मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, ठूलोगङ्गटेमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा बुधबारबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको महायज्ञको उद्घाटन बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यता एवम् पशुपतिनाथ वेदाङ्ग विद्यापीठका प्राचार्य (क्याम्पस प्रमुख)प्रा.डा. विष्णुप्रसाद तिम्सिनाको विशेष आतिथ्यतामा भएको हो ।
महायज्ञ उद्घाटन गर्दै प्रदेश सभा सदस्य पुलामीले धार्मिक पर्यटनको संरक्षण र विकासका लागि काम गरिने बताए । ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको पहिचान गर्न आयोजित महायज्ञको सफलताको शुभकामना दिदैं उनले भने ‘धर्म संस्कृतिले मानिसलाई नैतिक आचरणमा बस्न, आपसी सदभाव र भाईचाराको सम्बन्ध बढाउन सहयोग पुर्याइरहेको छ ।’ सबै धर्म, संस्कृति, मूल्य मान्यताको सम्मान गर्दै मिलेर अघि बढ्न उनले आग्रह गरे ।
महायज्ञको उद्घाटन अघि अङ्गारेश्वर मन्दिर परिसरबाट कलश यात्रा गरिएको थियो । ७ फागुनसम्म संचालन हुने महायज्ञमा नियमित सत्सङ्ग, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएकाे मूल समारोह समितिका संयोजक कृष्णदेव भण्डारीले बताए । महायज्ञमा पण्डित बद्रीविशाल शास्ती कथा वाचन गर्नेछन् । यस्तै पण्डित अनमोल धिताल उपवाचक रहेका छन् ।
महायज्ञबाट संकलन हुने रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) लगाउने लक्ष्य रहेको प्रचार समिति संयोजक चुडामणि रुपाखेतीले बताए ।
सप्ताह ज्ञान महायज्ञ अन्तरगत ३० माघ देखि ६ फागुनसम्म प्रत्येक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पाठ पारायण तथा हवन, विहान ११ बजेदेखि खिउँसो ४ः३० बजेसम्म कथा प्रवचन, साँझ ६ बजेदेखि ९ बजेसम्म महात्म्य प्रवचन तथा भजन किर्तन हुने आयोजकले जनाएकाे छ । यस्तै ७ फागुनमा कथा विश्राम, तिलार्चन, पूर्णाहुति, प्रसाद वितरण, तथा महायज्ञ समापन गरिने छ ।
महायज्ञको उद्घाटन मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित संघीय सांसद् दीपक बहादुर सिंहको प्रमुख आतिथ्यता हुने गरी कार्यक्रम तय भएकाेमा सांसद् सिंह उपस्थित नहुने भएपछि प्रदेश सांसद् पुलामीकाे प्रमुख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको संयोजक भण्डारीले जानकारी दिए ।
यस्तै, महायज्ञकाे संचालन तथा व्यवस्थापन गर्न विभिन्न ८ वटा समिति गठन गरिएको छ । अर्थ समिति संयोजकमा धर्मराज अर्याल, प्रचार समिति संयोजकमा चुडामणि रुपाखेती, पुजा समिति संयोजकमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समिति संयोजकमा माया राना, सरसफाइ समिति संयोजकमा ओम प्रसाद अधिकारी, समान खरिद समिति संयोजकमा शमशेर पुडासैनी,भण्डारण समिति संयोजक सिताराम वाइबा रहने गरी गठन गरिएको हो ।
महायज्ञमा करिब २ हजार भक्तजनहरुको उपस्थिति रहने अनुमान आयोजकले गरेकाे छ । महायज्ञमा दान गर्नेहरुकाे लागि सम्मान कार्यक्रम समेत गरिने बताइएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाले बालमैत्री नगर घाेषणाकाे दिन नगर तथा अन्तरगतका क्षेत्रहरुकाे सेवा बन्द गर्ने भएकाे छ ।
बालमैत्री नगर घाेषणाका दिन १ फागुनमा उपमहानगरपालिका तथा वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका सेवा बन्द रहने उपमहानगरपालिकाले जनाएको छ। सूचना जारी गर्दै नगर क्षेत्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरू समेत उक्त बन्द हुने जानकारी दिएकाे हाे ।
बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम रहेकाेले उक्त दिन सबै क्षेत्रकाे सेवा प्रवाह सुचारु नहुने उपमहानगरपालिकाले जारी गरेकाे सूचनामा उल्लेख छ । वडा तथा स्वास्थ्य संस्था र विद्यालयहरुले पनि सोही अनुसार हुने गरी सूचना जारी गरेका छन् ।
