मकवानपुर । बागमती प्रदेशका पुर्व मन्त्री एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले स्थायीत्वको लागि बर्तमान गठबन्धन बनेको बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा थपलियाले उक्त कुरा बताएका हुन् । स्थायी सरकार बनाएर जनताको विश्वास जितेर काम गर्ने बताउँदै उनले भने ‘बर्तमान सरकारले स्वदेशमा रोजगार पाउने वातावरणको सुरुवात गर्दै लैजाने छ ।’
‘प्रदेश सरकारले स्वरोजगार बन्न अभिप्रेरित गर्नेगरी बजेट छुट्टाएको छ’ उनले भने ‘जनताले सरकार छ भन्ने महसुस गराउने गरी हामी काम गर्छौं ।’ बिदेश जाने क्रम बढीरहेकोले यसको न्यूनीकरण गर्नेतर्फ सरकार उन्मुख रहेको उनले जानकारी दिए । स्वतन्त्र विद्यार्थी युनियन धेरै तर राम्रा काम गर्ने गरेको भन्दै फोटोग्राफीको समेतकाे तालिम गरेकोमा उनले खुशी व्यक्त गरे ।
संसारमा परिचय बनाउन फोटोग्राफीले मद्दत गर्ने भएकाेले तालिमलाई सार्थक बानाउने गरी उपयोग गर्न उनले सुझाव समेत दिए । स्ववियु हेटौंडा क्याम्पसले ७ दिनसम्म संचालन गरेकाे तालिममा ७५ जना सहभागी रहेकाे थियाे ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, जिल्ला युवा समिति अध्यक्ष शिबहरि दाहाल, विद्यार्थी नेता आकाश अधिकारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगरकमिटिको अध्यक्षमा सम्झना सिटौला चयन भएकी छिन् । हेटौंडामा भएको सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिवमा लक्ष्मी उप्रेती मैनाली, सहसचिवमा सुभद्रा खड्गे, कोषाध्यक्षमा सुनिता मानन्धर चयन भएका छन् । सौन्दर्यकर्मी युनियनका केन्द्रीय महासचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा भएको भेलाले कार्यसमिति चयन गरेको हो ।
संघले सौन्दर्यकर्मीहरुको क्षमता विकासका लागि नयाँ तालिमहरु सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष सिटौलाले बताइन् ।
मकवानपुर । आगामी भदौ २८ र २९ गते युवा संघ नेपाल मकवानपुर जिल्लाको अधिवेशन हुने भएकाे छ । युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको दोस्रो बैठकले उक्त मितिमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।
जिल्ला संयोजक राजेश नगरकोटीको अध्यक्षतामा भएकाे बैठकले अधिवेशनसहितका छ वटा निर्णयहरू गरेको छ । गत जेठमा भएकाे नेकपा एमाले मकवानपुरको १२ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा मनोनीत सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ । त्यस्तै एमालेबाट प्रदेश र केन्द्रीय पदमा मनोनीत तथा विभिन्न जिम्मेवारीमा नियुक्त सम्पूर्ण सदस्यहरूलाई बधाई दिने निर्णय भएकाे नगरकाेटीले जानकारी दिए ।
बैठकले वातावरण संरक्षण र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने लक्ष्य सहित आगामी दिनहरूमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै युवा संघ त्यागेर समाजवादी पार्टीमा प्रवेश गरेकी मेनुका श्रेष्ठलाई संगठनको नियमानुसार कारबाही गर्ने निर्णय भएकाे उनले बताए । युवा संघ बागमती प्रदेशको आगामी श्रावण २६ र २७ गते भक्तपुरमा हुने अधिवेशनका लागि मकवानपुर जिल्लाबाट प्रतिनिधिहरू छनोट गरिएको छ ।
संयोजक नगरकोटीले बैठकमा गरिएका निर्णयहरूले संगठनलाई थप सुदृढ र क्रियाशील बनाउने बताए। ‘आगामी दिनहरूमा युवाहरूको हितका लागि अझ बढी कार्यक्रमहरू ल्याउने योजनामा रहेको छ’ उनले भने । उनले राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको आगामी गतिविधिहरूको लागि बैठकबाट महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको बताउँदै संगठनले युवाहरूको सशक्तीकरण र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जानकारी दिए ।
बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना, मकवानपुर अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता विष्ट, जिल्ला सदस्य तथा युवा ईन्चार्ज सानु लामा दोङ, युवा संघ बागमती प्रदेश संयोजक राजु तिवारी लगायतको आतिथ्यता रहेको थियो ।
काठमाडौं। साहित्यकार कल्पना काफ्लेको मुक्तक संग्रह ‘अशान्त धड्कन’ सार्वजनिक भएकाे छ । शनिबार काठमाडौंमा आयाेजित एक कार्यक्रमका बीच ‘अशान्त धड्कन’ को लाेकार्पण गरिएको हो ।
प्राडा माधवप्रसाद पाेखरेल, साहित्यकार नवराज लम्साल, काफ्लेकी आमालगायतले मुक्तक संग्रहकाे लाेकार्पण गरे । दुई सय बढी मुक्तक समावेश गरिएकाे मुक्तक संग्रहमा विकृति, विसंगतिहरू, माया प्रेमलगायतका भावयुक्त मुक्तक समेटिएका छन् ।
काफ्लेकाे यसअघि भाव सरोवर कविता संग्रह प्रकाशित छ । साहित्य सुधाकी संस्थापक काफ्ले नेपाल एयरलाइन्समा कार्यरत छिन् ।
मकवानपुर । रमेशमोहन अधिकारीको नियात्रा संग्रह ‘संयात्राको संयोग’ सार्वजनिक भएको छ । शनिबार हेटौंडामा अधिकारीको नियात्रा सङ्ग्रह सार्वजनिक भएको हो ।
झरना साहित्यिक परिवारको ३०६ औं साहित्य श्रृङ्खलामा अधिकारीकाे कृति विमोचन गरिएकाे हाे । अधिकारीको नियात्रा सङ्ग्रहमाथि साहित्यकार दीपक गौतम र रजनी पौडेलले समीक्षा गरेका थिए ।
अधिकारीको यो पाँचौं कृति हो । यसअघि अधिकारीका तीन वटा नियात्रा सङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् । अधिकारीको कृति ‘संयात्राको संयोग’ मा २८ वटा शीर्षकमा संस्मरण समावेश छन् । बुलबुल पब्लिकेसनले प्रकाशन गरेको नियात्रा सङ्ग्रहलाई पाँच खण्डमा प्रस्तुत गरिएकाे अधिकारीले बताए ।
झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जालको अध्यक्षता तथा साहित्यकार रामचन्द्र आचार्य ‘फुर्सदी’ को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।