मकवानपुर । मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका प्रथम भएकाे छ । आइतबारबाट सुरु १५ औं संस्करणको प्रतियोगितामा ५ स्वर्ण, १० रजत र ९ कांस्य पदकसहित हेटौंडा प्रथम भएकाे हाे ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको रनिङ्ग शिल्ड प्रतियाेगितामा १३ स्वर्ण, ५ रजत र १० कांस्य पदक प्राप्त गर्दै बकैया गाउँपालिकाले द्वितीय स्थान हात पारेकाे छ । यसैगरी थाहा नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ६ कांस्य पदक प्राप्त गर्दै तृतीय भएकाे छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय खेलाडीहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु सञ्चालन भएको थियो । इन्द्रसरोवर गाउँपालिका प्रतियोगितामा सहभागी जनाएन ।
गत वर्ष सम्पन्न भएको १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि २० स्वर्ण, ७ रजत र १९ कास्य पदक प्राप्त गर्दै हेटौंडा प्रथम भएको थियो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा मंगलबार पुरस्कार वितरण कार्यक्रम भएको हो ।
मकवानपुर । स्वीस नागरिक टोनी हेगनको अर्धकदको शालिक हेटौँडामा अनावरण गरिएको छ ।
मंगलबार टोनी हेगनकी छोरी डा. क्याट्रिना हेगन, उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा, निवर्तमान नगरप्रमुख हरिबहादुर महतले भुगर्भविद टोनी हेगनको अर्धकदको शालिक अनावरण गरे।
हेटौंडामा मानव वस्तीको परिकल्पना गरेका तथा नेपालविद भनेर चिनिएका डा. हेगनको सम्मानमा हेटौंडा उपमहानगरपालिकाले हेटौँडा–१० मा टोनी हेगन पार्क निर्माण गरेको छ । १ विगाहा ४ कठ्ठा साढे १७ धुर क्षेत्रफल रहेको उक्त पार्कमै अर्धकदको शालिक निर्माण गरिएको हो । टोनी हेगनकी छोरी नेपाल आएको अवसर पारेर शालिक अनावरण गरिएको डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चका अध्यक्ष ईन्द्रप्रसाद नेपालले जानकारी दिए । शालिक हेटौंडा १८ हर्नामाडीका लक्ष्मण भुजेलले निर्माण गरेका हुन् ।
पार्क निर्माणमा हेटौंडा उपमहानगरपालिका, हेटौंडा १० नम्बर वडा कार्यालय, बागमती प्रदेशका मन्त्रालयहरु, संघीय संसदको सांसद विकास कोष, हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड, डिभिजन वन कार्यालयले सहयोग गरेको नेपाल बताउँन ।
अध्यक्ष नेपालका अनुसार ६ लाख रुपैयाँ लागतमा शालिक निर्माण गरिएको हो । टोनी हेगन पार्क निर्माणमा हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको उनले बताए ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हेटौंडामा मोटरसाइकल र्याली निकालेको छ । संघीय संसदमा राजा ज्ञानेन्द्रका विरुद्ध अपशब्दको प्रयोग गर्ने नेताहरूको विरुद्धमा बृहत मोटरसाइकल र्याली निकालिएकाे पार्टीले जनाएकाे छ ।
पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल र्याली सानोपोखरा, ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक हुँदै सीमाचोकमा कोणसभामा परिणत भएको थियो ।
राप्रपा हेटौंडा नगर अध्यक्ष अरुण लामाले देशको अवस्था बदल्न, व्यवस्था बदल्न राप्रपाले र्याली निकालेको बताए । ‘देशका आम जनता आहात भएकाले व्यवस्था बदल्न सडकमा आएका छन्’ उनले भने । देशले परिवर्तन खोजेको बताउदैं व्यवस्था बदल्न खोजेकोले संघीयता खारेजी गर्नु पर्ने आवाज उठेकाे उनले बताए । देशभित्रका बेथिति विरुद्ध राप्रपाले राजा ज्ञानेन्द्रको पुनःवहालीका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको उनले बताए ।
राप्रपा महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङले अहिले राज्यले गरेका गतिविधिहरुको बारेमा सजग गराउन र आम नागरिकलाई देशमा भइरहेको विकृति, विसंगती र अराजकता चिर्न र्याली निकालिएको बताइन् । उनले हिन्दु राष्ट्र कायम, राजसस्था पुनस्थापना, भष्ट्राचार नियन्त्रण नभएसम्म राप्रपाका आन्दोलनका कार्यक्रम यथावत रहने जानकारी दिइन् ।
