मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यात्मक गाईजात्रा कार्यक्रम गर्ने भएकाे छ । सिस्नुपानी मकवानपुरकाे आयोजना तथा हेटौडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयकाे प्रवर्धनमा कार्यक्रम गरिने शनिबार हेटौडामा पत्रकार भेटघाट आयोजना गरी जानकारी गराइएकाे हाे ।
सिस्नुपानी मकवानपुरले ४ नम्बर वडा कार्यालयकाे सहयोग तथा समन्वयमा कविता, प्यारोडी गायन, समसामयिक राजनीति र सामाजिक क्षेत्रका विकारका विरूद्धमा प्रहसन, मनोरञ्जनात्मक क्यारिकेचरसहितकाे गाइजात्रा गर्न लागेकाे हाे ।
आगामी ३ भदौमा हेटौडामा हुने हास्यव्यङ्ग्यात्मक गाईजात्रा कार्यक्रममा स्थानीय कलाकारहरुकाे विभिन्न प्रदर्शन हुने छन् । गाईजात्रा कार्यक्रममा मनोरञ्जनात्मक क्यारिकेचर, प्यारोडी गायन, सामाजिक मुद्दामाथि प्रहसन/नाटकीय प्रस्तुति, कविता, बजेट भाषणलगायतकाे प्रस्तुति रहने उपाध्यक्ष तथा कार्यक्रम संयोजक मिनप्रसाद लामिछानेले जानकारी दिए ।
पत्रकार भेटघाटमा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले साहित्यकाे एक माध्यम हास्यव्यङ्ग्य भएकाे बताउँदै भने ‘साहित्यकारहरुले व्यवस्था बदल्न भूमिका खेलेकाेमा अव अवस्था परिवर्तन गर्न तथा व्यवस्थालाई टिकाइ राख्न समेत लागि पर्नु पर्छ ।’ भाषा कला साहित्यकाे प्रवर्धन तथा उन्नयनमा स्थानीय सरकारकाे सहयाेग रहिरहने उनले बताए ।
राजनीति, समाज, प्रशासनिकलगायत सबै क्षेत्रमा रहेका विकृति र विसंगतिविरूद्ध हास्यव्यङ्ग्य सिर्जनामार्फत् आवाज बुलन्द पार्दै आइरहेको सिस्नुपानी नेपालको स्थापना २०५५ सालमा भएको हाे । विभिन्न हास्यव्यङ्ग्यात्मक सिर्जनाहरू प्रहसन, प्यारोडी, कविता, क्यारिकेचर मार्फत् मनोरञ्जन समेत प्रदान गर्दै आइरहेको सिस्नुपानीकाे जिल्ला शाखाका रूपमा सिस्नुपानी नेपाल मकवानपुर रहिआएको सिस्नुपानी मकवानपुर अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए ।
संस्थाले विगतमा राष्ट्रव्यापी खुला हास्यव्यङ्ग्य कविता प्रतियोगिता, हास्यव्यङ्ग्य सिर्जनाका सर्जकलाई सम्मान तथा पुरस्कार प्रेरणा र हौसला, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा आर्थिक सहयोग जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोगलगायतका कार्यसमेत गर्दै आएकाे उनले बताए ।
संस्थाले स्थापना दिवस विशेष हास्यव्यङ्ग्य कार्यक्रम, गाईजात्रा विशेष हास्यव्यङ्ग्यात्मक कार्यक्रम, भैरव जयन्ति विशेष कार्यक्रम, देउसीभैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्दै आइरहेकाे अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार हास्यव्यङ्ग्य रचना, क्यारिकेचर तथा कार्टुन सिर्जनासँग सम्बन्धित कार्यशालाकाे तयारी समेत गरिएकाे छ ।
सिस्नुपानी मकवानपुरद्वारा तीन वटा पुरस्कार प्रदान गरिदै आएकाे छ । संस्थापक गणेशकुमार पौडेल परिवार रहेकाे गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य साहित्य सम्मान, हास्यव्यङ्ग्यकार आरसी रिजाल संस्थापक रहेकाे हास्यव्यङ्ग्य प्रतिभा पुरस्कार, भैरव अर्याल स्मृति सम्मान (साहित्य सङ्गम मकवानपुरसँग संयुक्त) संस्थापक भैरव अर्याल परिवार रहेकाे पुरस्कार र सम्मान हरेका वर्ष प्रदान गरिदै आएकाे लामिछानेले बताए ।
हेटौडा ४ स्थित ओम्याक्स सिनेमा हलमा हुने कार्यक्रमका लागि अनिवार्य तर निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको आयोजकले जनाएकाे छ ।

