मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा जारी तेस्रो नागस्वती कप भेट्रान्स फुटबल प्रतियोगितामा नागरस्वती,लेकसाईड,जोरपाटी भेट्रान्स सेमिफाइनल प्रवेश गरेकाे छ । बिहीबार भएकाे क्वाटरफाइनलका खेलसँगै आयोजक नागस्वती भेट्रान्स बीसँगै लेक साइड भेट्रान्स पोखरा, जोरपाटी भेट्रान्स सेमिफाइन प्रवेश गरेका छन् ।
नागस्वती भेट्रान्स ए र हेटौडा भेट्रान्स बिच भएकाे क्वार्टरफाइनलकाे चौथो खेलकाे पहिलो हाप मात्र भएको छ । खेलकाे समय नसकिदैं रात परेपछि उक्त क्लब बिचकाे दोस्राे हाफकाे खेल शुक्रबार बिहान खेलाइने आयोजकले जनाएकाे छ । बिहीबारको पहिलो खेलमा आयोजक नागस्वती भेट्रान्स बिले पशुपति भेट्रान्सलाई २–० गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हाे । खेलको १६ र २३ औँ मिनेटमा नागस्वतीका तर्फबाट मिलेन्द्र देवानले दुई गोल गर्दै टिमलाई सेमिफाइनलकाे यात्रामा पुर्याए ।
यस्तै बिहीबार दोस्रो क्वाटरफाइनल खेलमा लेक साइड भेट्रान्स पोखराले चितवन भेट्रान्सलाई २–१ काे गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलमा लेसाइकड्को तर्फबाट ७ औँ र १६ औ मिनेटमा कन्या सुब्बा गरुङ्ले दुई गोल गर्दै टिमलाई विजयी बनाए । चितवनको तर्फबाट खेलको १९ औँ मिनेटमा भूपेन्द्र कार्कीले सान्त्वना गोल गरे ।
यसैगरी तेस्रो खेलमा जोरपाटी भेट्रान्सले प्ले टुगेदर भेट्रान्स झापालाई ट्राई ब्रेकरमा ४–३ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे छ । खेलको निर्धारित समयमा दुवै समूहबाट एक–एक गोल भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएकाे थियो । यस्तै चौथो खेल नागस्वती भेट्रान्स ए र हेटौडा भेट्रान्स बिच भएकोमा पहिलो हापमा नागस्वती भेट्रान्सले २ गोल गर्दै अग्रतामा छ भने हेटौडाको तर्फबाट एक गोल भएको छ । दोस्राे हाफकाे खेल रात परेपछि स्थगित गरिएकाे छ । बाँकी खेल शुक्रबार बिहान खेलाइने आयोजकले जनाएको छ ।
शुक्रवार आयोजक नागस्वती भेट्रान्स बि र लेक साइड भेट्रान्स बिच पहिलाे सेमिफाइनल खेल हुनेछ भने जोरपाटी भेट्रान्स र आयोजक नागरस्वती भेट्रान्स ए र हेटौडा भेट्रान्स बीचकाे विजेता बिच हुनेछ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगिताकाे फाइनल ८ मंसिरमा हुनेछ । प्रतियोगितामा देशभरका १५ वटा भेट्रान्स क्लबहरुकाे सहभागिता रहेकाे छ । ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको क्लबले प्रतियोगितामा सहभागिता जनाएकाे आयोजक क्लब अध्यक्ष सोम बहादुर तितुङ्ले जानकारी दिए ।
प्रतियोगिताकाे विजेताले २ लाख १ हजार र उपविजेताले एक लाख १ हजार नगद हात पार्नेछन् । चार वर्ष अघि स्थापना भएको क्लबले तेस्रो सिरिजकाे प्रतियोगिता आयोजना गरेको हो । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिता हेटौडा ७ नागस्वती स्थित नवज्योति माविको खेल मैदानमा भइरहेको छ ।
मकवानपुर । हेटौंडामा जारी तेस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड भेट्रान्स कप फुटबल प्रतियोगितामा बिहीबारबाट क्वार्टरफाइनलका खेल हुने भएकाे छ । बुधबारकाे खेलबाट लेकसाइड भेट्रान्स पोखरा, पशुपति भेट्रान्सले बिरगंज, जोरपाटी भेट्रान्स र नागस्वती भेट्रान्स बि विजयी भएसँगै क्वार्टरफाइनलकाे समिकरण पुरा भएकाे हाे ।
