मकवानपुर । मकवानपुरकाे राक्सिराङ गाउँपालिकाकाे १७ औं गाउँसभाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बिहीबार गाउँपालिकाकाे १७ औं गाउँसभाले आव २०८१/०८२ काे संशोधित बजेट तथा कार्यक्रम स्वीकृत गरेकाे हाे ।
यसैगरी सभामा विनियोजन ऐन, २०८१ माथिको संशोधन सम्बन्धी विधेयक, २०८१ पेश हुँदा उक्त विधेयक समेत पारित भएकाे छ । गाउँसभाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन गरेको छ । यस्तै न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलाप कर्ताहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । गाउँसभाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा,खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित गरेको छ ।
७ नम्बर वडा चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
राक्सिराङ गाउँपालिकाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको गाउँपालिकाको १७ औँ गाउँसभाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
नेपालको संविधान (२०७२) को धारा ४२ ले अल्पसंख्यक सीमान्तकृत नागरिकको संरक्षण, उत्थान तथा सशक्तीकरण र विकासको व्यवस्था गरे अनुसार उक्त निर्णय गरिएको पालिकाकाे गाउँसभामा जानकारी गराइएकाे थियाे । सामाजिक सांस्कृतिक संरक्षण तथा आर्थिक विकासका विशेष संरक्षित क्षेत्र कायम गरिने व्यवस्था भएअनुसार वडा नम्बर–७ लाई चेपाङ संस्कृति वा पर्यटकीय क्षेत्र घोषण गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक मार्फत पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र नामकरण गर्ने निर्णय गरेको हाे । उक्त निर्णय कार्यान्वयनको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नै बजेट व्यवस्था गर्ने तयारी गरेको छ । गाउँसभाकाे बैठकमा कार्यपालिका सदस्य हबिल प्रजाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घाेषणासम्बन्धी प्रस्तावमा कार्यपालिका सदस्य रामबहादुर प्रजाले समर्थन जनाएका थिए । गाउँपालिका अध्यक्ष मल्लले उक्त प्रस्ताव सभामा निर्णायार्थ प्रस्तुत गरेकाेमा सर्वसम्मतले पारित भएकाे हाे ।
विपन्न चेपाङ समुदायकाे जिविकाेपार्जन कार्यक्रमअन्तर्गत संरक्षित क्षेत्रमा एक टाेल एक उत्पादन कार्यक्रम ल्याइने अध्यक्ष मल्लले बताए । साथै संरक्षित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले छुट्टै वार्षिक ५० लाख रुपैयाँ बजेट छुट्याउने पनि उनले बताए । धादिङ र चितवनको सिमानामा रहेको वडा नं ७ मा राक्सिराङ्गको पनि विकट भूभागहरु जिराङ्ग, दाम्राङ्ग, गलिङ्ग, जुरेथुम, चरीमारा, रिङचाराङ्ग लगायतका गाउँ पर्छन् । वडा अध्यक्ष राम बहादुरका अनुसार वडा -७ मा हालसम्म गाउँपालिकाको सडक सञ्जाल जोडिएको छैन । चितवनको भण्डारा वा लोथरबाट जानुपर्ने बाध्यता छ ।
विपन्न चेपाङ जातिकाे उत्थानका लागि विभिन्न तहका सरकारले कार्यक्रमहरु घाेषणा गरे पनि त्याे प्रभावकारी नभएकाले स्थानीय तह आफैँ जागरुक भएर विशेष क्षेत्र घाेषणा गरिएकाे अध्यक्ष मल्लकाे भनाइ छ ।
