मकवानपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशकाे संकट समाधानको लागि एमालेकाे बहुमत आवश्यक रहेकाे बताएका छन् । सोमबार एमाले जिल्ला कमिटी मकवानपुरको बैठकमा सम्बोधन गर्दै पोखरेलले उक्त कुरा बताएका हुन् ।
एमालेले बहुमत ल्याउन नसक्दा मुलुक फेरि पनि राजनीतिक अस्थिरताको भूमरीमा फस्छ उनले भने ‘त्यसैले सबै मिलेर एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्ति बनाउनु पर्छ ।’ उनले लोकतन्त्रलाई सबल बनाउन पनि एमाले बलियो हुनुपर्ने बताए । एमालेको नेतृत्वलाई बदनाम गराउन विभिन्न तत्वहरु क्रियाशील हुँदा कार्यकर्ता पंक्ती चुप लागेर बस्न नमिल्ने उनको भनाई छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वडा तहबाटै एमालेलाई बलियो बनाउनुपर्ने बताए । जनताको मन जितेमात्र मत प्राप्त गर्न सकिने भएकोले जनचाहना बुझेर काम गर्न उनले कार्यकर्तालाई निर्देशन दिए।
यसैगरी वर्तमान सरकार कसैले पनि ढाल्न नसक्ने उनले बताए । ‘कांग्रेस र एमालेमा बईमानी पलाए मात्र सरकार ढल्छ’ उनले भने ‘दुबै दल इमानदार हुँदासम्म ओली नेतृत्वको सरकार ढल्दैन ।’ राजनीतिक स्थायित्वको लागि वर्तमान सत्ता समीकरण निर्माण भएको उनले बताए । ’२०७९ को निर्वाचन पछि राजनीतिक अस्थिरतको बढेकाेले दुबै दलले आपसमा सहकार्य गरेको हुन्’ उनले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले कांग्रेस म्याजिकल नम्बरको चक्करमा फस्दा २०७९ को निर्वाचनपछि राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको जिकिर गरे । कांग्रेससँग मिल्दै गर्दा आगामी चुनावीमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी दल हो भन्ने कुरालाई नभुल्न पनि उनले कार्यकर्तालाई आग्रह गरे ।

