मकवानपुर । हेटौंडा काठमाडौ मार्गको भैसे भिमफेदी सडकखण्ड अन्तरगत भिमफेदी ४ गोल्पिङमा बस पल्टिएको छ। बुधबार साँझ काठमाडौंबाट हेटौंडा हुदै जनकपुर जान आउदै गरेको बस गोल्पिङमा दुर्घटना भएको हो ।
हेटौडाबाट काठमाडौ तर्फ जादै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र जनकपुर जान आउदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठोकिदा बस सडकबाट १० मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनाको समय हेटौडाबाट काठमाडौ तर्फ जादै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत उक्त बसमा ठोकिदा बस पल्टिएको हो ।
प्रहरीका अनुसार उक्त दुर्घटनाका घाईते सबैलाई उपचारको लागि हेटौडा ल्याइएको छ । घाईते मध्ये ६ जनाको अवस्था गंभिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा २ दर्जन बढी घाइते भएको तथा नामथर नखुलेको बताइएको छ । अन्य बिबरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा दीपक थापा नियुक्त भएका छन् । काठमाडौं महानगरपालिका–१० निवासी थापा युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञमा नियुक्त गरेकाे हाे ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष थापाकाे नियुक्तिले खेलकुद क्षेत्रमा उपलब्धीमुलक काम हुनुका साथै ठोस तथा प्रभावकारी योजना निर्माणका लागि भूमिका रहने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले नियुक्ति पत्र प्रदान गर्दै बताए । थापाको नियुक्तिले प्रदेशको समग्र खेल क्षेत्रको विकासमा सहयोग पुग्ने उनले जानकारी दिए ।
काठमाडौं व्याडमिन्टन एकेडेमीका संस्थापक थापाले स्पोट्स इभेन्ट म्यानेजमेन्टमा मास्टर्स गरेका छन् । मन्त्रालयले यसअघि खेल विज्ञको रुपमा दीपक श्रेष्ठलाई समेत मनोनित गरिसकेको छ । श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष हुन् ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाहकाे लागि सहायता रकम उपलब्ध गराएकाे छ ।
मंगलबार गाउँपालिकाले ७८ जना पहेलो कार्ड प्राप्त आंशिक अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति ५ हजार ३ सय रुपैंया सहयाेग उपलब्ध गराएकाे हो । पूर्ण अपङ्गता भएका व्यक्तिलाई केन्द्र सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएपनि आंशिक अपाङ्गता भएकाहरुकाे हकमा स्थानीय सरकारले अभिभावकत्व लिनु पर्ने भएकाेले सहायता रकम वितरण गरिएकाे गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
“आंशिक अपाङ्गता भएका व्यक्ति भनिएपनि कोहि पेशा/व्यवसाय गर्न असक्षम हुन्छन्” अध्यक्ष कालाखेतीले भने, “उनीहरुलाई चाडपर्वमा केही राहत पुगोस भनेर यस्तो कार्यक्रम ल्याइएको हो ।” गाउँपालिकाले आन्तरिक स्राेतबाट उक्त रकम उपलब्ध गराएकाे हाे । गत वर्षबाट गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिकाे लागि सहयोग गर्ने कार्यक्रम ल्याएकाे हाे ।
मकवानपुर। मकवानपुर प्रहरीले तेल ट्यांकरबाट ३ सय ९२ किलो लागूऔषध गाँजा बरामद गरेको छ।
मंगलबार बिहान काठमाडौंमा तेल अनलोड गरि पालुङ हुदै विरगंज तर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकरबाट उक्त परिणामको लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौड १५ रातोमाटेबाट गाँजा सहितको उक्त ट्यांकर र दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
प्रहरीका अनुसार ट्याङकर चालक मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरे बस्ने २६ वर्षीय रोशन पुरी र सोही स्थानका सहचालक २२ वर्षीय धन बहादुर मल्ललाई नियन्त्रणमा लिएको हो । तेल भर्ने पाँचवटा डिब्बाहरु मध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका बनाई विरगंज तर्फ लादै गरेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।
मकवानपुर । मकवानपुरगढी गाउँकार्यपलिका वडा नं २ मा अवस्थित चण्डिनीदेबी मन्दिरको जग्गा अतिक्रमण भएको प्रति स्थानीयले ध्यानाकर्षण जनाएका छन् ।