बालमैत्री सम्बन्धी कार्यक्रममा उपमहानगरपालिका तथा वडा, स्वास्थ्य संस्थाका कर्मचारी र विद्यालयका कर्मचारी तथा विद्यार्थीको सहभागिता रहनु पर्ने भएकाेले विद्यालयहरु बन्द गरिने तथा कार्यालयबाट सेवा प्रवाह नहुने गरी व्यवस्था गरिएकाे प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन उच्च अदालत पाटन हेटौंडा इजलाशले खारेज गरेकाे छ । रिट निवेदन खारेज भएसँगै उपमहानगरपालिकालाई डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्न बाटो खुलेको छ ।
मंगलबार न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएको हो । गत मंगलबार योगेन्द्रप्रसाद उपाध्यायले दायर गरेकाे रिट निवेदनमा उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले अन्तरिम आदेश जारी गर्दै उपमहानगरले फोहाेर व्यवस्थापन गर्दै आएकाे हेटौंडा १० स्थित डम्पिङ साइटमा फोहोर नफाल्न अल्पकालिन आदेश जारी गरिएकाे थियो । अदालतको आदेशपछि उपमहानगरपालिकाले बिहीबार सूचना जारी गर्दै फोहोर संकलनको कार्य स्थगित गरिएको जनाएको थियो ।
गत मंगलबार उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रिट निवेदन दायर गर्ने पक्ष र रिट निवेदनमा विपक्षी बनाइएको हेटौंडा उपमहानगरपालिका र ग्रीन एण्ड क्लिन सिटी प्रालि दुबै पक्षलाई २९ माघ मंगलबार अदालतमा छलफलका लागि बोलाएको थियो । मंगलबार रिट निवेदकको तर्फबाट अधिवक्ता अज्मीर केसीले बहस गरेका थिए । विपक्षी हेटौंडा उपमहानगरपालिकाको तर्फबाट उपमहानगरका कानुन अधिकृत लक्ष्मण मैनाली र कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता ईश्वरराज ढकाल, ग्रीन एण्ड क्लिन सिटी प्रालिको तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवप्रसाद चौलागाई, अधिवक्ता मदन प्रसाद दाहाल, मनप्रसाद भट्टराई र बालकृष्ण अधिकारीले बहस गरेका थिए ।
अदालतले डम्पिङ साइटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेसँगै उपमहानगरपालिकाले वैकल्पिक व्यवस्था नगरी फोहोर संकलन नै रोकेपछि गत शुक्रबारदेखि फोहोर संकलन तथा व्यवस्थापनको कार्य रोकिएको थियो । मंगलबार उच्च अदालतले रिट निवेदन खारेज गरेसँगै डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्न सकिने भएको छ । ५ दिन फोहोर नउठ्दा हेटौंडा बजार क्षेत्रमा फोहोर थुप्रिएको छ । अब उपमहानगरपालिकाले फोहोर संकलनको कार्य नियमित गर्ने छ ।
फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । राप्ती किनारलाई डम्पिङ साइड बनाएको हेटौंडा उपमहानगरपालिकाले हाल संकलन गर्दै आएको फोहोर दिनहुँ एस्काभेटर लगाएर पुर्ने गरेको बताइएकाे छ । डम्पिङ साईटमा पटक–पटक लाग्ने आगोका कारण निस्कने धुँवाले वातावरण नै प्रदुषित बनाउँदै आएकाे छ ।
उक्त डम्पिङ साइड भरिदै गएकाेले उपमहानगरपालिकाकाे फोहाेर व्यवस्थापन गर्न २०७९ साल भदौमा उप प्रमुखकाे संयोजकत्वमा फोहाेर व्यवस्थापन गर्न कार्यदल गठन गरेकाे थियाे । तर हालसम्म उपमहानगरले व्यवस्थापनकाे लागि बैकल्पिक स्थान बनाउन सकेकाे छैन ।
उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौंडाको पश्चिमी क्षेत्र वडा नम्बर–१९ , पुर्वी क्षेत्र १६, १७ र १८ नम्बर वडा मध्ये कुनै एक ठाउँमा डम्पिङ साईड बनाउने बारे छलफल अघि बढेको छ । दातृ निकायसँगको समन्वयनमा फोहोर व्यवस्थापनबारे सम्भाव्यता अध्ययन हुँदै गरेकाे उनले बताए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा संयुक्त अरब इमिरेट्सको (युएई) को दुवई प्रस्थान गरेका छन् । उनले आफ्नाे अनुपस्थितिमा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
विश्व सरकार सम्मेलन–२०२५ मा सहभागी हुन मुख्यमन्त्री लामा ३० माघमा दुवई प्रस्थान गरेकाे हुन् । मुख्यमन्त्री लामाकाे सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् । ३० माघ बुधबारदेखि मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोकिएकाे प्रदेश प्रमुखकाे पत्रमा उल्लेख गरिएकाे ।
मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार लामा ३ फागुनमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुने भएकाे छ । उपमहानगरले मंगलबार पत्रकार सम्मेलन गरी घोषणा सम्बन्धी जानकारी दिएकाे हाे ।
“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ १ फागुन २०८१ मा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणा समारोह गरिने नगर प्रमुख मिना कुमारी लामाले जानकारी दिइन् । यसअघी हेटौंडाका १९ वटै वडा निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा स्थानीय शासनयुक्त वडा घोषणा घोषणा भएपछि नगरलाई बालमैत्री घोषणा गर्न लागिएकाे हाे ।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा भौतिक शहरी विकास मन्त्री प्रकाशमान सिंहकाे प्रमुख आतिथ्यतामा नगर घोषणा हुने भएकाे छ । उपमहानगरपालिकाले ५ भदौ २०७९ मा बालमैत्री स्थानीय शासन अवलम्बन गरी उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गरेकाे थियो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र घोषणा कार्यविधि, २०७९ मा आधारित भई आवधिक वार्षिक योजनासँगै आवश्यक बजेट तर्जुमा गरी निर्धारित न्यूनतम सूचकहरु पूरा गर्ने चरणमा विविध वालमैत्री कार्यक्रमहरु संचालन गर्दै आएकाे उपमहानगपालिकाले जनाएकाे छ ।
घोषणा मात्रै महत्वपूर्ण नभई यसको निरन्तरता र गुणस्तरीय वालमैत्री वातावरणको आवश्यकता महशुस गरी सिङ्गो उपमहानगरपालिकालाई बालमैत्री घोषणा पश्चात दिगोपनाको लागि नगरस्तरीय तथा वडागत रुपमा पञ्चवर्षिय रणनीतिक योजना समेत तयार गरिएको उपमहानगरले जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ। कार्यान्वयन निर्देशिकामा उल्लिखित कार्यान्वयनका ५ वटा चरणहरु र २८ वटा तह गर्दै ५१ बटा सूचकहरु पूरा गरी निकृष्ट बाल श्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा तयारी गरिएकाे नगर प्रमुख लामाले बताइन् ।
घरधरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मुनिका बालवालिकाको जनसंख्या ५० हजार १९५ रहेकोमा २६ हजार १४५ बालक र २४ हजार ५० बालिका रहेकाे बताइएकाे छ। कुल बालबालिकाको संख्यालाई आधार मान्दा ५२.०८% बालक र ४७.९१ % बालिका रहेको छ। यस उपमहानगरपालिकामा टोलस्तरीय २६५ र विद्यालयस्तरीय १०६ वटा बालसमूह गरी जम्मा ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी जम्मा २० वटा बाल समूह संजाल सहित ३७१ वटा बाललबालिकासँग सम्बन्धित संरचना क्रियाशिल रहेका नगर सहजकर्ता सपना ढुंगानाले बताइन् । उनका अनुसार विभिन्न संरचनागत समितिहरुमा समेत गरी ९ हजार २५० जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ।
बालमैत्री स्थानीय शासन सञ्चालन एवं दिगोपनाको लागि प्रत्येक वडामा बालमैत्री सम्पर्क व्यक्ति, वडा सहजकर्ता, सम्पर्क कर्मचारी, विद्यालयमा सम्पर्क शिक्षक एवं टोलस्तरमा संरक्षक अभिभावक तोकिएको छ । उपमहानगरमा बालमैत्री स्थानीय शासन नगर समिति, नगर बाल अधिकार समिति, नगर कार्यान्वयन सहजीकरण समिति, नगर बाल समूह संजाल, बालमैत्री स्थानीय शासन वडा समिति, वडा बाल अधिकार समिति, वडा बाल समूह संजाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह साथै बाल अधिकारको क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरु क्रियाशिल रहेका छन्।
कुल २६१.५८ वर्ग किमि क्षेत्रफल रहेको उपमहानगरपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिममा मनहरी र राक्सीराङ गाउँपालिका, उत्तरमा मकवानपुरगढी, भीमफेदी र कैलाश गाउँपालिका रहेका छन् । दक्षिणतर्फ मधेश प्रदेश अन्तर्गतको बारा जिल्ला सम्म सिमाना रहेकाे उपमहानगरपालिकालाई १९ वडामा विभाजन गरि प्रशासनिक काम भइरहेकाे छ।