मकवानपुर। नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीका पूर्वसदस्य शिवहरि बर्तौलासहित २ दर्जन नेता कार्यकता नेकपा (एमाले)मा फर्किएका छन् ।
सोमबार हेटौंडास्थित पार्टी कार्यालयमा बसेको एमाले मकवानपुरको पूर्ण बैठकमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले स्थायी कमिटी सदस्य तथा बागमती ईन्चार्ज डा. राजन भट्टराई, एमाले केन्द्रीय सदस्य तथा मकवापुर ईन्चार्ज रामेश्वर रानालगायतका नेताहरुले एमाले पार्टीमा स्वागत गरेका थिए ।
बर्तौलासहित समाजवादी मकवानपुरका जिल्ला कमिटी सदस्य मानबहादुर बल, पूर्व जिल्ला कमिटी सदस्य कर्णबहादुर पाख्रिन, देवलाल गोले, सुनिलकुमार गोले, लोकबहादुर घिसिङ एमालेमा प्रवेश गरेका हुन् । यसैगरी, समाजवादी भीमफेदी गाउँपालिका कमिटीका सचिवालय सदस्य रवि खड्का, पालिका कमिटी सदस्य वीरबहादुर बल, शेरमान थापा, हेटौंडा–१ उपसचिव भुपाल थिङलगायत २ दर्जन नेता कार्यकर्ता एमालेमा फर्किएको कार्यक्रमको सहजीकरण गरेका एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले जानकारी दिए ।
एमालेमा फर्किएका बर्तौलाले समाजवादी पार्टीबाट देश नबन्ने निष्कर्षसहित एमालेमा समाहित भएको बताए । उनले समाजवादीमा रहेकाहरुलाई एमालेमा फर्कन र पार्टी काममा लाग्न आग्रह गरे । उनले एमालेको मिसन ८४ मा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उपाध्यक्ष लामाले पार्टीको ३ महिने वडा केन्द्रीत जरा अभियानअन्तर्गत पार्टी प्रवेश कार्यक्रम भएको बताए । उनले अभियानअन्तर्गत जिल्लाको १० वटै स्थानीय तहको १०२ वटै वडा कमिटीमा बैठक सञ्चालन भएको र पार्टीको जरा अभियान सक्रिय रुपमा सञ्चालन भइरहेको जानकारी दिए ।
सोमबारबाट सुरु भएको दुईदिने जिल्ला कमिटी बैठकमा सबै स्थानीय तह कमिटीको रिर्पोटिङ लिने र अभियानलाई अझ बृहत ढंगले अगाडि बढाउने छलफल हुने बताइएको छ । पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकमा एमाले एमाले स्थायी कमिटी सदस्य तथा बागमती ईन्चार्ज भट्टराईले निर्देशनात्मक मन्तव्य राख्नेछन् ।
मकवानपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशकाे संकट समाधानको लागि एमालेकाे बहुमत आवश्यक रहेकाे बताएका छन् । सोमबार एमाले जिल्ला कमिटी मकवानपुरको बैठकमा सम्बोधन गर्दै पोखरेलले उक्त कुरा बताएका हुन् ।
एमालेले बहुमत ल्याउन नसक्दा मुलुक फेरि पनि राजनीतिक अस्थिरताको भूमरीमा फस्छ उनले भने ‘त्यसैले सबै मिलेर एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्ति बनाउनु पर्छ ।’ उनले लोकतन्त्रलाई सबल बनाउन पनि एमाले बलियो हुनुपर्ने बताए । एमालेको नेतृत्वलाई बदनाम गराउन विभिन्न तत्वहरु क्रियाशील हुँदा कार्यकर्ता पंक्ती चुप लागेर बस्न नमिल्ने उनको भनाई छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वडा तहबाटै एमालेलाई बलियो बनाउनुपर्ने बताए । जनताको मन जितेमात्र मत प्राप्त गर्न सकिने भएकोले जनचाहना बुझेर काम गर्न उनले कार्यकर्तालाई निर्देशन दिए।
