मकवानपुर । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रदेशका मन्त्रालयहरुले पेश गरेका योजना तथा कार्यक्रम विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी मन्त्रिपरिषदबाट स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए । मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेटमा समेट्ने गरी प्रभावकारी ढंगबाट कार्यक्रम तयार गरेको उनले बताए ।
मन्त्रिपरिषदबाट स्वीकृत भएको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकबाट सार्वजनिक गरिने छ । १४ जेठमा १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुखले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने कार्य सूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
यसैगरी बैठकले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा थप दुई सदस्य नियुक्त गर्ने निर्णय गरेकाे छ। पाँच सदस्यीय समितिमा बाँकी रहेका दुई पदमा नियुक्तिका लागि धादिङ थाक्रे गाउँपालिका–११ का नेत्रराज पौडेल र रामेछापको मन्थली नगरपालिका–१ की निशा न्यौपानेलाई राजनीतिक सहमतिका आधारमा नियुक्त गर्ने निर्णय गरेकाे प्रवक्ता लामिछानेले बताए ।
यस्तै प्रदेश मन्त्रिपरिषद्ले नीजि वनको साल प्रजातिको रुख कटान तथा ओसारप्रसार अनुगमन सम्बन्धि कार्यविधि, २०८२ स्वीकृत गरेको छ। स्वीकृत कार्यविधि अनुसार प्रदेश सरकारले अनुगमन गर्न सक्ने गरी अधिकार सुनिश्चित गरिएको छ । त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित ‘बागमती प्रदेश स्तरीय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२’ लाई बैठकले स्वीकृत गरेको छ।
मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले १२ औं वार्षिकोत्सवको अवसरमा विगत १२ वर्षको सेवा, विकास र चुनौतीहरूको समीक्षा गर्दै भावी योजनाहरू सार्वजनिक गरेको छ।
संस्थाले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको शुद्ध खानेपानी आपूर्ति तथा व्यवस्थापनको जिम्मेवारी बहन गर्दै आएको छ। हाल बोर्डले ६२८ किलोमिटर पाइपलाइन विस्तार गरी दैनिक करिब ३ करोड ७० लाख लिटर पानी वितरण गरिरहेको छ। तथ्यांक अनुसार, हाल ५ वटा स्राेतबाट पानी संकलन हुँदै आएको छ भने पानी प्रशोधनका लागि २ वटा प्रशोधन केन्द्र सञ्चालनमा छन्।
संस्थाका अनुसार, आगामी दिनहरूमा नयाँ प्रशोधन केन्द्र निर्माण, पाइप विस्तार तथा वितरण सुधार, चुहावट नियन्त्रणलगायतका योजना अघि बढाइनेछ। साथै ग्राहकको गुनासो व्यवस्थापन तथा सेवा गुणस्तर सुधारमा समेत जोड दिने योजना सार्वजनिक गरिएको छ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले संघीय, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा चालु आर्थिक वर्षमा पूर्वाधार विकासका थुप्रै योजना सफलतापूर्वक सम्पन्न भएका छन्।
बोर्डका अनुसार संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहलगानीमा १५ करोड रुपैयाँको लागतमा ओभरहेड टंकी १ वटा, भूमिगत टंकी ३ वटा, डिप बोरिङ्ग ४ वटा, पाइपलाइन विस्तार तथा विद्युतिकरण कार्य सम्पन्न गरिएको छ।
यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नं १९ बस्तीपुरमा संघीय सरकारबाट करिब ८ करोडको लगानीमा सुरु भएको योजना अपुरो रहँदा बोर्डले थप ३ करोड रुपैयाँको लगानी गरी योजना सम्पन्न गरी सो क्षेत्रमा सेवा सुचारु गरिसकेको छ।
प्रदेश सरकारसँगको सहकार्यमा पनि ठूला योजना सम्पन्न
बागमती प्रदेश सरकारसँगको सहलगानीमा हेटौंडा वडा नं १९ मा समवेल, वडा नं १६ मा डिप ट्युबेल, त्रिशूले क्षेत्रमा ५ लाख लिटर क्षमताको भूमिगत पानी टंकी, र करिब २० किमी पाइपलाइन विस्तार कार्य सम्पन्न भइसकेको बोर्डले जनाएको छ।
त्यस्तै, बोर्डले हेटौंडा वडा नं ३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिबाट पूर्वाधार हस्तान्तरण गरी ९,५०० घरधुरीमा सेवा विस्तार गरिसकेको जनाएको छ।
सुदृढ पूर्वाधार निर्माण र मर्मतमा करोडौंको लगानी
२०८२ सालको वैशाख मसान्तसम्ममा खानेपानी मर्मत तथा संभारमा अत्यावश्यक फिटिङ्ग सामग्री, मोटर पम्पसेट खरिदका लागि करिब ७० लाख ३० हजार रुपैयाँ खर्च गरिएको छ। हेटौंडा–१६ मा डिप ट्युबेल र भूमिगत टंकी सञ्चालनमा ल्याइएको छ। यसैगरी, हेटौंडा–१६ शक्तिमा संघीय आयोजना र बोर्डको सहकार्यमा ६ वटा ९०० घनमिटर क्षमताका पानी संकलन टंकी, समवेल र ३ दशमलबब ५ किमी पाइपलाइन विस्तार कार्य सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको छ।
थानाभऱ्याङ्ग सिमलटारमा सेवा विस्तार योजनामा तीव्रता
खानेपानी तथा सरसफाइ डिभिजन नं १ र बोर्डको सहकार्यमा थानाभऱ्याङ्ग सिमलटार क्षेत्रमा २ वटा समवेल, पाले घर निर्माण कार्य सम्पन्न, ४ दशमलब ५ लाख लिटर क्षमताको ओभरहेड टंकी निर्माण कार्य प्रगतिको चरणमा रहेको छ। चालु आर्थिक वर्षमा २१ किमी शाखा पाइपलाइन विस्तारको प्रक्रिया बोलपत्रमार्फत अगाडि बढाइएको छ।
गढी गाउँपालिका–४, सामरीमा १५ लाख रुपैयाँको लागतमा २ वटा समवेल संरक्षण तटबन्ध निर्माण, हरिकुञ्ज पानी पोखरी जाने सडकको स्तरोन्नती, हेटौंडा–१५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको टंकी निर्माण।अन्य स्थानहरूमा भवन तथा पर्खाल मर्मत कार्य गरेको छ । पानी परीक्षण संघीय आयोजना मार्फत चालु आ।व।मा १५ लाख विनियोजन गरिएको र बोर्डले थप लागत साझेदारी गरेर पानी परीक्षणशालालाई स्तरीय बनाउने कार्य प्रकृया अगाडि बढाइएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे भीमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथ अन्तरगत लामिडाँडाकाे छैसठ्ठी माेडमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएकाे छन् ।
मंगलबार मकवानपुरकाे चित्लाङबाट सर्लाहीकाे लालबन्दी जादै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नं. को विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा १४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घाइते मध्ये मध्ये ३ जनाकाे अवस्था गम्भिर रहेकाे बताइएकाे छ । त्रिभुवन राजपथ सडक खण्डको छैसठ्टी मोडबाट उक्त गाडी खस्दा सल्लाको रूखले अड्काएकाे अवस्थामा रहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनास्थलमा प्रहरी चौकी भैसे र सिमभन्ज्याङ्गबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्दार