मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा घरको छतबाट लडेर घाइते भएका १ जनाकाे मृत्यु भएको छ ।
हेटाैंडा वडा नम्बर ५, सानोपोखरास्थित घरकाे छतबाट लडेर चितवन जिल्लाको कालिका नगरपालिका–६, खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारीकाे मृत्यु भएकाे हाे । अधिरकारी बिहीबार हेटौंडामा भिनाजुकाे घरमा पाहुना थिए । भिनाजुकाे घरकाे छतबाट खस्दा घाइते भएका उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार बिहान तीन तला माथि छतबाट खस्दा घाइते भएका अधिकारीलाई हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा अधिकारीको शुक्रबार दिउँसो मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
झुरझुरे,बागमती । मकवानपुरकाे बागमती गाउँपालिकामा जारी साताैं संस्करणकाे बामगती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएकाे छ । बिहीबारकाे क्वाटरफाइनल खेलबाट साविक विजेता मछिन्द्र क्लबले जित हासिल गरेसँगै प्रतियाेगिताकाे सेमिफाइनल समिकरण पुरा भएकाे हाे ।
बागमती–४ झुरझुरेस्थित शहीद स्मृति रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सर्लाही जिल्लाको बागमती युवा क्लबलाई १–० गोलअन्तरले हराउँदै ‘ए’ डिभिजन क्लब मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेकाे हाे । मछिन्द्रको जीतमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टी मार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२ औं मिनेटमा गोललाइनमा हातले बल रोकेपछि मछिन्द्रले पेनाल्टी प्राप्त गरेकाे थियाे ।
गोललाइनमा हातले बल रोक्ने भुजेललाई रेफ्रीले राताे कार्ड दिएका थिए । त्यसपछि बामती १० खेलाडीमा सिमित हुँदा खेलमा फर्कन सकेन । खेलकाे म्यान अफ द म्याच मछिन्द्रकै शिशिर लेखी घोषित हुँदै १० हजार रुपैयाँ हात पारे । प्रतियोगितामा आयोजकलाई हराउँदै बागमती युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने मछिन्द्रले वाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । मछिन्द्र छैटाैं संस्करणकाे बागमती गोल्डकपकाे विजेता टोली हो । गत संस्करणमा एपीएफलाई हराउँदै मछिन्द्रले उपाधी हात पारेको थियो ।
यस अघि सोमबार भएकाे पहिलाे क्वाटरफाइनलबाट त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च व्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ । विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चर्च व्वाइजले सेमिफाइनल यात्रा तय गरेकाे हाे । मंगलबार भएको दोस्राे क्वाटर फाइनल खेलबाट थ्री स्टार क्लब काठमाडौं समिफाइनल प्रवेश गरेकाे छ । उसले हिमालयन शेर्पालाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
यसैगरी बुधबारकाे तेस्राे क्वार्टरफाइनल खेलमा जित निकाल्दै एपीएफ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । संकटा क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
१२ फागुनसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियाेगितामा ७ विभागीय टोली तथा ३ वटा माेफसलकाे टाेलीले सहभागिता जनाएका थिए ।
