मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा सुरु पहिलो संस्करणको अनुपम घलान स्मृति यू–१६ नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौंडाको ८ र १८ नम्बर वडाले विजयी सुरुवात गरेका छन् । बुधबारबाट सुरु प्रतियाेगिताकाे उद्घाटन खेलमा हेटौंडा १८ ले ७ नम्बर वडालाई १–० गोल अन्तरले हराएको हो ।
पहिलो हाफको छैठौं मिनेटमा अनमोल मिजारले गरेको गोल नै १८ को जितमा निर्णायक बन्यो । उनी नै खेलको म्यान अफ द म्याच बने । दोस्रो खेलमा हेटौंडा १३ लाई टाइब्रेकरमा स्तब्ध बनाउँदै हेटौंडा ८ ले अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।
निर्धारित समय एक/एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएकाे थियाे । खेलमा वडा नम्बर ८ ले सुरुवाती अग्रता लिएको थियो । ८ का शिशिर भण्डारीले दोस्रो हाफको आठौं मिनेटमा हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको २८ औँ मिनेटमा १३ नम्बर वडा खेलमा फर्कियो । टिमलाई प्रितम थिङकाे गोल गरेका थिए । खेलको म्यान अफ द म्याच ८ नम्बरका गोलरक्षक प्रकाश परियार घोषित भए ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १ लाख तथा उपविजेता टिमले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
पहिरोमा परी मृत्यु भएका प्रशिक्षार्थी फुटबल खेलाडी हेटाैंडा १३ का अनुपम घलानको स्मृतिमा हेटौंडामा नगरस्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित प्रतियाेगितालाई हेटौंडा उपमहानगरपालिकाले प्रत्येक वर्ष निरन्तरता दिने जनाएकाे छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेको अध्यक्षता तथा अनुपमका पिता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमख राजेश बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।

