृतिमा समेटिएका मध्ये प्रतिनिधि रचना वाचन गरेका थिए ।
नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार डीबी बर्ताैलाकाे सम्पादन रहेको मुक्तक सङ्ग्रह नवसर्जक साहित्य चाैतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेकाे हाे । कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रअ मालती उप्रेती, चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
नवसर्जक चाैतारीले देशभरका २५ वर्षमुनिका नवसर्जककाे नेतृत्वमा पठन तथा लेखन संस्कृतिकाे विकास गर्दै आएकाे छ । नवसर्जकका कृति प्रकाशन गर्दै आएकाे चौतारीले आगामी दिनमा यसलाई निरन्तरता दिइने संस्थाकी महासचिव स्वस्तिका दाहालले जानकारी दिइन् ।
चौतारीकी उपमहासचिव रचना भण्डारीकाे सहजीकरण गरेको कार्यक्रम चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालकाे अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेकाे प्रमुख आतिथ्यमा भएको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा शुक्रबारबाट सञ्चालन भएकाे बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत पहिलो दिन आज जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुला दौड प्रतियोगिता भएको छ ।
हेटौंडामा भएकाे १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ १ का सुवास हेमजन प्रथम भएका छन् भने महिलातर्फ हेटौंडा १३ की साधना लोप्चन प्रथम भइन् । हेमजनले अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हाँसिल गरेका हुन् । दौडमा मनहरी ८ का सन्दिप विक द्वितीय र बकैया ८ का राजकुमार गोले तृतीय भए ।
यस्तै महिलातर्फ लोप्चनले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै दौडको उपाधि जितेकी हुन् । महिलातर्फ हेटौंडा १३ कै अमृता मोक्तान द्वितीय, हेटौंडा ४ की सुविना गोले तृतीय र राक्सिराङ १ की निलिमा थिङ सान्त्वना भइन् । दुवैतर्फको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र एकहजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलकुद महोत्सव सुरु भएको हो । महोत्सव अन्तर्गत विभिन्न ६ वटा विधामा खेलकुद प्रतियोगिता हुनेछ । दौडमा इच्छा भएका खेलाडीहरुको पहिचानसहित खेल क्षेत्रको विकासका निम्ति जिल्लास्तरीय महिला तथा पुरुष दौडको आयोजना गरिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।
शुक्रबारबाट नै जिल्लास्तरीय डबल्स ब्याड्मिन्टन प्रतियोगिता समेत सुरु भएको छ । हेटौंडा ११ थानाभर्याङस्थित कभर्ड हलमा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले ब्याड्मिन्टन प्रतियोगिताको उद्घाटन गरे । ब्याड्मिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५÷५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुर खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले जानकारी दिए ।
खेलकुद महोत्सवकाे आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बानियाँले गौरीटार रङ्गशालामा आगामी एक महिनाभित्र बागमती प्रदेशस्तरीय खेल महोत्सव आयोजन गर्न लागिएको जानकारी दिए । खेलाडीहरू समाज र राष्ट्रका पहिचान भएकाले अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय, सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे
खेलकुद क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले भने ’कृषि, पर्यटन क्षेत्रको विकास गरी प्रदेशका जनताको आयस्रोत वृद्धि गर्ने विषयमा प्रदेश सरकार गम्भीर छ । प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण, संवर्द्धन गरी पर्यटक क्षेत्रको विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ।’
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, मकवानपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाट, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायत उपस्थित थिए ।
समिता पौडेल न्यौपाने
गजल
तिमी जून भयौ कि तारा भयौ ।
मेरा लागि संसार सारा भयौ ।
चित्त बुझाउँछु गगन हेर्दै पनि,
नयनको चम्किलो नजारा भयौ ।
बेदनाले मान्दैनन् गाँठो फुकाउन,
मन भित्रकै कलकल धारा भयौ ।
जगतमै नरहे पनि केभो र ,
तिमि मेरो जितको नारा भयौ ।
कहिलै नमेटिने यादले बचायो ।
तिनै यादको खुराक, चारा भयौ ।
भरतपुर – ७ चितवन