मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाकाे राक्सिराङ गाउँपालिकाबाट २१२ केजी गाँजासहित बाेलेराे गाडी नियन्त्रणमा लिएको छ । राक्सिराङ ५ चैनपुरमा प्रहरीले उक्त परिमाणको गाँजासहित बोलेराे नियन्त्रणमा लिएको हो ।
कैलाश गाउँपालिका तर्फबाट मनहरी बजारतर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो गाडीका चालकले प्रहरीलाई देख्नासाथ गाडीमा सवार १ जना व्यक्तीसहित गाडी सडकमा छोडी भागेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उक्त गाडीको पछाडी ढालाको भागमा लुकाइ ल्याइएको अवस्थामा २१२ केजी गाँजा बरामद गरिएकाे हाे ।
बरामद गरिएकाे गाँजा र गाडी नियन्त्रणमा लिई फरार रहेका व्यक्तीहरुकाे खोजतलास तथा आवश्यक अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य राम कुमारी झाँक्रीले निष्ठाको राजनीति गर्ने र पार्टीमा लागेर दुख गर्नेहरु पाखा लाग्दै गएको बताएकी छिन् । आइतबार पार्टी मकवानपुरको तेस्राे विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
पूर्व शहरी विकास मन्त्री समेत रहेकी झाँक्रीले राजनीति खुला रुपमा प्रवेश गरेर अघि बस्ने स्थल भएको बताइन् । ‘छिपछिपे पानीमा अवसर लिने बढी भए तर दुख गर्नेहरु किनार लागे’ उनले भनिन् । अवसर लिनेहरुले जनअपेक्षा अनुरुप काम नगरेको उनले बताइन् । ‘हामी उभिएकाे ठाउँमा हामीले गरेकाे विद्राेह ठिक थियाे तर विपक्षीलाई हामीले पार्टी विखण्डन गरेको लाग्नु ठिक लाग्न सक्छ’ उनले भनिन् ।
राजनीतिमा निराशाबाट बाहिर निस्कने रणनीति बनाउनु पर्ने झाँक्रीले बताइन् । ‘निराशा व्यक्तिकाे नीजि उत्पादन हैन, याे समाजकाे पुनर्उत्पादन भएकाेले हामी सबैलाई प्रभाव पारेकाे हुन्छ, हामी भयङ्कर निराशामा छाेेै भने अन्य दल भयङ्कर खुसी छन त? यस्काे तुलना गरेर हेराै’ उनले भनिन् । सबै दलकाे उस्तै समस्या छ, सबैभन्दा पुरानाे दल र सबैभन्दा नयाँ दलमा आन्तरिक र बाह्य रुपमा निराशा प्रष्ट देखिएको बताउदै उनले भनिन् ‘अन्य पार्टीहरुकाे संघर्ष पनि उस्तै छ ।’
राजनीतिक क्षेत्र सामुहिक काम र समाजकाे हिस्सेदारी भएर काम गर्ने स्थान भएर पनि सार्वजनिक पदधारणलाई पनि निजि सम्झने गरिएको उनको भनाइ थियो । ‘साढे तीन वर्षमा पार्टीका अध्यक्ष र सचिवालय वरपरका मान्छेले कति सार्वजनिक काम गरे त? सचिवालय भन्दा वाहेकलाई अवसर प्रदान नै गरेनन्’ उनले भनिन् । ‘पार्टीकाे काम र मन्त्री पद नीजि हैन, याे सामुहिक काम हाे उनले भनिन् ‘आज सामुहिकता मरेकाे छ विचारकाे राजनीति मरेकाे छ, कार्यशैली र व्यवहार नफेरेसम्म याे पार्टीभित्रकाे निराशा समापन हुन्न ।’
