मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले गरेको कर वृद्धिकाे विरोध गर्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रम सार्वजिनक गरेको छ।
मउवासंघले बुधबार व्यवसायिक भेला एवं पत्रकार सम्मेलन गर्दै ५ दिने चरणवद्व आन्दोलनकाे कार्यक्रम सार्वजनिक गरेकाे हाे । संघ अध्यक्ष कृष्ण कुमार गुप्ताले लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरुका कारोवार शिथिलता आएकाे अवस्थामा करको दर बढाएकाेले आन्दाेलनकाे कार्यक्रम सार्वजनिक गरिएकाे बताए ।
व्यावसायमा आएकाे मन्दीका कारण व्यवसायीहरु निरास छन्,कोही व्यवसाय छाडेर पलायन भइसकेका छन् र कोही ऋणमा रहेकाे अवस्थामा करवृद्धि गरिएकाेले संघ आन्दाेलनमा उत्रिन बाध्य भएकाे उनले जानकारी दिए ।
बजारका कवल, सटरहरु खाली देखिन थालेको अवस्था र समग्रमा उद्योग/व्यवसाय धरासायी भएको अवस्थामा उपमहानगरपालिकाले करकाे दर बढाएकाे अवस्थामा भविष्यमा झन ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने त हैन भन्ने पूर्व संकेतको संशय पैदा भएको उनले बताए ।
‘उपमहानगरपालिकाकाे राजश्व परामर्श समितिमा समेत विद्यमान आर्थिक प्रभावलाई मध्यनजर गरी चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाको राजश्व दर बृद्धि नगर्ने निर्णय गरेकाे थियाे’ उनले भने ‘समितिको निर्णयलाई बेवास्ता गर्दै नगरसभाबाट राजश्व दरमा अनाधिकृत रुपमा व्यापक बृद्धि गरि सर्वसाधारण, आम उपभोक्ता, घरधनी, निमार्ण व्यवसायी, होटल व्यवसायी, व्यापारी तथा सहकारीकर्मीहरुलाइ थप पीडित धरासयी बनाउन खोजेको छ ।’
संघकाे विज्ञप्तिमा भनिएकाे छ ‘विद्यमान आर्थिक निरासा र उद्योगी व्यवसायीहरुको पीडालाई मध्यनजर गर्दै हाल गरिएको उल्लेखित १५० प्रतिशतसम्मको अस्वभाविक बृद्धि समय सान्दर्भिक नभएको सवै क्षेत्रमा वडेको कर तत्काल घटाइ यथास्थितीमा कायम गर्न माग गरेको छ।’
हेटौडा उपमहानगरपालिका समक्ष पटक पटक लिखित मौखिक माग गरि एकपक्षीय रुपमा करको दर परिवर्तन नगरी यथास्थितीमा राख्न गरिएको माग सुनुवाइ नभएको कारणले आन्दोलनमा जान वाध्य भएको अध्यक्ष गुप्ताले जानकारी दिए ।
चरणवद्व आन्दोलनको आज पहिलो दिन २८ श्रावणमा बस्तुगत संघका अध्यक्षहरु तथा विभिन्न राजनीतिक दल निकटका व्यापार व्यवसाय संग सम्बन्धित भातृसंगठन, सहकारी संघ संस्थाका प्रतिनिधिहरुसँग आन्दोलनको विषयमा छलफल तथा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी दिएको थियो।
२९ श्रावणमा कर अवज्ञाको विषयमा आम सर्वसाधारणलाइ कर नतिर्नको आव्हान गर्दै माइकिङ्ग गर्ने तथा प्रचार प्रसार गर्ने गराउने र विभिन्न संघ संस्था, प्रदेश सरकार, राजनैतिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारमा ज्ञापन पत्र बुझाउ तथा विभिन्न क्षेत्र संग अन्तर्कृया गरिने छ ।
