मकवानपुर । मकवानपुरको बागमतीमा ३ फागुनबाट सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएकाे छ । गाउँपालिकाको आफ्नै रंगशालामा प्रतियोगिता हुने छ ।
गत वर्षकाे छैठौं संस्करणको प्रतियोगिता फापरबारीस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा भएको थियो । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पालिकाकाे खेलकुद विकास समिति अध्यक्ष रहर सिंह थिङले गाउँपालिकाको मुख्य सहयोगमा हुने प्रतियोगिताकाे उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गर्ने जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका र बागमती युथ क्लब सर्लाहीको टिमबीच प्रतिस्पर्धा हुने थिङले बताए ।प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहने उनले जानकारी दिए ।
आयोजकका अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलकाे म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले यस वर्षबाट पालिकाले आफ्नै खेलमैदानलाई व्यवस्थित गरेर प्रतियोगिताको आयोजना गरिने बताए । पालिकाले सबै विधाका खेलको संरचना निर्माण गर्नका लागि श्रमदानका लागि पहल गरिएको उनले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न गाउँपालिकाबाट २५ लाख रुपैयाँ सहयोग रहने बताइएकाे छ । करिव ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि मकवानपुरका १० वटै पालिका, सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँग सहयोगका लागि पहल गरिएको अध्यक्ष थिङले जनाकारी दिए ।
छैटौं संस्करणकाे उपाधी काठमाडौंको मछिन्द्र क्लबले हात पारेकाे थियो भने सशस्त्र प्रहरी बलको एपीएफले उपविजेतामा चित्त बुझाएकाे थियो ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले भ्रष्टाचार जघन्य अपराध भएकाे यसकाे निन्दा गर्ने शब्दै नभएकाे बताउनु भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं बार्षिकोत्सवको अवसरमा हेटौंडामा सोमबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।
‘आफूले प्राप्त गरेकेा अख्तियारीलाई दुरूपयोग गरी देश, जनता र शुसासनको विरूद्व नैतिकता र कानून विपरित जाने जोकोहिलाई सुक्ष्म अनुसन्धान र निष्पक्ष कारवाही प्रकृयामा अघि बढाउनुपर्दछ’ प्रदेश प्रमुख देवकाेटाले भन्नुभयो । ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई साना–साना भ्रष्टाचारका मुद्दामा हात हालेर संख्यात्मक विवरण पेश गर्ने तर ठुला र संस्थागत भ्रष्टाचारमा हात हाल्न हिचकिचाउने भन्ने आरोपहरु पनि लाग्ने गरेकाे छ’ उहाँले भन्नुभयो ‘लागेका आरोपलाई गलत सावित गराउन साना/ठुला सवै प्रकारका भ्रष्टाचारलाई अनुसन्धानकाे दायरमा ल्याई कारवाही प्रक्रिया अगाडि बढाउन सक्नु पर्छ।’
आयोगले जनताको निराशा चिर्दै भ्रष्टाचारको बिरुद्ध खरो उत्रिएर जनताको बिश्वास जित्न सक्नुपर्ने उहाँले बताए ।बेईमानीका बिरुद्ध कदमचाल्ने कुरामा खुट्टा नकमाउन समेत उहाँले आग्रह गर्नु भएकाे छ । ‘चुनौतीहरु हुन्छ न्नै तर, खास सफलता चुनौती चिर्दै अघि बढ्नुमा नै हुन्छ’ उहाँले भन्नुभयो ‘प्रगती झिनो देखिएला, यो कुरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गम्भिर हुनुपर्ने देखिन्छ।’ सकारात्मक र महसुश गर्न सकिने परिणामजन्य कार्यको लागl हामी परिवर्तन रहेकाे उहाँले बताउनु भयो ।