संविधानको अनसुची (८) र अनुसुची (९) बमोजिमको सुचीमा भाषा संस्कृति र ललितकलाको संरक्षरण र विकास गर्ने कानुन स्थानीय तहले बनाउन सक्ने अधिकार दिएकाे छ भने स्थानीय सरकार सञ्चालन ऐनमा पनि गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका कुनै स्थानलाई संरक्षित क्षेत्र घोषणा गर्न सक्ने उल्लेख रहेकाे छ ।
यस्तै संविधानकाे मौलिक हक अन्तर्गत प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषाको प्रयोग सांस्कृतिक जीवनमा सहभागिता हुने एवम् भाषा लिपी सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र समाधान गर्ने हक हुनेछ भनी उल्लेख गरेकाे छ । राष्ट्रिय जनगणना २०७८ अनुसार राक्सिराङ्ग–७ को जनसंख्या ३ हजार २ सय ८८ छ ।
गाँजा खेती वैध गर्नुपर्छः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गाँजा खेतीलाई वैध गर्नुपर्ने बताएका छन् । राक्सिराङ गाउँपालिकाकाे १७ औं गाउँसभालाई सम्बाधोन गर्दै उनले भने ‘संघीय सरकारले कानून निर्माण गरेर गाँजा खेती गर्ने वातावरण तयार गर्नुपर्छ ।’
‘अभावका कारण मकवानपुरकाे राक्सिराङ, कैलाशका नागरिकले गाँजाकाे विकल्प पाउन नसक्दा अनाहकमा जेल जान बाध्य हुनु परेको छ’ मुख्यमन्त्री लामाले भने ‘नागरिकको आवश्यकता अनुसारको विकास र गुणस्तरीय सेवा सहज रुपमा प्रदान गर्नु वर्तमान सरकारको दायित्व हाे ।’
आन्तरिक समस्या र कानुनी अड्चन सुल्झ्याएर नागरिकको आवश्यकता अनुसारको विकासका काम गर्नुपर्ने उनले बताए । ‘विकट क्षेत्रका नगरिकलाई विकासमा जोड्ने गरी र सिमान्तकृत वर्गको नागरिकको जिवनस्तर सुधारका लागि सरकारले रणनीतिक योजना कार्यान्वयन गर्नेछ’ उनले भने । ‘चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयनको चरणमा सरकार रहेको उनले बताए । ‘आर्थिक उपार्जनमा नागरिकलाई जोड्न विशेष पकेट क्षेत्र मार्फत काम गर्नेपर्छ’ उनले भने ।
यसैगरी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निर्वाचन पछि राजनीतिक विचारभन्दा माथि रहेर काम गर्नुपर्ने बताए । उनले स्थानीय तहले नाकावन्दी लगाउँँदा जनताका विषयमा जनप्रतिनिधिसँग जोडिन सक्ने अवस्था नरहेको आरोप समेत लगाए ।
‘स्थानीय तहका प्रमुख/उपप्रमुखले संघ तथा प्रदेश सांसदसँग समन्वय गरेर अघि बढ्नु पर्छ’ उनले भने । ‘स्थानीय तहका प्रमुख/उपप्रमुखले नै सांसदहरुसँग विकास माग्ने गरेका छन्’ बर्तौलाले भने सांसदहरुसँग नीति, नियम तथा कानून विषयमा प्रश्न गर्नुपर्छ ।’ सांसदहरुसँग विकासका आयोजना आम नागरिकले माग्नुपर्ने उनले बताए । नागरिकहरुमा सहज सेवा प्रदान गर्नेगरी सरकारले काम गरिरहेको उनले बताए । ‘विकट राक्सिराङ, कैलाश गाउँपालिकाको विकासका लागि त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग जोड्ने गरी सडक पूर्वाधार निर्माण गर्नुपर्छ’ उनले भने ।
चितवन । तनहुँ,चितवन र नवलपरासी(नवलपुर) काे संगमस्थल प्रसिद्ध धार्मिकस्थल देवघाटधाम २२औं शृङ्खलामा निरन्तर ‘मकर-काव्य-यामिनी’ हुनेछ ।
देवघाट क्षेत्रकाे तनहुँ जिल्लामा अवस्थित ‘महेश-संस्कृत-गुरुकुलम्’को आयोजनामा २९ पुस २०८१ काे साँझ ‘मकर-काव्य-यामिनी’को २२औँ शृङ्खला आयोजना हुने भएको हाे । मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर-काव्य-यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ ।