बुधबारकाे पहिलाे खेलमा लेकसाइड भेट्रान्स पोखराले बिरगंज युनिटी भेट्रान्सलाई २–१ काे गोलले हराउँदै विजयी भएकाे हाे । लेकसाइडको तर्फबाट ९ औ मिनेटमा कन्या सुब्बा गुरुङले एक गोल र राजु हमालले ४६ औं मिनेटमा एक गोल गरेका थिए । यस्तै बिरगंज युनिटिको तर्फबाट ४८ औ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा लेकसाइड भेट्रान्सका खेलाडी कन्या सुब्बा गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए ।
यस्तै दोस्रो खेलमा पशुपति भेट्रान्सले बिरगंज युथ एकेडेमी भेट्रान्सलाई ट्राइब्रेकरमा २–१ ले जित हासिल गरेको थियो । खेलमा निर्धारीत समयमा एकएक गोल भएपछि खेलकाे नतिजा ट्राइब्रेकरबाट लिइएकाे थियो । खेलको ३५ औं मिनेटमा पशुपति भेट्रान्सको तर्फबाट मदन श्रेष्ठ र बिरगंज युथका तर्फबाट १२ औं मिनेटमा संजय मण्डलले गोल गरेका थिए । ट्राइब्रेकरमा पशुपतिको तर्फबाट जितेन्द्र कर्मचार्य र मदन लामाले एक एक गोल गरेका थिए भने बिरगंज युथका तर्फबाट रामबाबु चौधरीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पशुपति भेट्रान्सका नवराज केसि घोषित भएका थिए ।
बुधबारको तेस्रो खेलमा जोरपाटी भेट्रान्स बिजयी भएको छ । जोरपाटीले बिरगंज सिटि भेट्रान्सलाई ट्राइब्रेकरमै २–१ ले पराजित गरेको हो । निर्धारित समयकाे खेल बराबरीमा रोकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएकाे थियाे । ट्राइब्रेकरमा जोरपाटी भेट्रान्सको तर्फबाट बिकाश श्रेष्ठ र राकेश लामाले गोल गरेका थिए भने बिरगंज सिटिको तर्फबाट रामबाबु चौधरीले गोल गरेका थिए ।
यस्तै चौथो खेलमा आयोजक नागस्वती भेट्रान्स बिले अभिषेक चर्च नवलपरासीलाई ४–० गोलले हराउँदै जीत निकालेकाे हाे । नागस्वतीको तर्फबाट खेलको मिलेन्द्र देवानले ७ औ, २१ औं र ३(औं मिनेटमा तिन गोल गरेका थिए भने २) औं मिनेटमा क्याप्टेन निमा लामाले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका मिलेन्द्र देवान घोषित भएका थिए ।
मङ्गलवार देखी हेटौंडामा दुई लाख राशिको तेस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको हाे । नागस्वती भेट्रान्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर गौतमले गरे । उनले स्वास्थ्यकाे लागि खेलकुद महत्त्वपूर्ण रहेकाे बताए । कार्यक्रममा जिल्ला फुटबल सङ्घका अध्यक्ष टिका लामा, पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतम,अमेरिका निवासी युवा व्यवसायी गौरव बस्नेत लगायतले खेलको सफलताको शुभकामना दिएका थिए ।
मगलबारकाे उद्घाटन खेलमा आयोजक नागस्वती भेट्रान्स ए ले र एनजेजेभिसी भेट्रान्स सिमरालाई ३–१ गोल अन्तरले विजयी सुरुवात गरेको थियाे । खेलको १२,२७ र ३३ औ मिनेटमा नागस्वती भेट्रान्सका तर्फबाट डेबिन श्रेष्ठले तिन गोल गरेका थिए भने एनजेजे भेट्रान्सको तर्फबाट खेलको दोस्रो मिनेटमा रत्न बहादुर खत्रीले एक मात्र गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका डेबिन श्रेष्ठ घोषित भएका थिए ।
यस्तै मगलबारकाे दोस्रो खेलमा हेटौडा भेट्रान्स विजयी भएको छ । हेटौडाले पश्चिम चितवन भेट्रान्सलाई ४–० गोल अन्तरले पाखा लगायो । खेलको १४,५१ र ५२ औ मिनेटमा हेटौडा भेट्रान्सको तर्फबाट रितेस थापाले तिन गोल र सुबिन घिमिरेले २३ औ मिनेटमा एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच हेटौडा भेट्रान्सका रितेस थापा घोषित भएका थिए । यस्तै मंगलबारकाे तेस्रो खेलमा चितवन भेट्रान्सले निजगढ भेट्रान्सलाई २–१ गोलले हराएकाे थियो । चितवनका तर्फबाट खेलको १७ मिनेटमा सुरेन्द्र चौधरी र ३९ औ मिनेटमा विष्णु दराईले गोल गरेका थिए भने निजगढ भेट्रान्सका तर्फबाट खेलको २४ औ मिनेटमा भीम लामाले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच चित्तवन भेट्रान्सका विष्णु दराई घोषित भएका थिए ।