पार्टी छाेडेर जानेलाई गालि गर्नु भन्दा पार्टी चलाउने पद्दतीमा सुधार गर्नु पर्ने उनले बताइन् । ‘सल्लाहकार पदमा बसेका नेताहरुलाई पद चाहिन्छ तर जाे लडेर भिडेर उठेर हिड्छ उ पछाडि पर्छ ‘ उनले भनिन् ‘प्रतिष्पर्धामा भाग नलिनेलाई नै पद चाहिन्छ, याे प्रक्रिया न्यायिक छैन, हरेक मान्छेले सापेक्ष सत्यकाे नजिक भएर कुरा गर्नु पर्छ ।’
हामीले हाम्राे कार्यशैलीकाे, कार्यक्रमकाे, व्यवहारकाे र व्यक्तिकाे समीक्षा गर्ने आधार तय गर्दा मात्र संगठन बलियाे हुने उनले बताइन् । ‘पार्टीकाे एजेन्डा वस्तुगत हुनुपर्छ, आज समाज व्यवस्था भित्र जसकाे जाेर उसकाे बाेल भईरहेकाे छ’ उनले भनिन् ‘भूमिहिन, महिला, छुवाछुतकाे नारा पुरानो भए विकाउ नाराका साथ अब नयाँ ऐजेन्डा हुनुपर्छ ।’
बैठकमा जिल्ला कमिटीमा सदस्यहरु मनाेनित, सपथ ग्रहण, सचिवालय गठन, आगामी कार्ययाेजना बनाउने, सदस्यता नविकरण, वडा तहसम्मकाे कमिटी गठन तथा पुनर्गठन गर्ने, जनसंगठनहरुकाे पुनर्गठन गर्ने, विभागहरुमा जिम्मेवारी वाँडफाँड गर्ने, जेष्ठ कम्युनिष्ट मन्जकाे संयाेजक ताेक्ने लगायतका एजेन्डामा छलफल भएकाे थियो ।
बैठकले एवी थापा, आरके शर्मा, कमल लामा, जुना रुम्वा, मणि बाकल, रघुप्रसाद आचार्य, अमृत कठायत, कर्ण बहादुर प्रजा, धनराज महर्जन, प्रेम गुरुङ, भिम बहादुर मुक्तान, मनाेज सुवेदी, राजन दहाल, शिव प्रसाद चाैलागाई, सन्च माया पाख्रिन, किशाेर व्लाेन, प्रिति माया माेक्तान, विष्णु थिङ, लक्ष्मण गाैतम, मुकुन्द रेग्मी, एसपी पाेैडेल, कृष्ण उप्रेती, संगिता पाेखरेल, गाेरखानाथ राय लगायत सदस्यमा मनोनीत गरेको छ ।
यसै गरि सल्लाहकार परिषदमा अध्यक्षमा बैकुण्ठ सापकाेटा र सचिवमा नारायण अधिकारी, जेष्ठ कम्युनिष्ठ कमिटि संयाेजकमा बलराम थापा, उपाध्यक्ष कर्ण वहादुर पाख्रिनलाई मनोनित भएका छन् । कार्यक्रममा जिल्ला इन्चार्ज मुनु सिग्देलले मनाेनित सदस्यहरुलाई सपथ ग्रहण गराएकी थिइन् ।
पार्टी जिल्ला अध्यक्ष विष्णु दहालकाे सभाध्यक्षता तथा पार्टीका स्थायी कमिटि सदस्य झाँक्रीकाे प्रमुख आतिथ्यतामा भएको जिल्लाकाे तेस्राे विस्तारित बैठकमा पाेलिटव्युराे सदस्य तथा जिल्ला इन्चार्ज सिग्देल, केन्द्रीय सदस्य रामचन्द्र बल, जिल्ला सचिव ध्रुव भुजेल, गाेरखा जिल्ला इन्चार्ज रेखा लाेप्चन तामाङ लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमफेदी ३ ईचुङ बस्ने ५३ वर्षीय चमेली माया पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चमेली माया शनिबार बेलुका घरबाट ५ सय मिटर दक्षिणमा रहेको घट्टेखोलाको भीरमा घाँस काट्न गएकोमा २ सय मिटर तल खसी मुत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भैंसेबाट प्रहरी वरिष्ठ हबल्दार सुयन कुमार यादव र इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक ललिता ढकाल सहितको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरेको छ । मृतकको शव पाेष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन गढी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाकाे अधिवेशन भएकाे छ । गढी गाउँपालिकाको तेस्रो अधिवेशनले राजुप्रसाद गौतमकाे नेतृत्वमा कार्यसमिति निर्माण गरेको छ। शनिबार भएकाे अधिवेशनले गौतमलाई अध्यक्षमा समिति चयन गरेकाे हाे ।