मकवानपुर । नेकपा एमालेले सुरु गरेकाे जरा अभियान प्रभावकारी बनेकाे एमाले मनहरीकाे दोस्रो पूर्ण बैठकले निष्कर्ष निकालेकाे छ । मनहरी गाउँपालिका कमिटीको रजैयास्थित अग्निहोत्राश्रममा भएकाे बैठकले तीन महिने जरा अभियान अन्तर्गत मनहरी गाउँपालिकाका ९ वटै वडामा भएका पार्टी र जनसंगठन कमिटीहरुको प्रगति विवरणहरुको समिक्षा गर्दै अभियान प्रभावकारी भएकाे निष्कर्ष निकालेकाे हाे ।
मंगलबारकाे बैठकमा हरेक वडामा खटिएका जिल्ला कमिटीका सदस्यहरुले वडाको बस्तुगत अबस्था र आगामी दिनमा गर्नुपर्ने कामका रिपोर्टिङ गरेको एमाले गाउँपालिका कमिटी सचिव पोशकबाबु बिष्टले बताए । तीन महिने अभियानको मध्यावधि समिक्षा गरिएको र आगामी चैतको दोस्रो साता आयोजना हुने तेस्रो पूर्ण बैठकमा जरा अभियानको प्रभावकारिता मापन हुने उनले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले जरा अभियानले पार्टीका गतिविधिहरुलाई सक्रिय बनाउँदै सुसुप्त रहेका शक्तिहरुलाई उजागर गर्ने बताए । पार्टी र सरकारप्रति अहिले भइरहेको अनावश्यक आरोप, टिप्पणी र प्रचारबाट एमालेजन सचेत हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बागमती प्रदेश कमिटी उपसचिव एबम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले संगठन निर्माण, परिचालन, एजेण्डाको उठान लगायतका बिषयहरु जानकारी गराएका थिए । एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जिल्ला कमिटीले गरेको निर्णयहरुको कार्यान्वयन पालिका कमिटी, वडा कमिटी र टोल कमिटीहरुले गर्नुपर्ने भन्दै जरा अभियानमा सबैजना जोडिनुपर्ने बताए ।
मनहरी गाउँपालिका कमिटि अध्यक्ष नवीन सुवेदीकाे अध्यक्षतामा भएको बैठकमा बागमती प्रदेश कमिटी सदस्य एबम् मनहरी गाउँपालिका इन्चार्ज अर्जुन अर्याल, बागमती प्रदेश कमिटी सदस्य एकराज उप्रेती, जिल्ला कमिटी उपसचिव आरती पाठक र गाउँपालिकाभित्रका जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । कला र सस्कृति प्रवर्द्धनबाट समाजमा रहेकाे विभेद र विकृति हटाई समाजमा चेतना फैलाउन सकिने हेटाैँडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले बताएका छन् ।
हेटौंडाको ४ नम्बर वडा कार्यालयकाे आयाेजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियाेकाे व्यवस्थापनमा शुरू भएकाे सामाजिक रूपान्तरणकाे लागि सचेतनामूलक नगरस्तरीय प्रथम सडक नाटक प्रतियाेगिताकाे उद्घाटन गर्दै वडाध्यक्ष सिग्देलले यस्तो बताएका हुन् । ‘विद्यालयबाटै विद्यार्थीहरूलाई कला र सस्कृतिसंग जाेड्न सके दक्ष र उकृष्ट कलाकारकाे समेत उत्पादन गर्न सकिन्छ’ उनले भने यसबाट समाजमा विद्यमान विकृति, विसंगति, कुरिति, कुसंस्कार अन्धविश्वास, मानवीय हिँसालाई हटाउन सकिन्छ ।’
आइतबार भएको पहिलाे प्रतियाेगितामा ज्ञानाेदय बालबाटिका आवासीय मावि हेटौंडा ५ को समूहले महिला हिँसा विरूद्व सचेतनामूलक रक्ताम्मे मेराे शरीर शीर्षकको नाटक र १८ नम्बर वडा बाल सञ्जालले लागू औषध दुर्व्यसनीविरूद्व चेतना मूलक नाटक प्रस्तुत गरेका थिए । नगरभित्रका १२ वटा समूहको सहभागिता रहेकाे प्रतियाेगिता फागुन २३ गतेसम्म सञ्चालन हुने नाट्यकर्मी आशाकाजी श्रेष्ठले बताए ।
बाल सञ्जाल, नवाेदय शिशु सदनकी उपाध्यक्ष एनि घलेकाे अध्यक्षतामा सुरु प्रतियाेगितामा टाेल विकास संस्था नगर समन्वय समिति महासचिव शिवहरी दाहाल, शैक्षिक गुणस्तर सुधार समिति संयाेजक श्रीराम दाहाल, महिला जागरण समूह अध्यक्ष राधिका चाैलागाई, नवाेदय शिशु सदनका निर्देशक दीपेश जाेशी, राष्ट्रिय जनसाँस्कृतिक मञ्च अध्यक्ष राजुराम राउत, सिस्नुपानी नेपाल मकवानपुरका अजर फुँयाल लगायतको उपस्थिति रहेकाे थियाे ।