३० श्रावणमा बुद्धचोक, मउवासंघ चोक लगायतका स्थानमा हस्ताक्षर संकलन, १ घन्टा हेटौडा उपमहानगरमा शान्तिपूर्ण धर्ना/विरोध स्वरुप विभिन स्थानमा कालो व्यानर राखी नगरले गरेको कर वृद्धिको विरोध गरिने भएकाे छ। यसैगरी श्रावण ३१ गते हेटौडा नगरपालिकामा २ घन्टा शान्तिपूर्ण धर्ना, व्यापार व्यवसायी विरोधी हेटौडा नगर सरकार खोज्दै मैनबत्ती जुलुस गरिने संघले प्रकाशित गरेकाे विज्ञप्तिमा उल्लेख छ।
श्रावण ३२ गते हेटौडा नगरमा विरोध याली सहित आआफ्नो व्यापार व्यवसाय स्व स्फुर्त बन्द गरि हेटौडा उपमहानगरमा चाबी बुझाउदै नगरपालिक परिषरमा कोण सभा गरि पहिलो चरणका कार्यक्रम समापन गरिने भएकाे छ ।
आन्दोलनका कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन हरेक दिन फरक फरक पदाधिकारीलाई संयोजक ताेकिएकाे संघले जनाएकाे छ । उपमहानगरलाई चावी हस्तान्तरण पश्चात नगरले गरेको विभिन्न कर वृद्धिको बिरोधमा सामुहिक मुद्दा दर्ता गराउने समेत बताइएकाे छ।
भदौ ७ गतेबाट जिल्ला लिग फुटबल हुने
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा आगामी ७ भदौबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा हुने प्रतियाेगितामा २८ वटा ए डिभिजन क्लबले सहभागिता जनाउने छन् ।
जिल्ला लिगको लागि जिल्ला फुटबल संघ ए डिभिजन लिग, २०८१ नियमावली सार्वजनिक गरेको छ । प्रतियोगिताको विजेता, उपविजेता टिमले नगद १ लाख र ५० हजारसहित प्राप्त गर्ने संघले जानकारी दिएकाे छ । विजेता टिमले प्रदेश लिग २०८१ को लागि छनौट हुनेछन् । प्रतियोगितामा सहभागी हुन सम्बन्धित क्लवले आर्थिक वर्ष २०७९/८० को करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने संघले जनाएकाे छ ।
यसवर्षबाट जिल्ला लिगमा क्लवहरुको वरियताक्रम छुट्याइने संघले जनाएको छ । जसको लागि लिगमा सहभागी हुने २८ वटै क्लवलाई ४ समूहमा विभाजित गरिनेछ । हरेक समूहको शिर्ष ३ स्थानमा रहने क्लवहरु सिधै जिल्लाको ए डिभिजन क्लवमा छनौट हुनेछन् । हरेक समूहका चौथो र पाचौँ हुने ८ वटा क्लवहरु बी डिभिजन र छैठौ र सातौँ हुने ८ वटा क्लवहरु सी डिभिजन क्लवको सूचिमा पर्नेछन् ।
जिल्ला खुल्ला क्वालिफाइबाट आयका २ वटा क्लवहरुसहित १० वटा क्लवले आगामी जिल्ला लिग सी डिभिजन खेल्नेछन् । प्रतियोगिताको लागि ४ भदौसम्म टिम दर्ता गर्नु पर्ने संघले जनाएको छ । संघकाे आयोजनामा २०८० मा भएकाे जिल्ला लिग क्वालिफाईमा सहभागी खेलाडीले जिल्ला लिग प्रतियाेगितामा सहभागिता जनाउन पाउने छैनन् । यसैगरी २०८०/०८१ मा अन्य जिल्लामा लिग खेलेका मकवानपुरका खेलाडी तथा २०८० मा एन्फा ए,बी,सी लिग खेलेका खेलाडीले समेत प्रतियाेगितामा सहभागी हुन नपाउने नियम रहेकाे छ ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछी जिल्ला लिग हुन सकेको थिएन ।

