मकवानपुर । मकवानपुरलाई काठमाडौं जोड्ने चित्लाङ–चन्द्रागिरि–थानकोट सडकखण्ड ७ पुसबाट १ महिना बन्द हुने भएको छ ।
उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्नु पर्ने भएकाले आइतबारबाट १ महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि उक्त सडक खण्ड ७ पुस आइतबारदेखि ६ माघ २०८१ सम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको छ । उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।
‘यस कार्यालयअन्तर्गत थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्मको सडकखण्ड ७ पुस देखि ६ माघसम्म पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न हुन जानकारी गराइन्छ’ सूचनामा उल्लेख छ ।
यसैगरी प्रदेश राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा ११ पुससम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
उक्त सडक अन्तर्गत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न लागिएकोले सवारी सञ्चालनमा रोक लगाइएको हाे । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।१३ मंसिरदेखि २९ मंसिरसम्म समेत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न भन्दै बन्द गरिएकाे थियाे । उक्त कार्य नसकिएकाे पुनः १० दिन उक्त मार्ग बन्द रहने भएकाे हाे ।
यससँगै हेटौंडा भएर काठमाडौं यात्रा गर्ने सवारीसाधनले बैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने भएकाे छ । हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग कान्ति लोकपथ भने संचालनमा रहेकाे छ । साना सवारी साधनबाट काठमाडौं आवतजावत गर्न कान्ति लाेकपथ उपयुक्त विकल्प रहेकाे छ ।

