मकवानपुर । हेटौंडामा जारी तेस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड भेट्रान्स कप फुटबल प्रतियोगितामा बिहीबारबाट क्वार्टरफाइनलका खेल हुने भएकाे छ । बुधबारकाे खेलबाट लेकसाइड भेट्रान्स पोखरा, पशुपति भेट्रान्सले बिरगंज, जोरपाटी भेट्रान्स र नागस्वती भेट्रान्स बि विजयी भएसँगै क्वार्टरफाइनलकाे समिकरण पुरा भएकाे हाे ।
बुधबारकाे पहिलाे खेलमा लेकसाइड भेट्रान्स पोखराले बिरगंज युनिटी भेट्रान्सलाई २–१ काे गोलले हराउँदै विजयी भएकाे हाे । लेकसाइडको तर्फबाट ९ औ मिनेटमा कन्या सुब्बा गुरुङले एक गोल र राजु हमालले ४६ औं मिनेटमा एक गोल गरेका थिए । यस्तै बिरगंज युनिटिको तर्फबाट ४८ औ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा लेकसाइड भेट्रान्सका खेलाडी कन्या सुब्बा गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए ।
यस्तै दोस्रो खेलमा पशुपति भेट्रान्सले बिरगंज युथ एकेडेमी भेट्रान्सलाई ट्राइब्रेकरमा २–१ ले जित हासिल गरेको थियो । खेलमा निर्धारीत समयमा एकएक गोल भएपछि खेलकाे नतिजा ट्राइब्रेकरबाट लिइएकाे थियो । खेलको ३५ औं मिनेटमा पशुपति भेट्रान्सको तर्फबाट मदन श्रेष्ठ र बिरगंज युथका तर्फबाट १२ औं मिनेटमा संजय मण्डलले गोल गरेका थिए । ट्राइब्रेकरमा पशुपतिको तर्फबाट जितेन्द्र कर्मचार्य र मदन लामाले एक एक गोल गरेका थिए भने बिरगंज युथका तर्फबाट रामबाबु चौधरीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पशुपति भेट्रान्सका नवराज केसि घोषित भएका थिए ।
बुधबारको तेस्रो खेलमा जोरपाटी भेट्रान्स बिजयी भएको छ । जोरपाटीले बिरगंज सिटि भेट्रान्सलाई ट्राइब्रेकरमै २–१ ले पराजित गरेको हो । निर्धारित समयकाे खेल बराबरीमा रोकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएकाे थियाे । ट्राइब्रेकरमा जोरपाटी भेट्रान्सको तर्फबाट बिकाश श्रेष्ठ र राकेश लामाले गोल गरेका थिए भने बिरगंज सिटिको तर्फबाट रामबाबु चौधरीले गोल गरेका थिए ।
यस्तै चौथो खेलमा आयोजक नागस्वती भेट्रान्स बिले अभिषेक चर्च नवलपरासीलाई ४–० गोलले हराउँदै जीत निकालेकाे हाे । नागस्वतीको तर्फबाट खेलको मिलेन्द्र देवानले ७ औ, २१ औं र ३(औं मिनेटमा तिन गोल गरेका थिए भने २) औं मिनेटमा क्याप्टेन निमा लामाले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका मिलेन्द्र देवान घोषित भएका थिए ।
मङ्गलवार देखी हेटौंडामा दुई लाख राशिको तेस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको हाे । नागस्वती भेट्रान्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर गौतमले गरे । उनले स्वास्थ्यकाे लागि खेलकुद महत्त्वपूर्ण रहेकाे बताए । कार्यक्रममा जिल्ला फुटबल सङ्घका अध्यक्ष टिका लामा, पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतम,अमेरिका निवासी युवा व्यवसायी गौरव बस्नेत लगायतले खेलको सफलताको शुभकामना दिएका थिए ।
मगलबारकाे उद्घाटन खेलमा आयोजक नागस्वती भेट्रान्स ए ले र एनजेजेभिसी भेट्रान्स सिमरालाई ३–१ गोल अन्तरले विजयी सुरुवात गरेको थियाे । खेलको १२,२७ र ३३ औ मिनेटमा नागस्वती भेट्रान्सका तर्फबाट डेबिन श्रेष्ठले तिन गोल गरेका थिए भने एनजेजे भेट्रान्सको तर्फबाट खेलको दोस्रो मिनेटमा रत्न बहादुर खत्रीले एक मात्र गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका डेबिन श्रेष्ठ घोषित भएका थिए ।
यस्तै मगलबारकाे दोस्रो खेलमा हेटौडा भेट्रान्स विजयी भएको छ । हेटौडाले पश्चिम चितवन भेट्रान्सलाई ४–० गोल अन्तरले पाखा लगायो । खेलको १४,५१ र ५२ औ मिनेटमा हेटौडा भेट्रान्सको तर्फबाट रितेस थापाले तिन गोल र सुबिन घिमिरेले २३ औ मिनेटमा एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच हेटौडा भेट्रान्सका रितेस थापा घोषित भएका थिए । यस्तै मंगलबारकाे तेस्रो खेलमा चितवन भेट्रान्सले निजगढ भेट्रान्सलाई २–१ गोलले हराएकाे थियो । चितवनका तर्फबाट खेलको १७ मिनेटमा सुरेन्द्र चौधरी र ३९ औ मिनेटमा विष्णु दराईले गोल गरेका थिए भने निजगढ भेट्रान्सका तर्फबाट खेलको २४ औ मिनेटमा भीम लामाले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच चित्तवन भेट्रान्सका विष्णु दराई घोषित भएका थिए ।
मङ्सिर ८ गतेसम्म हुने प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेकाे १५ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहेको आयोजक क्लब अध्यक्ष सोम बहादुर तितुङ्ले जानकारी दिए । प्रतियोगिता विजेताले २ लाख १ हजार र उपविजेताले एक लाख १ हजार नगद सहित शिल्ड मेडल प्राप्त गर्नेछन् । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताले पूर्व खेलाडीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने उनले बताए । चार वर्ष अघि स्थापना भएको यस क्लबले लगातार तेस्रो सिरिजको प्रतियोगिता आयोजना गरेको हो । खेल हेटौडा ७ नागस्वतीमा रहेको नवज्योति विद्यालयको खेल मैदानमा भैरहेको छ ।
यसैगरी बिहीबारबाट प्रतियाेगिताका क्वाटरफाइनलका खेल हुनेछन् । बिहीबार आज क्वाटरफाइनलका चार खेल हुने आयोजकले जनाएकाे छ ।

