मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ। बुधबार वडालाई निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त बालमैत्स्थारी स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो।
वडाध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएकाे कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले वडालाई बालमैत्री घोषणा गरेकी हुन् । बालमैत्री वडा घोषणाका लागि तोकिएका ५१ सूचकमध्ये ४५ वटामा शतप्रतिशत, २ वटामा ९८ प्रतिशत, एउटामा ९६ र अर्को एउटामा ९५ प्रतिशत नतिजा प्राप्त भएको छ।
बाँकी २ सूचकमा ८१ प्रतिशत उपलब्धि हासिल भएको छ। बालमैत्री घोषणाका लागि न्यूनतम ८० प्रतिशत आधारविन्दु पार गर्नुपर्ने प्रावधान रहेको छ । वडामा ८ हजार ८ सय ४२ जनसंख्या रहेकोमा २ हजार ५ सय ७४ जना बालबालिका रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणाका लागि ५ भदौ २०७९ मा प्रतिवद्धता गरी सुरु गरिएकाे अभियानकाे १३ नम्बर वडाले २५ मंसिर २०७९ मा सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी अभियानलाई निरन्तरता दिएकाे थियाे । घोषणा कार्यक्रम अघि बालबालिकाको सहभागितामा झाँकीसहित पदमपोखरी बजार परिक्रमा गरिएको थियो।