मङ्सिर ८ गतेसम्म हुने प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेकाे १५ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहेको आयोजक क्लब अध्यक्ष सोम बहादुर तितुङ्ले जानकारी दिए । प्रतियोगिता विजेताले २ लाख १ हजार र उपविजेताले एक लाख १ हजार नगद सहित शिल्ड मेडल प्राप्त गर्नेछन् । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताले पूर्व खेलाडीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने उनले बताए । चार वर्ष अघि स्थापना भएको यस क्लबले लगातार तेस्रो सिरिजको प्रतियोगिता आयोजना गरेको हो । खेल हेटौडा ७ नागस्वतीमा रहेको नवज्योति विद्यालयको खेल मैदानमा भैरहेको छ ।
यसैगरी बिहीबारबाट प्रतियाेगिताका क्वाटरफाइनलका खेल हुनेछन् । बिहीबार आज क्वाटरफाइनलका चार खेल हुने आयोजकले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा सामुदायिक आँखा अस्पतालको सेवा प्रारम्भ भएको १६ वर्ष पुरा भएकाे छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको पहिलो शाखाको रुपमा हेटौडामा सामुदायिक आँखा अस्पताल स्थापना भएको हो ।
हेटौडा पश्चात भक्तपुर र निजगढमा पनि आँखा अस्पतालकाे शाखा विस्तार गरी सेवा प्रदान गरिदै आएकाे छ । २०६५ मंसीर ५ गते अष्ट्रेलियन राजदुत ग्राहम लेडले हेटौंडा साुमदायिक आँखा अस्पतालको उद्घाटन गरेका थिए । अस्पतालमा स्थापनाकालदेखि हालसम्म ८ लाख ९३ हजार जनाले सेवा लिएकाे अस्पतालका प्रवन्धक सुधिर श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा हालसम्म ६० हजार मोतिविन्दुका बिरामीको शल्यक्रिया भएको छ । बिभिन्न क्षेत्रमा निशुल्क आँखा शिविर संचालन गरेर २२ हजारको निशुल्क शल्यक्रिया गरिएको उनले बताए ।अस्प्तालमा आँखा जाँच, चश्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गरिदै आईरहेको छ । यसका साथै आँखा स्वाथ्य सम्बन्धी जनचेतना प्रदान गर्न बिभिन्न समयमा शिक्षक, स्वास्थ्य कार्यकता, महिला स्वास्थ्य स्वयंसेविका, कारखानाका कामदार लगात बिभिन्न समुहलाई तालिम गोष्ठी आयोजना गर्दै आएको छ । प्रवन्धक श्रेष्ठका अनुसार अस्पतालसम्म आँखा उपचारकाे सेवा लिन आउन नसक्नेहरुलाई ग्रामीण क्षेत्रमा नै पुगी निःशुल्क आँखा शिविर पनि आयोजना गर्दै आएकाे छ ।
अस्पतालले मकवानतपुरकाे थाहा नगरपालिका, मनहरी गाँउपालिका र बागमती गाँउपालिकासँग समन्वय गरेर सामुदायिक आँखा केन्द्र संचालन गरेको उनले बताए ।त्यसैगरी ईन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिका र बकैयाँ गाँउपालिकासँगको सहकार्यमा ग्रमीण आँखा केन्द्र पनि संचालन गरी ग्रामिण भेगका जनतालाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आई रहेको छ । यसैगरी राक्सिराङ्ग, भीमफेदी र मकवानपुर गढी गाँउपालिकामा पनि ग्रामीण आँखा केन्द्र स्थापनकोलागि पहल भइरहेकाे उनले बताए । आँखा अस्पतालमा दैनिक करिब तीन सयजनाले सेवा लिने गरेका छन् ।
