मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ माछा प्लान नजिकै सवारी दुर्घटानमा हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
शनिबार बेलुका माछा प्लानस्थित कान्तिलोकपथ सडक खण्डमा चौघडा तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको प्र.३-०२-०० ८ प २६२८ नम्बरको मोटरसाईकल र हेटौडा बजारबाट चौघडा बजार तर्फ जादै गरेको बा.प्र.०३-००५ प ५१६९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ५ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा स्कुटर चालक मकवानपुर हेटौडा १७ हटिया बस्ने ३४ वर्षीय रोहित तामाङ गम्भीर घाइते भएका छन् । उनकाे टाउको र दाहिने खुट्टामा चोट लागेकाे छ । उनलाई थप उपचारको लागी सीएमसी नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएकाे प्रहरीले जनाएकाे छ । यसैगरी स्कटर पछाडी सवार रोहीतकी श्रीमति २८ वर्षीय रमिला तामाङको दाहिने खुट्टामा चोट लागि घाइते भएकी छिन् भने निजहरुकाे छोरा ८ वर्षीय रोजन तामाङ मुख र दाहिने खुट्टामा चोट लागेकाे छ । दुवै जनाकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
यस्तै मोटर साइकल चालक हेटौडा ३ बसामाडी बस्ने ३५ वर्षीय गोपी तामाङको टाउको र आँखाको भागमा चोट लागि घाइते भएका छन् । प्रहरीका अनुसार उनकाे अवस्था मध्यम रहेकाे छ । मोटर साइकल पछाडी सवार हेटौडा १९ नेवारपानी बस्ने ३० वर्षीय बिष्णु प्रजा घाइते भएका छन् । उनकाे बाँया आँखाको निधार, मुख र दाहिने हातमा चोट लागेकाे छ भने अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुकाे हेटौंडा अस्पतालमा उपचार भइरहेकाे बताइएकाे छ ।
२६२८ नम्बरको मोटरसाईकल र ५१६९ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना भएकाे समयमा चौघडा तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ७ ख ४२९५ नम्बरको ट्रकको (ट्रेलर खालको) बम्परको भाग मुनी २६२८ नम्बरको मोटरसाईकल परेकाे थियाे । मोटर साइकल, स्कुटर र ट्रक तथा ट्रक चालक हेटौंडा १३ पदम पोखरी बस्ने अन्दाजी २९/३० वर्षीय सुकराम घलान जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ ।
मकवानपुर । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मकवानपुरको मनहरी गाउँपालिकामा १ वटा भवनकाे शिलान्यास गरेका छन् । सिंहले शनिबार मनहरी गाउँपालिकाकाे प्रशासकिय भवनको शिलान्यास गरेका हुन् ।
यसैगरी बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको जनसम्पर्क कार्यालयको समेत मन्त्री सिंहले उद्घाटन गरेका छन्। मन्त्री सिंहले छुट्टाछुट्टै समयमा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास र सम्पर्क कार्यालयकाे उद्घाटन गरेका हुन्। मनहरी बजारमा नेपाली काँग्रेसका बागमती प्रदेश सभापति समेत रहेकाे बानियाँको सम्पर्क कार्यालय उद्घाटन गरेका सिंहले मनहरी ४ रजैयामा रहेकाे मनहरी गाउँपालिकाकाे भवनको शिलान्यास गरेका हुन्।
लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको मनहरी गाउँपालिकाले नयाँ प्रशासकीय भवन निर्माण थालेको हो । राष्ट्रिय वन क्षेत्रको जग्गाको स्वामित्व गाउँपालिका अन्तर्गत ल्याएर मनहरीले भवन निर्माण कार्य थालेको गाउँपालिकाकाले जनाएकाे छ । ६ कठ्ठा क्षेत्रफलमा ४२ वटा कोठासहित ३ तले सुविधा सम्पन्न भवन निर्माणकाे शिलान्यास गरिएकाे हाे ।
उक्त भवनकाे निर्माणका लागि तामाकोशी–ढाचा जेभी बालाजु काठमाडौंले निर्माणका लागि गत असोज १४ गते सम्झौता गरेको छ । ८ करोड २८ लाख ६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको उक्त भवन निर्माण आगामी २०८२ चैत ३० गते सम्पन्न गर्नुपर्ने छ ।
बानियाँको मनहरीमा सम्पर्क कार्यालय
मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावी क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरेका छन् । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शनिबार कांग्रेस बागमती प्रदेश सभापति बानियाँको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहले सम्पर्क कार्यालय उद्घाटन गर्दै जनप्रतिनिधिले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सहज पहुँच हुने स्थानमा कार्यालय स्थापना गर्न जरुरी रहेको बताए । देशमा जवजव जटिल समस्या पर्छ कांग्रेसले नेतृत्व लिएर समाधान गरेको विगतका उदाहरणहरु रहेकाे बताउँदै उपप्रधानमन्त्री सिंहले कांग्रेसको नेतृत्वमा मात्रै विकास र समृद्धि सम्भव भएको बताए ।
कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य बानियाँले चुनावको बेला मतदातामाझ गरेको प्रतिवद्धता अनुरुप कार्यालय स्थापना गरिएकाे जानकारी दिए । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी बजारमा मतदाताको गुनासो सुन्न तथा साझा सम्पर्क थलोको रुपमा विकास गर्न कार्यालय खोलिएको उनले बताए ।
सम्पर्क कार्यालयमार्फत् मकवानपुर क्षेत्र नम्बर २ ख का मनहरी, राक्सीराङ, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १९ का मतदाताले विकास निर्माणलगायतका विषयमा छलफल गर्न सक्नेछन् ।
माेमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि पुस्तक वार्ता
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडामा मोमिला जोशीको निबन्ध सङ्ग्रह ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि पुस्तक वार्ता गरिएकाे छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा कवि, निबन्धकार जोशीकाे आठौं पुस्तक ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि शुक्रबार वार्ता तथा बहस गरिएको हाे ।
शनिबार (आज) प्रदेश युवा परिषद्को आयोजनामा तथा साहित्य संगम मकवानपुरकाे व्यवस्गापनमा हुने राष्ट्रिय युवा कविता उत्सव-२०८१ मा एकल कविता वाचनका लागि हेटौंडा आइपुगेकी मोमिलाकाे निवन्ध संग्रहमाथि पुस्तक वार्ता गरिएकाे हाे । कार्यक्रममा जोशीकाे व्यक्तित्व कृतित्व चर्चा शान्ति प्रीय वन्दनाले, पुस्तकवार्ता सहजीकरण कवि सुवास खनालले तथा बहसकर्ता कवि समिक्षक निमेष निखिलले गरेका थिए ।
निबन्धले नारीचेत, मृत्युचिन्तन, स्वस्वार्थका लागि इतिहास तोडमरोड गर्न खोज्नेहरुप्रतिको खबरदारी, बाल्यकाल र बिरामी आमाको स्मरण, युद्धपीडा, व्यङ्चेत, विचार समावेश गरिएको सहजकर्ता खनालले बताए । सहजकर्ता खनालले लेखन सरल हुनुपर्ने वर्तमान अवस्थामा जोड भइरहेकाेमा लेखकहरूको भाषा कम भइरहेको हो कि भन्ने प्रश्न गरेका थिए । लेखक जोशीले निबन्ध सरल शव्दमा लेखिएको बताइन् । उनले लेखनको प्रवाहमा आफ्नो कुनै नियन्त्रण नरहने समेत बताइन् ।
जोशीका विषयमा निमेष निखिलले भाषाको गहिराईमा लेखक जोशीको प्रयोगबाट आफू प्रभावित भएको बताउँदै देवकोटादेखि शङ्कर लामिछानेसम्मले आफ्नो समयमा ल्याउनु भएको युगान्तकारी लेखनजस्तै समकालीन लेखकको तुलनामा मोमिला जोशीको फरक पहिचान बनेको बताए । खनालले युद्धहरू नाजायज लाग्दैनन् भन्ने र युद्धले ल्याउने हिंसाका विरूद्धको लेखन देखिन्छ नि भन्ने प्रश्नमा जोशीले भनिन् ‘जीवनमा हर क्षण पुरानै कुराहरूको नियमितता भने होइन ।’
निखिलको धारणामा जोशीले निखिललाई गम्भीर पाठक तथा सुन्दर कविताका सर्जकका रूपमा लिएको बताउँदै पाठकले आफ्नो शक्ति र सीमालाई बुझिदिन आग्रह गरिन् । लेखन तथा वादको सन्दर्भमा जोशीले ‘वाद’ हरूको घेरामा सीमित हुन नरुचाउने स्पष्ट पारिन् । सहजकर्ता खनालले मृत्यु चिन्ता वा चिन्तन केको विषय हो भन्ने प्रश्नमा मृत्यु आफ्नो मात्रै नभएर सबैको अनिवार्य रहेकाले पनि बाँचेका समयलाई सुन्दर र सक्रिय अनि अर्थपूर्ण तवरले बाँच्नुपर्ने लेखक जोशीले बताइन् । कार्यक्रममा कविहरू आरएन डङ्गोल, सुबास सजल र निरा शर्माले समेत लेखकसँग सवालजवाफ गरेका थिए ।
आयोजक आँचल साहित्य कला पुञ्जले कवि मोमिलाको निरन्तर साहित्य साधनाका लागि कदर-पत्रद्वारा सम्मान समेत गरेको छ । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई आँचलकी सचिव सबिता तिमल्सिनाले सहजीकरण गरेकी थिइन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ कि पुतलीमाया स्याङबोलाई कोशिश संस्थाले घरेलु साना उद्योग संचालनका लागि सहयोग गरेएकाे छ ।