संगठनकाे गढी गाउँपालिका उपाध्यक्षमा सुमिता घिमिरे र रामचन्द्र न्यौपाने, सचिवमा जयराम न्यौपाने, कोषाध्यक्षमा विष्णुमाया नगरकोटी, सहसचिवमा शारदा दुलाल, सहकोषाध्यक्षमा शान्तिमाया स्याङ्गबाे, चयन भएका छन् । यसैगरी सदस्यहरूमा हिरामाया स्याङ्तान, नवीन भुजेल, शकुन्तला गिरी, साधुराम पुडासैनी, रजनी दुलाल, सानु तितुङ, कविता दाहाल, ममता अधिकारी, सुभद्रा भट्ट, भुवन थिङ, राकेशकुमार दवे चयन भएका छन् ।
यस्तै संगठनकाे गढी गाउँपालिकाका सवै वडाहरुकाे वडा अध्यक्ष समेत चयन भएका छन् । वडाध्यक्षहरुमा क्रमशः आइपी दाहाल, मिधिलेशकुमार कुशवाह, मनमोहन देवकोटा, कल्पनाकुमारी गौतम, मनिषा तिमल्सिना, इन्द्रजित देवकोटा, दुधराज न्यासुर र पुन्डरी शर्मा चयन भएका छन् ।
यसैगरी शनिबार नै भएकाे इन्द्रसरोवर गाउँपालिकाकाे तेस्रो अधिवेशनले गोपु विशङ्खुकाे अध्यक्षमा गाउँ कमिटि गठन गरेकाे छ । संगठन गाउँ कमिटि उपाध्यक्षमा सरस्वती थापा मगर र भीमबहादुर स्याङ्गतान, सचिवमा धर्मराज बल, कोषाध्यक्षमा सुदिप थापा मगर, सहसचिवमा विरोसमाया थिङ्ग, सहकोषाध्यक्षमा अस्मिता चौलागाईं चयन भएका छन् ।
गढी गाउँपालिकाकाे अधिवेशन अध्यक्ष टङ्कप्रसाद चौलागाईंको सभाध्यक्षता, जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा नेकपा एमालेको बागमती प्रदेश समिति सदस्य बद्री लम्साल,नेकपा एमाले जिल्ला सचिवालय सदस्य विदुर हुमागाई, संगठन बागमती प्रदेश सदस्य बालकुमार श्रेष्ठलगायतकाे विशेष आतिथ्यता रहेकाे थियाे ।
यसैगरी अधिवेशनमा संगठन जिल्ला उपाध्यक्ष कृष्ण पौडेल,पेशागत महासंघ बागमती प्रदेशका उपाध्यक्ष सीताराम दाहाल, नेकपा एमाले गढी गाउँपालिका अध्यक्ष जितबहादुर घिमिरे, बुद्धिजीवी परिषद् बागमती प्रदेश सदस्य मोहनप्रसाद न्यौपाने, सचिवालय सदस्य डीबी बर्तौला, शिक्षक महासंघ जिल्ला सहसचिव केदारप्रसाद तिमल्सिना, जिल्ला सदस्यहरु इन्द्र कार्की, सबिता तिमल्सिना लगायतकाकाे उपस्थिति रहेको थियो।
यस्तै इन्द्रसरोवर गाउँपालिकाकाे अधिवेशन संगंठन इन्द्रसरोवर कार्यवाहक अध्यक्ष संरचना शर्माको सभाध्यक्ष तथा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा भएकाे हाे । संगठन इन्द्रसरोवरका उत्प्रेरक तथा शिक्षक बचत हित तथा ऋण सहकारीका अध्यक्ष शिवप्रसाद लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि तथा पूर्व कोषाध्यक्ष जयप्रसाद पोखरेललगायतको विशिष्ट आतिथ्यतामा अधिवेशन भएकाे हाे ।