दैनिक बिहान ६ बजेदेखि साढे ११ बजेसम्म टोकन लिएर बहिरंग सेवा एक सय ५० रुपैयाँ शूल्कमा लिन सकिने व्यवस्था छ । बहिरंग सेवा बिहान साढे ८ बजेबाट सुरु हुन्छ भने दिउँसो ३ः३० बजेबाट विस्तारित सेवामा चार सय ५० रुपैयाँको टिकटमा आँखाको परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ । माेवाइलबाटै पनि टिकट लिने सुविधा अस्पतालले दिदै आएकाे छ ।
अस्पताल परिसरमा शल्यक्रियाकाे लागि भनेर छुट्टै भवन निर्माण कार्य सुरु हुँदैछ भने न्यून दृष्टि भएका बालबालिकाहरुका लागि पनि छुट्टै सेवा प्रदान गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश सुरक्षा समितिको बैठकले एकीकृत सुरक्षा समन्वय केन्द्र निर्माण गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयमा बसेकाे समितिको बैठकले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि सुरक्षा समन्वय केन्द्र निर्माण गर्ने निर्णय गरेको हाे ।
उपनिर्वाचन हुने प्रदेशका मकवानपुर काठमाडौं दोलखा र नुवाकाेट जिल्लालाई समेटेर एकीकृत सुरक्षा समन्वय केन्द्र बनाउने निर्णय गरेको मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । प्रदेशका मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्ष सहित किर्तिपुर नगरपालिकाको नगर प्रमुख तथा १ र ४ नम्बर वडाको वडा अध्यक्ष, काठमाडौं उपमहानगरपालिका–१६ मा वडा अध्यक्ष, नुवाकोटको ककनी गाउँपालिकाको २ नम्बर वडाको वडा अध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष चयनका लागि १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचन हुने चार जिल्लाको शान्ति सुरक्षाको रिपोर्टिङलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्दै चुस्तदुरुस्त सुरक्षा व्यवस्थापनका लागि एकीकृत सुरक्षा केन्द्रबाट काम गरिने बताइएकाे छ । सम्पर्क कार्यालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडामा रहने केन्द्रको संयोजन मन्त्री लामिछानेले गर्नेछन् ।
मकवानपुर । हेटौंडा रन–२०८१ को उपाधि सञ्जिव मिजारले जितेका छन् । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको हेटौंडा रन उपाधि हेटौंडा–१४ का धावक मिजारले हात पारेका हुन् ।
मंगलबार भएको रनको निर्धारित ५ किलोमिटर दुरी २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उनले उपाधि जितेका हुन् । यसैगरी हेटौंडा–१५ का निश्चल तितुङले द्वितीय स्थान हासिल गर्न २० मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पूरा गरे । यसैगरी २० मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै हेटौंडा–१८ का अभिषेक रोक्क तृतीय भए ।
हेटौंडा–१८ का मनिष गोपली चौथो र हेटौंडा–१४ का अमृत सुनार पाँचौ हुँदा हेटौंडा–१८ का रुवि बुलन र राक्सिराङ गाउँपालिकाका सुवास योञ्जन प्रोत्सान पुरस्कार प्राप्त गरे । रन विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद प्राप्त गरे । य प्रतियोगितामा चौथो हुनेले ५ हजार, पाँचौंले पुरस्कार ३ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । दौडका विजेता, उपविजेता तथा अन्य खेलाडीहरुलाई नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलगायतले पुरस्कार वितरण गरेका थिए ।
दौडमा २५ जना सहभागी थिए । सहभागीहरुले हेटौंडा–१०, बुद्धचोकबाट आफ्नो दौड यात्रा सुरु गरेर भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, नवोदय, सत्यमचोक, थाहाचोक, शितलमहल चोक, ओमभवनहुँदै पुनः बुद्धचोकमा आएर दौड पूरा गरेका थिए ।