मन्दिर संरक्षण गर्दै अतिक्रमित जग्गा फिर्ता ल्याउन माग गर्दै स्थानीय चण्डिनीदेबी संरक्षण सरोकार संघर्ष समितिले आज मकवानपुरगढी गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
ऐतिहासिक मकवानपुरगढी दरवारको समेत जग्गा अतिक्रमित भएको प्रति समितिले ध्यानाकर्षण गराएको हो । ऐतिहासिक, धार्मिक र महत्वपूर्ण पर्यटकीय महत्व बोकेको स्थलको संरक्षण गर्दै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न उनीहरुले माग गरेका हुन् । चण्डिनीदेबी संरक्षण सरोकार संघर्ष समितिको तर्फबाट अध्यक्ष भिमसेन किङरिङ मगरले गाउँपालिका अध्यक्ष दोर्जे लामालाई ध्यानाकषर्ण पत्र बुझाएका हुन् । उनीहरुले १३४ जनाको हस्ताक्षर समितको ध्यानाकषर्ण पत्र बुझाएका हुन् । स्थानीय सबै राजनीतिक दलको समेत प्रतिनिधित्व गर्दै उनीहरुले मन्दिरको गरिमा र महत्वको बारेमा खोज गर्नको लागि समेत आग्रह गरेका छन् ।
नेपाल एकिकरणको सुरुवात भएको, विदेशी हस्तक्षेपबाट मुलुकलाई बचाउन वीर गोर्खालीले वीरता प्रदर्शन गरेको, नेपाली सेनाको संगठनको सुभारम्भ भएको स्थानको रुपमा परिचित मकवानपुरगढिको गरिमा महत्व उच्च राख्न समितिले ध्यानाकर्षण गराएको अध्यक्ष मगरले बताए ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात तीनै तहका सरकारहरु, सामाजिक संघ सस्था र व्यक्तिहरुबाट गढिको संरक्षण, प्रवर्दन र विकासको सुरुवात गरीएता पनि ऐतिहासिक मकवानपुरगढीको संरक्षण र विकासमा प्रयाप्त ध्यान पुग्न नसकेको समितिको निष्कर्ष छ । समितिले ऐतिहासिक सर्किट क्षेत्रको रुपमा रहेको ऐकिकरण बिजय पार्क फुर्लुङेश्वर महादेव मन्दिर, मकवानपुरगढी सानुगढी, ढुंगेगढी, जुंगे दरवार, चण्डिनीदेबीको मन्दिर संरक्षण र विकासको माग गरेको संघर्ष समिति सचिव ज्ञानेन्द्र शाहले बताए ।

ध्यानाकर्षण पत्र बुझाएपछी अध्यक्ष लामासँग सामूहिक तस्वीर खिचाउँदै संघर्ष समितिका पदाधिकारी, सदस्यहरू तथा सराेकारवालाहरु ।
मकवानपुरगढी दरवारभन्दा पुर्व तर्फ करिब २०० मिटर अगाडी वि.स १७७५ मा सेन वंशीय राजा माणिक सेनद्वारा निर्मित चण्डिनीदेवीको मन्दिर र काठको मौलो सहित स्थापना गरिएको स्थानमा हात्तीले पानीखाने पोखरी मन्दिरजाने सिडी, जग्गा नाप्ने जंगे पिलर समेत रहेको तथा समुदायद्वारा निर्मित गाउँघर क्लिनिक २०७० सालसम्म संचालन हुदै आएकोमा सो स्थानमा मकवानपुरगढी २ सोहि स्थान बस्ने राजेश थापाले सबै संरचना भत्काई त्यस आसपासको जग्गा अतिक्रमण गरि सार्वजनिक सम्पत्तीको दोहन भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यस क्षेत्रमा रहेको नेपाल टेलिकमको टावर निर्माण गराई सम्झौता समेत गरिएकोले सो सम्झौता रद्ध गरि टावर सहित निर्माण गरिएका घर टहरा हटाउन पनि माग गरिएको छ । चण्डिनीदेवीको मन्दिर आसपास क्षेत्रका सम्पूर्ण जग्गा घेरावरा तथा संरक्षण गराई सेन वंशीय राजाहरुको इस्ट देवताको रुपमा मान्दै आएको चण्डिनीदेवीको मन्दिर स्थापना गर्न माग गरिएको हो ।
ध्यानाकर्षण गराइए अनुसार स्थानीय सरकारले अभिभावकत्व ग्रहण नगरेमा आफूहरु थप संर्घषमा उत्रने उनीहरुले बताएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष लामाले आफ्नो क्षेत्रभित्र रहेको पर्यटकीय गन्तव्यको संरक्षणमा तत्काल आफ्नो तर्फबाट काम थाल्ने प्रतिवद्धता व्यक्त गरे । गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाह सहितको उपस्थितीमा अध्यक्ष लामाले ऐतिहासिक क्षेत्रको संरक्षणार्थ अतिक्रमित जग्गा फिर्ता ल्याउने पहल थाल्ने बताए ।
स्थानीयद्वारा मन्दिरकाे करिव ७ कठ्ठा र गढीदरबारकाे करिव ८ विगाहा जमिन अतिक्रमित भएकाे बताइएकाे छ । अतिक्रमित जग्गा फिर्ताकाे लागि यस अघि पनि गाउँपालिकाले पत्र काटेकाे तर कार्यान्वयन नभएकाेले फेरी सराेकारवालाहरुले ध्यानाकर्षण गराएका हुन् ।