मकवानपुर । यातायात व्यवासायी उपभोक्ता सहकारी संस्थाले व्यवसाय बृद्धि गर्न बैकल्पिक व्यवस्था गर्ने भएकाे छ । सहकारीकाे शनिबार हेटौंडामा भएको १६ औं वार्षिक साधारणसभाले व्यवसाय बृद्धि गर्न बैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हाे ।
साधारणसभा उद्घाटन गर्दै नारायणी यातायात व्यवसायी संघ तथा नेपाल ट्रक ब्यवसायी महासंघका अध्यक्ष हीरालाल श्रेष्ठले २०७५ पछिका दिनमा नेपालमा सबैखाले व्यवसायमा समस्या आएको बताउँदै सहकारीले मोटर पार्टस्, लुब्रिकेन्ट्स, टायर आदिको बजारमूल्य नियन्त्रण गर्न महत्वपूर्ण योगदान गरिरहेको दाबी गरे । सहकारीले सरल मूल्यमा पार्टस् तथा टायर सवारीधनी उपभोक्तालाई उपलब्ध गराएकै कारण बजारमूल्य नियन्त्रणमा रहेको भन्दै सहकारीका सल्लाहकार समेत रहेका श्रेष्ठले यातायात ब्यवसायी बचाउन पनि सहकारी सक्षम हुनुपर्ने बताए ।
सहकारीका अध्यक्ष किरण पौडेलले २०६ जना सेयर सदस्य मिलेर १६ वर्षअघि स्थापना गरेको सहकारीमा पछिल्ला वर्ष सदस्य छोड्ने प्रबृत्ति बढ्दै गएर हाल एक सय १५९ मात्रै कायम भएकाे बताए । यातायात व्यवसायीले आफ्नो सवारी साधनमा गुणस्तरीय पेट्रोलियम, टायर, लुब्रिकेन्टस् र स्पेयर पार्टस् प्रयोग गर्ने वातावरण सहकारीले उपलब्ध गराएको स्पष्ट पार्दै अध्यक्ष पौडेलले सहकारीका ५० भन्दा बढी सेयर सदस्यले ९५ लाख रुपैयाँ भन्दा बढी रकम लामो समयदेखि उधारो नतिरेका कारण चालुपूँजी नै अभाव भएको बताए ।
सहकारीका पूर्वअध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले यातायात व्यवसाय नै संकटमा परिरहेको अवस्थामा सहकारी संस्थामा समस्या आउनु सामान्य मान्दै संघसँग सहकार्य गरी आगामी दिनमा प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा सेयरसदस्य बद्रीप्रसाद चौलागाई, सहकारीका कोषाध्यक्ष कुमार बर्तौलाले सहकारीले सोचेअनुरुप लगानीको प्रतिफल प्रदान गर्न नसकेको गुनासो गरेका थिए ।
गत आर्थिक वर्षमा सहकारीले गोसाईकुण्ड आयल सेन्टरतर्फ २३ करोड ४४ लाख ८५ हजारको कारोबार गरी एक लाख ३८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यस्तै सहकारीले संचालन गरेको मोटरपार्टसबाट ३ करोड १८ लाख ९४ हजार रुपैयाँको कारोबार गरी ६ लाख ३५ हजार रुपैयाँ मुनाफा गरेको प्रतिबेदनमा छ । सहकारीमा हाल १० जना कर्मचारी रहेका छन् ।
सहकारीले मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रमोदसिंह रानाभाट र सचिव कुलप्रसाद चौलागाईंलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेको थियो । साधारण सभामा सहकारीका सल्लाहकार सरोजकुमार खनाल, अर्जुन शर्मा कडेंल, नारायणी पेट्रोलियम बिक्रेता संघका अध्यक्ष उत्सव ईटेनी, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलगायतको उपस्थिति रहेको थियो ।