मकवानपुर । मकवानपुरकाे हेटौंडामा शनिबारबाट र्याफ्टिङ सुरु भएको छ। नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिद्वारा हेटौडा १० स्थित राप्ती पुलदेखि रजैयासम्म र्याफ्टिङ संचालनमा ल्याएकाे हाे ।
यसअघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्याफ्टिङको मज्जा सँगै अनुभव समेत अब हेटौंडावासीले आफ्नै शहरमा लिन पाउने भएका छन्। संचालनमा आएकाे र्याफ्टिङ स्थानीय आन्तरिक पर्यटन र आर्थिक विकासको दृष्टिले महत्वपूर्ण रहने मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
राप्ती खोलामा शुरू गरिएको र्याफ्टिङ सेवा हेटौंडाको राप्तीपुलदेखि रजैया-ज्यामिरेसम्म सञ्चालन हुनेछ।शनिबार मनहरी गाउँपालिकाका अध्यक्ष सहित मकवानपुरका पत्रकारहरू सहभागी भइ पहिलाे पटक हेटौडादेखि रजैयासम्म ३ घण्टा लामाे र्याफ्टिङ गरे ।
राप्ती नदीको पानीको बहाव, सुरक्षा र मनोरञ्जनका दृष्टिले वर्षा याममा र्याफ्टिङको राम्रो सम्भावना रहेको एडभेन्चर्सले जनाएकाे छ । राप्ती नदीकाे सुरक्षा र मनोरञ्जनको दृष्टिकोणले अत्यन्तै उत्कृष्ट रहेको र्याफ्टिङको लागि अनुभवी गाइड हिमाल मिजारले बताए । पहिले दिन हेटौंडाका पत्रकारहरूले र्याफ्टिङ गरेका थिए । र्याफ्टिङ जीवनकै अविस्मरणीय क्षण तथा रमाइलो समय रहेको सहभागी पत्रकारहरुले बताए ।
कम्पनीले हेटौंडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको र्याफ्टिङका लागि जसको लागि खाना बाहेक प्रतिव्यक्ति ९ सय र खाना सहित प्रतिव्यक्ति १२ सय शुल्क लाग्नेछ । कम्पनीले छिट्टै नियमित र्याफ्टिङ सेवा सुरु गर्ने जनाएको छ।