राष्ट्रकवि तथा विभिन्न राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पुस महिनाको अन्तिम साँझबाट माघको बिहानसम्म सञ्चालन हुने गर्दछ । महेश संन्यास आश्रमका संस्थापक ब्रह्मलीन स्वामी रामानन्द गिरिजी महाराजको सत्प्रेरणामा कविवर गोविन्दराज विनोदी, महेश गुरुकुलका आचार्य डा.गुरुप्रसाद सुवेदी, बुद्धिनाथ अधिकारी र छात्रहरुको सक्रियतामा २०६० सालबाट प्रारम्भ भएर निरन्तर सञ्चालन हुँदै आएको मकर-काव्य-यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो ।
दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको मकर काव्य यामिनीको २२औँ श्रृङ्खला लेखनाथ साहित्य प्रतिष्ठानको विशेष उपस्थिति र आतिथ्यमा सञ्चालन हुनेछ । तनहुँ, चितवन, मकवानपुर, कास्की, नवलपरासी र उपत्यकाका काव्यसाधकको उल्लेख्य उपस्थिति रहने बताइएकाे छ । यामिनीकाे आकर्षणका रुपमा गुरुकुलका नव प्रतिभाहरु रहनेछन् ।
यामिनीले मध्य नेपालको साहित्यिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । यामिनीले जन्माएका कुशल स्रस्टा र साहित्यिक कार्यक्रमहरुले राष्ट्रियस्तरमा समेत महत्त्व राख्ने गर्दछन् । माघ १ गते देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेलामा तीर्थस्नान गर्नुपूर्व अघिल्लो रात काव्य रसपान गर्न पाउनुलाई सुअवसरका रुपमा लिने गरिएको छ । देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिका रूपमा परिचित गराउन मकर-काव्य-यामिनी सफल भएको छ ।
विगतका वर्षहरुमा जस्तै सम्पूर्ण काव्यप्रेमी साहित्यानुरागी स्रष्टा तथा दर्शक श्रोताहरूलाई यामिनीमा सादर निमन्त्रणा गरिएको छ । सबै अतिथिहरूलाई खाने र बस्ने व्यवस्था आयोजकले नै गर्नेछ ।
भावको स्निग्ध धागोमा शब्दका फूल गाँस्दछिन् ।
कविका मनमा रम्दै यामिनी मस्त हाँस्दछिन् ।।
शब्दउद्यानका माली! अलङ्कारसुवासिनी ।
काव्यका पारखी ! ‘आऊ’ भन्दछिन् काव्य-यामिनी ।।
कार्यक्रममा विशिष्ट स्रष्टा एवं साहित्यानुरागी स्रोताहरूलाई कविता मार्फत यामिनीमा यसरी सादर निमन्त्रणा गरिएको छ ।
“सतत झुमिरहेझैँ मोह मायाविनीमा,
अनवरत डुबेझैँ भाव-मन्दाकिनीमा |
हृदयरस पगाल्ने भावकी मोहिनीमा,
सहृदयसँग मिल्दै पाल्नुहोस् यामिनीमा ॥“
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ। बुधबार वडालाई निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त बालमैत्स्थारी स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो।
वडाध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएकाे कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले वडालाई बालमैत्री घोषणा गरेकी हुन् । बालमैत्री वडा घोषणाका लागि तोकिएका ५१ सूचकमध्ये ४५ वटामा शतप्रतिशत, २ वटामा ९८ प्रतिशत, एउटामा ९६ र अर्को एउटामा ९५ प्रतिशत नतिजा प्राप्त भएको छ।