‘अहिलेको युवाजगतको मुख्य निराशा भनेको कार्यसम्पादनमा देखिएको शुस्तता हो।यसले परिणाममुखी सोचराख्ने सवैलाई निराश बनाउँदछ । द्रुतरुपमा परिवर्तनकारी देशहरुको तुलनामा हाम्रा कदमहरु ढिला सुस्ती भएका हुन की ? हामिले गम्भीर भएर सोच्नु पर्दछ’ उहाँले भन्नुभयो ।भ्रष्टाचार बिरुद्धको कारवाहीको बिकल्प नभएकाे बताउनु हुँदै उहाँले भन्नुभयो ‘भ्रष्टाचारीले कुनैपनि हालतमा मुक्ती पाउन हुदैंन साथै भ्रष्टाचार हुन नदिन ईमान्दारीता, पारदर्शिता र शुसासनका बिषय वस्तु विद्यालय र कलेजका पाठ्यक्रमा समावेश गरिनु पर्दछ।’
‘अख्तियारी वा निर्णय गर्ने हैसियतका सम्पूर्ण व्यक्तीहरुलाई नियमितरुपमा सम्भावित भ्रष्टाचार रोक्न परामर्स अर्थात काउन्सीलीङ कक्षाहरु संचालन गरिनु पर्दछ’ उहाँले भन्नुभयो । भकुण्डोलाई एकपटक हावा भरेर संधैलाई नपुगेजस्तै मानीसलाई निरन्तर परामर्श र उतप्रेरणाको जरुरी पर्ने उहाँले बताउनु भयो । समृध्द नेपालको परिकल्पनामा भ्रष्टाचार एकघातक रोग सरह रहेकाले लिगेसी कायम हुने गरेर काम गर्न समेत उहाँले अनुरोध गर्न भयो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्ट्राचार देश विकास र समृद्धिको वाधक भएको बताउनु भयो । भ्रष्ट्राचारका कारण नागरिकको मौलिक हक उपभोगमा समेत बाधा पु¥याउछ उहाँले भन्नुभयो ‘पछिल्लो समय देशमा नीतिगत भ्रष्ट्राचार र कामचोरी बढेको छ ।’ भ्रष्ट्राचारको अंक दिनप्रतिदिन बढिरहेकोले यसको अन्त्य गर्ने जिम्मेवारी सम्पूर्ण नागरिक समाज, निजी क्षेत्रको समेत भएको उहाँले बताए ।
प्रदेश सरकार सुशासन पारदर्शीता कायम गर्न प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । मन्त्री लामिछानेले प्रदेश सरकार न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारका लागि अघि बढिरहेको बताउनुभयो । नीति निर्माण, बजेट व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शीता र निष्पक्षता कायम गर्न सरकार जिम्मेवार ढंगबाट अघि बढेको उहाँले बताउनुभयो ।
बागमती प्रमुख सचिव महादेव पन्तले सर्वसाधारणको हित नै मुलुकको प्रमुख जिम्मेवारी भएकाे बताउनु भयो । नेपालको संविधानले नागरिक हकको संरक्षण गरेको बताउदै अख्तियार अनुसन्धान आयोग सहयोगी अंगको रुपमा संवैधानिक अंगकाे रुपमा रहेकाे उहाँले बताउनु भयो । अख्तियारले गरेको काम उल्लेखनिय रहेकाे बताउँदै उहाँले भन्नुभयो ‘भ्रष्टाचार सामाजिक रोग भएकाेले सार्वजनिक क्षेत्रलाई कर्तव्य निष्ठ बनाउन आयोगको अग्रेणी तथा बिशेष भूमिका छ ।’
मकवानपुर । मकवानपुरकाे भीमफेदीमा ग्यास बुलेट दुर्घटना भएको छ । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका–१, रातोमाटेमा उक्त बुलेट दुर्घटना भएकाे हाे ।
दुर्घटनाका कारण उक्त सडक खण्डमा एकतर्फी मात्रै बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ । हेटौंडा बजारबाट भैंसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको भारतीय ग्यास लोड बुलेट आइतबार राती दुर्घटना भएको हो ।