बिउ पुँजी सामग्री व्यक्तिको सिप पहिचान,आवश्यकता, इच्छाशक्ति, स्रोत नक्सांकन, बजार ब्यवस्थापनलगायतकाे सुनिश्चिततालागि स्याङ्वोलाई सहयोग हस्तान्तरण गरिएको काेशिश मकवानपुर पैरवी अधिकृत सुनिरा लामाले बताइन् । हेटौडा १३ नम्बर वडा सदस्य दावा लामाले स्याङबोलाई जिविकोपार्जनका लागि समाग्री प्रदान गरे ।
काशिशले उनलाई कपासको बत्ती बनाउनका लागि कपास र बाँस जस्ता सामन सहयोग गरिएको कोशिशको सामुदायिक अभियानकर्ता सीता घलानले जानकारी दिइन् । जिविकोपार्जनका लागि सामग्री उपलब्ध गराइ दिएकोमा कोशिश र पाल्मोसाथीसँगी समुहका सदस्यलाई स्याङ्वोले धन्यवाद दिदै कपासको बत्ती बनाएर आफू व्यस्त रहंदै आयआर्जन गर्न सहयोग पुग्ने विश्वास लिएको बताइन् । सहयाेग प्राप्त कामलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
‘मनोसामाजिक समस्या जसलाई पनि हुन सक्ने भएकोले यसलाई विकराल रुपमा लिन हुदैंन्’ कोशिशको महासचिब सीता ओझाले भनिन् ‘ म आफै मनोसामाजिक समस्या रहेको व्यक्ति भएकाेले औषधी सेवन हाम्रो लागि लठी मात्र हो, हामी आफैं मनबाट खुशी रहनु पर्छ ।’ ‘मनोसामाजिक समस्यामा जो कोहि पनि पर्नसक्छ, फरक यति हो कसैले खुलेर बताउनु हुन्छ’ उनले भनिन् ।
वडा सदस्य दावा लामाले हरेक व्यक्तिमा फरक-फरक सिप हुने भएकाेले सिपलाई प्राथमिकता दिनसक्दा धेरै प्रकारको समस्या समाधान हुने बताए । उद्यम गर्ने, व्यस्त रहने गर्नाले मानसिक स्वास्थ राम्रो हुने भएकोले सीप सिकेर दक्ष बन्न उनले आग्रह गरे । सीप सिक्न र बीउ पुँजीको सहयोगको लागि वडा कार्यालय सधै तयार रहेको उनले बताए । ‘आगामी दिनमा मनोसामाजिक विषयलाई प्रथामिकतामा राखि कार्यक्रम तथा योजना बनाई काम गर्नेछौं’ उनले भने ‘कोशिशसँग सहकार्य, समन्वय गर्न वडाले अभिभावकत्व ग्रहण गर्न तयार छ ।’
वडा सदस्य दावा लामा, कोशिश कार्यसमितिको महासचिब सीता ओझालगायत पाल्मो साथीसंगी समुहका सदस्य र कोशिश फिल्ड अफिसका कर्मचारीको उपस्थितिमा स्याङबोलाई सहयोग उपलब्ध गराईएको कोशिश मकवानपुरको पैरवी अधिकृत सुनीरा लामाले जानकारी दिइन् ।
मकवानपुर । मकवानपुरलाई काठमाडौं जोड्ने चित्लाङ–चन्द्रागिरि–थानकोट सडकखण्ड ७ पुसबाट १ महिना बन्द हुने भएको छ ।
उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्नु पर्ने भएकाले आइतबारबाट १ महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि उक्त सडक खण्ड ७ पुस आइतबारदेखि ६ माघ २०८१ सम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको छ । उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।
‘यस कार्यालयअन्तर्गत थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्मको सडकखण्ड ७ पुस देखि ६ माघसम्म पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न हुन जानकारी गराइन्छ’ सूचनामा उल्लेख छ ।
यसैगरी प्रदेश राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा ११ पुससम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
उक्त सडक अन्तर्गत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न लागिएकोले सवारी सञ्चालनमा रोक लगाइएको हाे । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।१३ मंसिरदेखि २९ मंसिरसम्म समेत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न भन्दै बन्द गरिएकाे थियाे । उक्त कार्य नसकिएकाे पुनः १० दिन उक्त मार्ग बन्द रहने भएकाे हाे ।
यससँगै हेटौंडा भएर काठमाडौं यात्रा गर्ने सवारीसाधनले बैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने भएकाे छ । हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग कान्ति लोकपथ भने संचालनमा रहेकाे छ । साना सवारी साधनबाट काठमाडौं आवतजावत गर्न कान्ति लाेकपथ उपयुक्त विकल्प रहेकाे छ ।