मकवानपुर । बागमती प्रदेशका प्रमुख सचिव तथा प्रदेशका अन्य निकायमा कन्सोर्टियम नेपालले ध्यानाकर्षण पत्र बुझाएकाे छ । कन्सोर्टियम नेपालले नागरिक संघ संगठनकाे तर्फबाट प्रदेशमा बाल सहभागिता सम्बन्धी नमुना कार्यविधि माग गर्दै मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव सहित प्रदेश उद्योग मन्त्री, सामाजिक विकास मन्त्रालय, नीति तथा याेजना आयाेग लाई ध्यानाकर्षण गराएकाे हाे ।
विगत २५ वर्षदेखि बाल अधिकारको आन्दोलन तथा अभियानमा सक्रिय राष्ट्रिय संजालको रुपमा स्थापित रहेकाे उक्त संस्थाले बाल सहभागिता सम्बन्धी कार्यविधि बनाई प्रदेश र स्थानीय तहहरुलाई सहजिकरण गर्ने लगायतका १६ बुँदे ध्याकर्षण बिहीबार प्रदेश प्रमुख सचिव लगायत विभिन्न निकाएमा बुझाएकाे कन्सोर्टियम नेपालका अध्यक्ष सन्ताेष महर्जनले जानकारी दिए ।
बागमती प्रदेश तथा अन्तरगतका स्थानीय तहहरुका लागि बाल सहभागित सम्बन्धी कार्यविधि बनाइ लागु गर्नु पर्ने लगायतका मागकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ ‘बालअधिकार महासन्धि अनुरुप बाल अधिकारको मुख्य चारवटा खम्बा मध्यको एक, बाल सहभागिताको क्षेत्रमा विशेषरुपमा क्रियाशिल यस कन्सोर्टियम नेपाल हालको स्थानीय तह, प्रादेशिक तह, संघ तथा क्षेत्रिय (सार्क) राष्ट्रिय स्तरमा बालअधिकारको अवधाराणलाई प्रबर्द्धन, कार्यान्वयन तथा निरन्तरता दिनको लागी सक्रियताका साथ लागिरहेको छ ।’
प्रत्यक बालबालिकाको अधिकारलाई स्थापित गर्न नेपाल सरकारका निकाय, विभिन्न सरकारी तथा गैरसरकारी संस्था र समुदायसँग सहकार्य तथा साझेदारीमा काम गर्छन्। नेपालको संविधानले बालबालिकाको हक अधिकारलाई संवैधानिक रूपमा नै मौलिक हक अन्तर्गत व्यवस्था गरेकाले विश्वका उत्कृष्ट संविधान मध्ये एक मानिएको पत्रमा उल्लेख छ ।
‘नेपालको संविधानमा बालबालिकाको हक तथा संरक्षणलाई प्राथमिकता प्रदान गरिएको छ। यस्का साथै स्थानीय सरकार संचालन ऐन र स्थानीय जनप्रतिनिहरुको प्रमुख काम, कर्तव्य भित्र विभिन्न प्रकारका बालबालिकाका अधिकारका विषयहरु समेत स्पष्ट उल्लेख भएकोले साे सम्बन्धी कार्यविधि निर्माण लगायतकाे विषयमा ध्यानाकर्षण गराइएकाे कन्सोर्टियम नेपालका अध्यक्ष महर्जनले जानकारी दिए ।
बालबालिकाहरुको सहभागिताको अधिकारका साथै समग्र बालअधिकार सुनिश्चितता गर्न आगामी दिनहरुमा बाल अधिकारको क्षेत्रमा गर्नु पर्ने कार्यहरु मध्ये कन्सोर्टियम नेपालको तर्फबाट १६ बुँदामा सुझावको रुपमा ध्यानाकर्षण गराइएकाे गैर सरकारी संस्था महासंघ सचिव बुद्ध शरण लामाले बताए ।
ध्यानाकर्षण गराइएकाे विषयका बुँदाहरुः
१. बागमती प्रदेश तथा यसका स्थानीय तहहरुमा बाल सहभागिता सम्बन्धि नमुना कार्यविधि बनाई प्रदेश र स्थानीय तहहरुलाई सहजिकरण गर्नुहुनेछ ।
२. राष्ट्रसंघीय बाल अधिकार महासन्धि समितिबाट प्राप्त बाल केन्द्रित सुझाव र समापन टिप्पणीहरूलाई प्रदेश सरकारको तर्फबाट व्यवस्थित र योजनाबद्ध रूपमा अनुगमन एवं कार्यान्वयन गर्ने गराउने कार्यकोलागी यहाँले पहल गर्नुहुनेछ ।
