मकवानपुर । मकवानपुरको बागमतीमा ३ फागुनबाट सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएकाे छ । गाउँपालिकाको आफ्नै रंगशालामा प्रतियोगिता हुने छ ।
गत वर्षकाे छैठौं संस्करणको प्रतियोगिता फापरबारीस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा भएको थियो । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पालिकाकाे खेलकुद विकास समिति अध्यक्ष रहर सिंह थिङले गाउँपालिकाको मुख्य सहयोगमा हुने प्रतियोगिताकाे उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गर्ने जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका र बागमती युथ क्लब सर्लाहीको टिमबीच प्रतिस्पर्धा हुने थिङले बताए ।प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहने उनले जानकारी दिए ।
आयोजकका अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलकाे म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले यस वर्षबाट पालिकाले आफ्नै खेलमैदानलाई व्यवस्थित गरेर प्रतियोगिताको आयोजना गरिने बताए । पालिकाले सबै विधाका खेलको संरचना निर्माण गर्नका लागि श्रमदानका लागि पहल गरिएको उनले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न गाउँपालिकाबाट २५ लाख रुपैयाँ सहयोग रहने बताइएकाे छ । करिव ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि मकवानपुरका १० वटै पालिका, सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँग सहयोगका लागि पहल गरिएको अध्यक्ष थिङले जनाकारी दिए ।
छैटौं संस्करणकाे उपाधी काठमाडौंको मछिन्द्र क्लबले हात पारेकाे थियो भने सशस्त्र प्रहरी बलको एपीएफले उपविजेतामा चित्त बुझाएकाे थियो ।