बाँकी २ सूचकमा ८१ प्रतिशत उपलब्धि हासिल भएको छ। बालमैत्री घोषणाका लागि न्यूनतम ८० प्रतिशत आधारविन्दु पार गर्नुपर्ने प्रावधान रहेको छ । वडामा ८ हजार ८ सय ४२ जनसंख्या रहेकोमा २ हजार ५ सय ७४ जना बालबालिका रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणाका लागि ५ भदौ २०७९ मा प्रतिवद्धता गरी सुरु गरिएकाे अभियानकाे १३ नम्बर वडाले २५ मंसिर २०७९ मा सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी अभियानलाई निरन्तरता दिएकाे थियाे । घोषणा कार्यक्रम अघि बालबालिकाको सहभागितामा झाँकीसहित पदमपोखरी बजार परिक्रमा गरिएको थियो।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । हेटौंडा १३ नम्बर वडा बालमैत्री शासनयुक्त घोषणा गर्न तयारी पूरा भएकोले घोषणा गर्न लागिएको सोमबार पत्रका सम्मेलन मार्फत जानकारी दिइएको हो ।
वडालाई २४ पुसमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको पत्रकार सम्मेलनमा वडाध्यक्ष पेम्बा लामाले जानकारी दिए । बालमैत्री स्थानीय शासनका लागि तोकिएका ५१ वटा सूचकमध्ये ४५ वटा सूचकमा शत प्रतिशत नतिजा हासिल गरेको वडाध्यक्ष लामाले बताए । अन्य २ वटा सूचकमा ९८ प्रतिशत, एकमा ९६ र अर्को एकमा ९५ प्रतिशत नतिजा प्राप्त भएको लामाले बताए ।
यस्तै अरु २ वटा सूचकमा भने ८१ प्रतिशत मात्रै उपलब्धी हासिल भएको बताइएको छ । ती २ वटा सुचक बालमैत्री घोषणाको लागि न्युनतम ८० प्रतिशत आधारविन्दु रहेको छ । २४ पुस प्रभातफेरीसहित एक कार्यक्रममा बीच बालमैत्री वडा घोषणा हुनेछ । हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणाका लागि २०७९ भदौ ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर सुरुवात गतेको थियो ।
१३ नम्बर वडाले २०७९ मंसिर २५ गते सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी अभियानलाई निरन्तरता दिएकाे थियाे । वडामा ८ हजार ८ सय ४२ जनसंख्या रहेकोमा २ हजार ५ सय ७४ जना बालबालिका रहेका छन् ।
मकवानपुर । अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसले संगठन विस्तार को अभियान सुरु गरेको छ । अनेरास्ववियु केन्द्रीय सदस्य आकाश अधिकारीको प्रमुख आतिथ्यतामा अभियान सुरुवात गरिएकाे हो ।
संगठन विस्तार संगठनको नियमित काम रहेको र क्यम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई संगठनमा संगठित गराउने नियमित प्रक्रिया रहेको क्यम्पस कमिटी अध्यक्ष प्रसिद्ध रेग्मीले बताए । यस्तै विद्यार्थीहरुलाई संगठित गर्ने मात्रै हैन हरेक विद्यार्थीहरुका गुनासो समस्याहरुकाे समाधानको पहलकदमी पनि लिन समेत संगठन विस्तारको अभियानमा केन्द्रित हुनु पर्ने कुरा केन्द्रीय सदस्य आकाश अधिकारीले बताए।
कार्यक्रममा अनेरास्ववियुले आफूलाई विद्यार्थीको हरेक गतिविधिमा क्रियाशील बनाउने र जिल्ला भरि नै संगठन विस्तारको अभियान सञ्चालन गर्ने अनेरास्ववियु उपाध्यक्ष नवराज शर्माले जानकारी दिए । कार्यक्रममा महिला विद्यार्थीहरुले महिलाहरुको समस्या लक्षित कार्यक्रम राख्नु पर्ने सुझाव आएको अनेरास्ववियु सहसचिव तथा महिला विभाग प्रमुख जस्प्रिता अधिकारीले बताइन् ।
आइतबार ३ वटा कमिटी निर्माण भएको अनेरास्ववियुका नेता निर्दोष लुइँटेलले बताए । कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष लगायत पधाधिकारीहरुको सहभागिता रहेको थियाे ।