३. प्रदेशमा बालक्लब/समूह सम्बन्धि स्पष्ट मापदण्ड तयारगर्दै बालक्लव, बाल क्लव संजाल र बाल क्लवमा सहभागी बालबालिकाको तथ्यांक र त्यस्तो तथ्यांकको वार्षिक अद्यावधिक गर्ने व्यवस्था गर्नु हुनेछ । समावेशी बाल क्लबको अवधारणालाई मूर्तरुप दिन तथा सीमान्तकृत बालबालिकाको बालक्लबमा सहभागिताको लागि आवश्यक भुमिका खेल्नु हुनेछ ।
४. बालबालिका सम्वन्धी ऐन २०७५ तथा बालबालिका सम्बन्धी नियमावली २०७८ साथै बागमती प्रदेशको बालबालिका सम्बन्धि ऐन तथा नियमावलिमा उल्लेख भएअनुसार प्रदेश र स्थानीय तहमा बालअधिकार सम्वन्धि संरचनाको निर्माण र सो को प्रभावकारिताको लागि अग्रणी भुमिका खेल्नुहुनेछ ।
५. स्थानीय तह तथा प्रदेशको योजना निर्माण प्रकृयामा बालबालिकाको सहभागिताको सुनिश्चितता तथा बागमती प्रदेशको सबै स्थानीय तहहरुमा बालमैत्री स्थानीय शासनको कार्यान्वयन गर्नुहुनेछ । साथै प्रदेश स्तरमा समेत बालबालिकाको मौलिक हकमा रुपमा रहेको व्यवस्थाहरु शिक्षा, स्वास्थ्य, पहिचानको अधिकार लगायतका विषयहरुलाई समेत सुनिश्चितता रहने गरी प्रदेश स्तरमा समेत बालबालिकाको भेला गरी उनिहरुसँग परामर्श गर्ने पहलकदमी लिनुहुनेछ ।
६. विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य व्यवस्थापन समिति लगायत बालबालिकाहरुसँग प्रत्यक्ष सरोकार रहने संरचानामा बालबालिका, बालक्लव र संजालका प्रतिनिधिको सहभागिता सम्बन्धी असल अभ्यासको नीतिगत व्यवस्थागरी कार्यान्वयन गर्नुहुनेछ ।
७. जोखिममा रहेका बालबालिकाहरुको खोज, उद्दार र पुनस्थापनाका लागि विशेष पहलिकदमीको भुमिका खेल्नुहुनेछ ।
८. बाल हेल्पलाईन १०९८ र बालबालिका खोजतलास केन्द्र १०४ को प्रचार प्रसार तथा प्रभावकारितामा जोड दिनुहुनेछ । साथै स्थानीय तहदेखि नै बालबालिकाहरुको गुनासो सुनुवाईका निमित्त विशेष संयन्त्र स्थापना तथा प्रभावकारी कार्यान्वयनका निमित्त आवश्यक सहजीकरण तथा पहलकदमी लिनुहुनेछ ।
९. विशिष्टीकृत वा विशेष आवश्यकतामा रहेका बालबालिकाहरुको आधारभुत अधिकार संरक्षणका लागि विशेष कार्यक्रमसँगै बाल गृहहरुको अध्ययन, बाल गृहहरुको नियमन तथा नियमित अनुगमनलाई प्रभावकारी रुपमा संचालन गर्नुहुनेछ ।
१०. सामाजिक विकास मन्त्रालयले स्थानीय तहहरुमा बालबालिका शाखा, बाल कल्याण अधिकारीको व्यवस्था, बाल अधिकार समिति गठनगरी बालबालिकाहरुको सवाललाई सम्वोधन हुने व्यवस्थाको लागि पहल गर्नुहुनेछ ।
११. विगतका बाल विवाह रोकथाम तथा न्यूनिकरणमा भएका केही असल अभ्यासहरुलाई समेत मध्येनजरगरी बालक्लव तथा बालक्लव संजालहरु समेतलाई परिचालनगरी बालविवाह अन्त्यको अभियान संचालन गर्नुहुनेछ ।
१२. विगतको असल अभ्यासको रुपमा रहेको बालबालिकाहरुको लागि विनियोजन हुँदै आएको १० प्रतिशत बजेट हालका दिनहरुमा कुनै पनि सरकारले विनियोजन नगर्ने परिपाटीलाई सच्याउँदै आगामी दिनमा बालबालिकाहरुको लागि बजेट विनियोजको सुनिश्चितताको लागि पनि यहाँले विशेष भुमिका खेल्नु हुनेछ ।
१३. बालबालिका माथी हुने हिंसा, यौन दुर्व्यवहार तथा अन्य प्रकारका दुर्व्यवहार, बलात्कार, जस्ता यौन हिंसाका घटनाहरु निर्मूल पार्न रणनीतिक योजना बनाई तत्काल कार्यान्वयन गर्नुहुनेछ ।
