मकवानपुर । पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घटेकाे छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हाे ।
निगमले शनिबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनबाट पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्यसुची घटेर आए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको छ ।
मकवानपुर । गत स्थानीय तह निर्वाचन र उपनिर्वाचनमा समेत आफूले अपेक्षित मत ल्याउन नसके पनि नेकपा एमाले जनताको माझ जनआवश्यकतालाई सम्बोधन गर्न लागि परेको छ ।
हार जित आफ्नो ठाउँ छ, जनताको समस्याको सम्बोधन पार्टीको कर्तव्य सम्झेर लागि परेको एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले बताए । हेटौडा उपमहानगरपालिका -१२ स्थित बीचरोडदेखि विनोद वाइवाको घर हुँदै घिसिङटोल चौतारा जोड्ने सडकमा स्ल्याब ढलान कार्य सुरु गरेपछिको प्रतिक्रियामा श्रेष्ठले यस्तो बताएका हुन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित २० लाख रुपैयाँको बजेटबाट ६ मिटर चौडा रहेको २२० मिटर लामो स्ल्याब ढलान सुरु गरिएको हो। निर्माण कार्यको सुरुवात गर्दै पूर्वमन्त्री एवं सांसद श्रेष्ठले बजेटको पूर्ण सदुपयोग गर्दै गुणस्तरीय निर्माण कार्यको लागि उपभोक्ता समितिलाई निर्देशन दिए । उनले हेटौडा उपमहानगरमापछि गाभिएका वडाहरूको विकासका लागि भौतिक पूर्वाधार, कृषि, सिंचाईलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारबाट बजेट विनियोजन गर्दै आएको बताए ।
१२ नम्बर वडाका निर्वाचित वडा सदस्य महेश भट्टराईले प्रदेश सरकारबाट हेटौडा १२ नम्बर वडाको समग्र विकासको लागि थुप्रै योजनाहरू पार्न विशेष भूमिका खेल्नुभएको भन्दै सांसद श्रेष्ठको प्रशंसा गरे । साथै आगामी वर्षमा पनि अन्य योजनाहरूको लागि समेत श्रेष्ठसँग आग्रह गरे । यस योजनामा हेटौडा उपमहानगरपालिकाले थप बजेट विनियोजन गरेको र जसबाट करिब १०० मिटर स्ल्याब थप हुने उपभोक्ता समिति अध्यक्ष बिरन घिसिङले जानकारी दिए ।
कार्यक्रममा हेटौडा १२ को उपनिर्वाचनमा वडाध्यक्षका प्रत्याशी राजेश नगरकोटी, स्थानीय समाजसेवी अर्जुनप्रसाद अर्याल, विनय मगर लगायतको सहभागिता थियो।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्थामा सरकार गए समर्थन रहने बताएका छन् ।
बिहीबार मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा आयोजना भएको दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । अहिलेकाे व्यवस्थाले देश बर्बादी तर्फ गएकाे बताउँदै नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा जना चुनौती दिए ।
‘आफैं मन्त्री हुने आफैं प्रधानमन्त्री हुने व्यवस्था ठीक भएन ’ उनले भने ‘तपाईंहरूसँग दुई तिहाई छ। देश बनाउने इच्छा तथा हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् तपाईंहरूलाई हामी समर्थन गर्छौं ।’
कार्यक्रममा भौतिक पूर्वाधार सभापति माननीय दिपक बहादुर सिंह राप्रपा केन्द्रीय सदस्य राम थक्क र रामहरि न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङ र प्रदेशकी महिला विभाग प्रमुख खुसी कार्की , राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापा र नगर अध्यक्ष अरुण लामा लगायत को उपस्थिति थियो ।
कार्यक्रममा सयौं संख्यामा नेकपा माओवादी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकाे बताइएकाे छ ।
मकवानपुर ।बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताउनु भएको छ । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्ताे बताउनु भएको हो।
‘हाेलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।
होलीलाई आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रुपमा लिइने उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ । पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजयको रूपमा यो पर्वको महत्व रहेको छ । खराब प्रवृत्तिलाई दहन अर्थात् नाश गरेर हामीले सत्यता र न्यायलाई स्थापित गर्ने सन्देश यो पर्वले बोक्दछ ।
चाडपर्वहरू विशिष्ट मौलिक पहिचानका निरन्तरता भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभएको छ ‘नेपाल सभ्यता र संस्कृतिमा धनी छ, शिष्टता, सद्भाव, मौलिकता र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस् ।’
पर्वका नाममा हुने विकृतीको अन्त्य गरि सभ्य र समृद्ध समाज निर्माणमा यो पर्वले टेवा पुर्याउने अभिलाषाका साथ सबैमा फागु पूर्णिमा अर्थात् होलीको शुभकामना व्यक्त गर्दछु’ उहाँले भन्नु भएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा भएको दसौँ राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौले हात पारेको छ ।
हेटौडा भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत सोमबार भएको फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाडौलाई ट्राईब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै किङकमले उपाधी जितेको हो । उपाधी जितसंगै उस्ले १ लाख ५० हजार ५ सय ५५ रुपैयाँ हात पार्यो । उपविजेतामा चित्त बुझाएको फ्रिडम फाइटरले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।
खेलको १४ औ मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए । यस्तै २७ औ मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगातमान लामाले गोल गर्दै खेल बराबरीमा बनाए । खेलको निर्धारित समयमा दुवै समूहबाट १/१ गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।
प्रतियोगिता अन्तर्गत किङकम भेट्रान्सका तर्फबाट सर्वश्रेष्ठ कोच राजकुमार पन्त, उत्कृष्ट फरवाड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय राना मगर घोषित भएका थिए भने फ्रिडम फाईटरको तर्फबाट उत्कृष्ट मिडफिल्डर उदय बहादुर गुरुङ घोषित हुदै जनही पाँच हजार नगद र ट्रफी प्राप्त गरे । यस्तै प्रतियोगिताको सर्वउत्कृष्ठ खेलाडी फ्रिडम फाईटरको तर्फबाट तेन्जिङ लामा घोषित हुदै १० हजार रुपैयाँ सँगै ट्रफी प्राप्त गरे ।
हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरिन।समापन समारोहमा शिक्षाविद् पूरण बहादुर जोशी, एन्फा केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल, वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे लगायतका को उपस्थिति रहेको थियो ।
२२ फागुनबाट सुरु प्रतियोगिताको मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका तथा सह प्रायोजक हेटौंडा स्कुल अफ म्यानेजमेन्ट रहेको थियो ।