बुलेट पल्टिएकाे स्थानमा भित्तातर्फ खोलेर अस्थायी रुपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार बुलेट चालक र सहचालक दुबैजना सकुशल छन् भने बुलेट उठाउन केही समय लाग्ने भएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले ८० प्रतिशत जमिन उपयाेग गर्न सके आयात नियन्त्रण हुने बताएका छन् । प्रदेश राजधानी मकवानपुरकाे हेटौंडामा आइतबार भएकाे ‘किसान हक, हित र सामाजिक सुरक्षा विषयक’ बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय किसान आयोग काठमाडौंकाे आयोजनामा भएको उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले भने ‘निर्यात प्रवर्द्धन गर्न कृषियोग्य जमिन बाँझो नराखी ८० प्रतिशत भन्दा बढी जमिनमा खेति गर्नु पर्छ ।’ ‘एक निर्वाचन क्षेत्र एक प्राङगारिक मल’ याेजना लिएर प्रदेश सरकार अघि बढेकाे तथा सरकारले युवा वर्गलाइ प्राेत्साहन स्वरुप स्नातक अध्ययन गरेकाकाे लागि ८ लाख रुपैया अनुदान कृषि क्षेत्रका व्यवसायिक हुन व्यवस्था गरेकाे उनले बताए । ‘रासायनिक मल तथा विषादीकाे कारण कृषि उत्पादन बढेकाे भए पनि रैथाने वाली क्रमशः हराउदै गएकाेले प्राङ्गारिक मललाई विशेष जाेड दिने लक्ष्य सरकराले लिएकाे छ’ उनले भने ।
यसैगरी स्नातकोत्तर अध्ययन गरेकाकाे लागि १० लाख र पीएचडी गरेका युवा कृषकका लागि २२ लाख अनुदानकाे व्यवस्था गरेकाे उनले जानकारी दिए । कृषि क्षेत्रकाे विकासकाे लागि आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम बनाउदैं गरेकाे उनले बताए । ‘कृषि विकासकाे प्रबर्धन र विकासका लागि सरकारले आगामी बर्ष १४ अर्ब ऋणकाे व्याजमा अनुदान दिने याेजना लिएर अघि बढेका छाै‘ मन्त्री श्रेष्ठले भने ‘सिन्धुली जिल्लामा भैसीपालनका लागि विशेष कार्यक्रम सुरु गर्ने, बाझाे जमिन प्रयाेगकाे लागि जमिनकाे व्यवस्थित रुपमा उपयाेग गर्ने, सामुहिक खेती गर्ने याेजना छ ।’
कृषक परिचय पत्र र कृषक वर्गिकरण सुचीकरणलाई कृषककाे पहिचानकाे आधार मान्दै अनुदान वितरण कार्यगर्ने उनले बताए । कृषक सुचीकरणकाे लागि छुट्टै सफेटवेयर मार्फत काम सुरु भैसकेकाे उनले जानकारी दिए । सरकारले दिएका अनुदानको उचित सदुपयोग किसानबाट नभएको भन्दै उनले अनुदान माग मात्र नभई त्यसलाई सदुपयोग गरी कृषिमा आत्मनिर्भर हुन समेत उनले आग्रह गरे ।
उत्पादनमा आधारित भएर बैंक तथा वित्तिय संस्थामार्फत कृषकले लिएको कृषि ऋणमा ६ प्रतिशतका दरले ब्याजमा अनुदान उपलब्ध गराउनुका साथै १० अर्ब ऋण प्रवाह गर्ने लक्ष्य लिएकोे पनि उनको भनाई छ । साथै उनले सम्भाव्यताको आधारमा १३ वटै जिल्लालाई पशुपालन, फलफुल र कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गरी सघन रुपमा कृषिका कार्यक्रमहरु लागू गरिने बताए ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले सरकारसँग पर्याप्त स्रोत साधन नहुँदा माटो परीक्षण प्रयोगशाला हुँदाहुँदै पनि सबै पालिकालाई समेट्न नसकेको बताए । प्रदेशमा कृषकको संख्या ३ लाख ३१ हजार रहेको र प्रदेश सरकारलाई प्राप्त बजेटका आधारमा यो संख्या धेरै भएको भन्दै उनले राज्यको स्रोत साधन र सामर्थ अनुसार यसको व्यवस्थापनमा लागिरहेको बताए ।
बागमती प्रदेश सभा प्रमुख सचेतक गाेविन्द लम्सालले कृृषिका कुरा धेरै गर्ने गरिएकाे तर व्यवहारमा लागु गर्न नसकिएकाे बताए । नेपाल सरकारबाट कृषि सम्बन्धी धेरै याेजनाहरु संचालन भएकाे भए पनि उत्पादनमा अनुदान नभएर उत्पादन बृद्धि हुन नसकेकाे उनले बताए । ‘कृषकले पाउने दुःखकाे बारेमा मेडियाले समेत कम बोलिरहेका छन्’ उनले भने ‘कृषि सम्बन्धी सहुलियत अनुदान तथा ऋणका बारेमा बोल्नु पर्छ । कृषि अनुदानकाे कार्यान्वयन पक्ष सवल हुनु पर्छ ।’