१४. अनुशासनको नाममा बालबालिकालाई घर परिवारमा, समुदायमा, विद्यालयमा दिइने शारिरीक तथा मानसिक सजायको परम्परालाई वास्तविक रूपमा अन्त्य गर्न पहलकदमी लिनुहुनेछ ।
१५. बालश्रम निर्मुल गर्न बनेका व्यवस्था तथा प्रावधानहरुलाई विभिन्न तहमा लागू गर्न आवश्यक पहल गर्नुहुनेछ ।
१६. बागमती प्रदेश अन्तर्गत राम्रो मानिएको विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता र परिचालन गरि परिवार र विद्यालयमा समेत जंक फुडको प्रयोगलाई पूर्ण निषेध र व्यक्तिगत सरसफाइ तथा बालिकाको महिनावारी स्वास्थ्य र सरसफाईमा सचेतनामूलक काम गर्नुहुनेछ ।
मकवानपुर । मकवानपुरकाे थाहा नगरपालिकामा भिरबाट लडेर १ जनाकाे मृत्यु भएकाे छ । बुधबार राती थाहा –७, भट्टीडाँडा भीरबाट लडेर थाहा नगरपालिका–५, नलिबनका ३२ वर्षीय राजकुमार पाख्रिनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
थाहा ८ दामगढी बस्ने ससुरा अमर बहादुर थिङकाे छाेरीकाे विवाह भाेजमा सहभागी भई फर्कदा भट्टीडाँडास्थित खाजाघर पछाडी लघुसंका (पिसाब) गर्न गएका पाख्रिनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पाख्रिनको घटनास्थलमै मृत्यु भएकाे हाे भने शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएकाे छ ।घटना सम्बन्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा सुरु पहिलो संस्करणको अनुपम घलान स्मृति यू–१६ नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौंडाको ८ र १८ नम्बर वडाले विजयी सुरुवात गरेका छन् । बुधबारबाट सुरु प्रतियाेगिताकाे उद्घाटन खेलमा हेटौंडा १८ ले ७ नम्बर वडालाई १–० गोल अन्तरले हराएको हो ।
पहिलो हाफको छैठौं मिनेटमा अनमोल मिजारले गरेको गोल नै १८ को जितमा निर्णायक बन्यो । उनी नै खेलको म्यान अफ द म्याच बने । दोस्रो खेलमा हेटौंडा १३ लाई टाइब्रेकरमा स्तब्ध बनाउँदै हेटौंडा ८ ले अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।
निर्धारित समय एक/एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएकाे थियाे । खेलमा वडा नम्बर ८ ले सुरुवाती अग्रता लिएको थियो । ८ का शिशिर भण्डारीले दोस्रो हाफको आठौं मिनेटमा हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको २८ औँ मिनेटमा १३ नम्बर वडा खेलमा फर्कियो । टिमलाई प्रितम थिङकाे गोल गरेका थिए । खेलको म्यान अफ द म्याच ८ नम्बरका गोलरक्षक प्रकाश परियार घोषित भए ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १ लाख तथा उपविजेता टिमले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
पहिरोमा परी मृत्यु भएका प्रशिक्षार्थी फुटबल खेलाडी हेटाैंडा १३ का अनुपम घलानको स्मृतिमा हेटौंडामा नगरस्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित प्रतियाेगितालाई हेटौंडा उपमहानगरपालिकाले प्रत्येक वर्ष निरन्तरता दिने जनाएकाे छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेको अध्यक्षता तथा अनुपमका पिता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमख राजेश बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।