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु भएकाे छ । बकैया ५, पावसस्थित सिमात खोलाले बगाउँदा बकैया–५ राजदमारका ६० वर्षीय आशा काजी दोङकाे मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दोङ उक्त खोलामा घोप्टो परी तैरिरहेको अवस्थामा मृत फेला परेकाे हाे । प्रहरी चौकी गरगरेका प्रहरी सहायक निरीक्षक सन्तु कुमार लामाका अनुसार दोङ बिहान बैंक आउन घरबाट निस्केका थिए ।
मृतक दोङ दुध डेरीबाट आउने पैसा लिन खोला तरेर बैंक निस्किएको प्रहरीले जनाएको छ । शवको मुचुल्का पश्चात पश्चात शव पोष्टमार्टमका लागि हेटौंडामा ल्याइने बताइएकाे छ । घटनाको प्रकृति हेर्दा कुनै शंकास्पद नदेखिएकाे तर घटनाबारे थप अनुसन्धान गरिने मकवानपुर प्रहरीले जनाएकाे छ ।
हुरी रोकिए पनि, बतास रहन्छ ।
तिमी गयौ तिम्रो याद खास रहन्छ ।
लगेपछि लुटेर सारा खुशीहरु,
आँसु आँखाकै आसपास रहन्छ ।
हटाऔँ अब मालिक भन्ने शब्द,
यो मालिक रहेसम्म दास रहन्छ ।
नयाँ नयाँमा मात्रै हो महत्त्व हुने,
माया कहाँ सधैं एकनास रहन्छ ।
गर्दिन कसैसँग अपेक्षा केहि पनि,
पुरा नभएपछि मन उदास रहन्छ ।
जिन्दगी केहि होइन सोच्छ्न् घाटमा,
जल्नु अघि जबसम्म लास रहन्छ ।
सुर्योदय नपा इलाम
हेटौंडाकाे राप्तीमा र्याफ्टिङकाे मज्जा (भिडियाे)
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडामा शनिबारबाट र्याफ्टिङ सुरु भएको छ। नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिद्वारा हेटौडा १० स्थित राप्ती पुलदेखि रजैयासम्म र्याफ्टिङ संचालनमा ल्याएकाे हाे ।
यसअघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्याफ्टिङको मज्जा सँगै अनुभव समेत अब हेटौंडावासीले आफ्नै शहरमा लिन पाउने भएका छन्। संचालनमा आएकाे र्याफ्टिङ स्थानीय आन्तरिक पर्यटन र आर्थिक विकासको दृष्टिले महत्वपूर्ण रहने मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
राप्ती खोलामा शुरू गरिएको र्याफ्टिङ सेवा हेटौंडाको राप्तीपुलदेखि रजैया-ज्यामिरेसम्म सञ्चालन हुनेछ।शनिबार मनहरी गाउँपालिकाका अध्यक्ष सहित मकवानपुरका पत्रकारहरू सहभागी भइ पहिलाे पटक हेटौडादेखि रजैयासम्म ३ घण्टा लामाे र्याफ्टिङ गरे ।
राप्ती नदीको पानीको बहाव, सुरक्षा र मनोरञ्जनका दृष्टिले वर्षा याममा र्याफ्टिङको राम्रो सम्भावना रहेको एडभेन्चर्सले जनाएकाे छ । राप्ती नदीकाे सुरक्षा र मनोरञ्जनको दृष्टिकोणले अत्यन्तै उत्कृष्ट रहेको र्याफ्टिङको लागि अनुभवी गाइड हिमाल मिजारले बताए । पहिले दिन हेटौंडाका पत्रकारहरूले र्याफ्टिङ गरेका थिए । र्याफ्टिङ जीवनकै अविस्मरणीय क्षण तथा रमाइलो समय रहेको सहभागी पत्रकारहरुले बताए ।
कम्पनीले हेटौंडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको र्याफ्टिङका लागि जसको लागि खाना बाहेक प्रतिव्यक्ति ९ सय र खाना सहित प्रतिव्यक्ति १२ सय शुल्क लाग्नेछ । कम्पनीले छिट्टै नियमित र्याफ्टिङ सेवा सुरु गर्ने जनाएको छ।