यसैगरी वर्तमान सरकार कसैले पनि ढाल्न नसक्ने उनले बताए । ‘कांग्रेस र एमालेमा बईमानी पलाए मात्र सरकार ढल्छ’ उनले भने ‘दुबै दल इमानदार हुँदासम्म ओली नेतृत्वको सरकार ढल्दैन ।’ राजनीतिक स्थायित्वको लागि वर्तमान सत्ता समीकरण निर्माण भएको उनले बताए । ’२०७९ को निर्वाचन पछि राजनीतिक अस्थिरतको बढेकाेले दुबै दलले आपसमा सहकार्य गरेको हुन्’ उनले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले कांग्रेस म्याजिकल नम्बरको चक्करमा फस्दा २०७९ को निर्वाचनपछि राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको जिकिर गरे । कांग्रेससँग मिल्दै गर्दा आगामी चुनावीमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी दल हो भन्ने कुरालाई नभुल्न पनि उनले कार्यकर्तालाई आग्रह गरे ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला उपाध्यक्ष इन्दिरा डल्लाकोटीले पार्टी छाेडेकाे घोषणा गरेकी छिन् । उनले साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेकी हुन् ।
सोमबार पत्रकार भेटघाट मार्फत हाम्रो घर बालगृहकी अध्यक्ष समेत रहेकी डल्लाकोटीले ३० वर्षदेखि सक्रिय पार्टी परित्यागको घोषणा गरेकी हुन् । सामाजिक सेवामा समर्पित हुने योजनाले राप्रपा त्याग गरेकी बताइन् । पार्टीमा समय दिंदा बालगृहकाे काममा समेत असर परेको कारण पनि पार्टी छोडेको उनलेे बताइन् ।
उनले सोमबारकै मितिमा राप्रपा पार्टी जिल्ला अध्यक्षलाई सम्बाेधन गरी राजिनामा दिएकाे बताइन् । राजिनामा पत्रमा उनले राप्रपाको उपाध्यक्ष पदमा रहि रहेको र विभिन्न कारणबाट मिति २०८१।११।१२ गतेको दिनबाट पार्टीको साधारण सदस्य समेत नरहेको व्यहोरा जानकारी गराउदै पार्टी जिल्ला अध्यक्ष समक्ष निवेदन पेश गरेकाे उल्लेख गरिएकाे छ ।
बालगृह सहयोगकाे लागि लगाइएको सप्ताहमा १३ लाख संकलन
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे हाम्रो घर बालगृहमा लगाइएको सप्ताहमा १३ लाख २० हजार रकम संकलन भएको छ ।
हेटौंडा – ५ सिचाईं टोलस्थित ग्रामीण जीवनस्तर सुधार मञ्चले संचालन गरेकाे हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले लगाइएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा १३ लाख २० हजार रकम संकलन भएको सोमबार पत्रकार भेटघाट मार्फत जानकारी दिइएकाे छ । मञ्च अध्यक्ष इन्दिरा डल्लाकोटीले सप्ताहमा संकलन रकमबाट ७ लाख ५० हजार पण्डितहरु लागि खर्च भएकाे बताइन् ।
यसैगरी २ लाख ५० हजार रुपैंया अन्य खर्च गरि १० लाख ३६ हजार खर्च भएको अध्यक्ष डल्लाकोटीले जनाकारी दिइन् । उनका अनुसार बालगृहकाे अक्षयकोषमा २ लाख ८३ हजार जम्मा भएको छ । पछिल्लो समय आर्थिक अभावका कारण बालगृह सञ्चालनमा समस्या आएपछि दिगोपनाको लागि धार्मिक अनुष्ठान आयोजना गरिएको उनले बताइन् ।
सप्ताह १ फागुनदेखि ९ फागुन सम्म संचालन गरिएकाे थियाे । ८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा हाल २७ जना बालबालिकाले आश्रय लिइरहेका बताइएकाे छ ।
मकवानपुर । अहिले देशमा पश्चिमी वायुका तथा स्थानीय वायु पनि प्रभाव रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
उक्त वायुको कारण देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेको छ।