यस्तै, कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्यहरु टेक बहादुर बोगटीले तिनै तहका सरकारसँग आयोगको समन्वयात्मक सम्बन्ध स्थापित गर्दै नीतिगत तहमा किसानका समस्याहरु समेटियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा कृषक टीका प्रसाद दहाललगायतले किसानहरुले अनुदानको नाममा काम भन्दा कागजलाई प्राथमिकतामा राखेर विभेद गरिएको, किसानसम्म अनुदान नपुगेको, सरकारले माटो परीक्षण केन्द्रको स्थापना नगरेको गुनासो गरेका थिए । यस्थै किसानहरुले पिडामा रहेकाे तथा अध्याराे मुख लगाउने जति कृषकहरु भएकाे बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्य मञ्जु धिमाल, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकाल, प्रदेश सभा सदस्यहरु गोविन्द लम्साल, मधु सुदन पौडेल, रत्न प्रसाद ढकाल, कृष्ण प्रसाद शर्मा खनाल, सुरेन्द्रराज गोसाई, एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, अखिल नेपाल किसान महासंघ बागमतीका अध्यक्ष एकालाल उप्रेतीलगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा खुला दौड (म्याराथुन) प्रतियोगिता हुने भएको छ । १ फागुन जनयुद्ध दिवसको अवसरमा पाँच किलोमिटर खुला दौड प्रतियोगिता हुने भएकाे हाे ।
पूर्व जनमुक्ति सेना नेपाल, मकवानपुर, बाईसिएल नेपाल, मकवानपुर, अखिल (क्रान्तिकारी) मकवानपुर, र अखिल नेपाल खलकुद महासंघ, मकवानपुरकाे आयोजनामा हुने प्रतियोगिता सम्बन्धमा आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी गराइएकाे हाे । पुर्व जनमुक्ति सेना नेपाल मकवानपुर अध्यक्ष सुमन पाख्रीनले ३० औं जनयुद्ध दिवसको अवसरमा १ फागुन विहान ७ बजेबाट दौड प्रतियाेगिता गरिने बताए ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितीयले १० हजार,मेडल र प्रमाणपत्र, तृतीयले ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पाख्रीनले जानकारी दिए । प्रतियोगितामा ७ जनालाई सान्त्वना पुरस्कार समेत प्रदान गरिने छ । हेटौंडा बुद्धचोकदेखी भैरवरोड, चिसापानी लक्ष्मी विद्यालय, सुर्यचोक, ब्रम्हदिक विद्यालय, नवोदय विद्यालय, थाहा चोक, शितलमहल चोक, ओम भवन हुँदै बुद्धचोक पुगेर दौड सकिने पाख्रीनले जानकारी दिए ।
माओवादीले शुरु गरेकाे जनयुद्धको शुभारम्भभएको दिन १ फागुनकाे जनयुद्ध दिवसलाई स्मरण गर्दै शुभकामना आदानप्रदान सहित आम जनताको विचमा जनयुद्धको प्रभाव र ऐतिहासिकतालाई नयाँ पुस्तामा समेत निरन्तर सन्देश दिने उद्देश्यका साथ प्रतियाेगिता आयोजना गर्न लागिएकाे उनले बताए । एथलेटिक्स खेलको नियमानुसार दौड प्रतियोगिता संचालन हुनेछ ।
प्रतियोगितामा सहभागीले माघ ३० गते सम्ममा नाम दर्ता गराउनु पर्नेछ । हेटौंडा ४ स्थित गर्दोइमा रहेको माओवादी केन्द्रकाे पार्टी कार्यालयमा निशुल्क नाम दर्ता गरिने व्यवस्था रहेकाे आयोजकले जनाएकाे छ । सहभागीलाई एक थान टिसर्ट आयोजकले निशुल्क उपलब्ध गराउने भएकाे छ । प्रतियोगितामा एक लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य जीवन गोले, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला लगायतको उपस्थिती रहेको थियो ।