गरि हेटौडा अस्पतालमा ल्याइएकाे छ । प्रहरीका अनुसार उक्त गाडीमा चालक सहित १४ जना सवार थिए । बेक्र फेलभई गाडी दुर्घटना भएको उद्दारमा खटिएको टोलीले जानकारी दिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज परेको उभौली पर्व र बुद्ध जयन्तीको अवसर शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले सोमबार छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेशवासीलगायत सबैमा समृद्धिको कामना गर्नु भएको हो ।
“प्रकृतिका पुजारी किराँत समुदाय अन्तर्गतका सुनुवार, राई, लिम्बु र याक्खा जातिको पवित्र पर्व उभौलीको पावन अवसरमा सम्पूर्ण प्रदेशवासीहरू तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली विशेष गरी किरात समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र सम्मृद्विको हार्दिक शुभकामना व्यक्त गर्दछु” उहाँले भन्नुभएको छ ।
कृषिजन्य उत्पादन राम्रो होस्, दैवीप्रकोप र विपत्तिहरू नआउन्, सबैमा सुस्वास्थ्य, सुख र शान्ति होस् भनी पूजा गरेर उभौली पर्व मनाइन्छ ।
“उभौली पर्वले केवल मौसमको परिवर्तन र उभो अर्थात् लेकतिरको यात्रालाई मात्र संकेत गर्दैन, यसले पुर्खाप्रतिको श्रद्धा, प्रकृतिप्रतिको सम्मान र सामाजिक एकताको गहिरो सन्देश पनि बोकेको हुन्छ” उहाँले सन्देशमा भन्नुभएको छ ।
यो पर्व किरात समुदायको सांस्कृतिक पहिचान, मेलमिलाप, चाडपर्वप्रतिको निष्ठा र सहअस्तित्वको दर्शन झल्काउने महत्वपूर्ण परम्परा हो । यो पर्व किराँत समुदायले आफन्त भेटघाट, खानपान, शुभकामना आदानप्रदान तथा नाचगान गरेर हर्सोल्लासका साथ मनाउने गर्दछन् ।
विविधता बोकेका सम्पूर्ण जातजाति र समुदायका हाम्रा मौलिक चाडपर्वहरूले समाजमा प्रेम, मेलमिलाप, आपसी सद्भाव, सहिष्णुता र विविधतामा एकताको भावना बलियो बनाउने कार्य गरेका छन् । देवकोटाले मौलिक पर्व र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ ।
यसैगरी आजै परेको बुद्ध जयन्तीको अवसरमा पनि प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देश प्रकाशन गर्नु भएको छ ।
शान्तिका अग्रदूत, बौद्ध धर्मका प्रवर्तक, ज्ञान र करुणाका स्रोत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको यस पवित्र दिन हो बुद्ध जयन्ती ।
बैशाख पूर्णिमाको दिन चैत्य, गुम्बा र बिहारहरूमा बिशेष प्रार्थना, ध्यान, पूजाअर्चना र प्रवचनलगायतका विविध कार्यक्रमहरू गरि भगवान बुद्धप्रति श्रद्धाभाब प्रकट गरिन्छ । आजको दिनलाई विश्व शान्तिको प्रतीक बोकेको दिनको रूपमा लिइन्छ । बुद्धले दिनुभएको अहिंसा, करुणा र समता जस्ता अमूल्य सन्देश मानव जगतलाई सुमार्गमा डोर्याउने आधारशिला हुन् । शान्तिका दूत भगवान गौतम बुद्धको जन्म नेपालमा हुनु सबैको लागि गौरबको कुरा भएको उहाँले सन्देशमा भन्नुभएको छ ।
“बुद्धको शिक्षालाई आत्मसात् गर्दै सभ्य, सहिष्णु, समावेशी र समृद्ध समाज निर्माणमा एकजुट हुने दृढ संकल्प हामी सबैमा जागृत होस् भन्ने कामना गर्दछु” देवकोटाले सन्देशमा भन्नुभएको छ ।
<विश्व परिवेशमा भैरहेका अशान्ति, हतियार होड, द्वन्द, युद्ध र युद्धउन्मुख परिदृश्यले बुद्धमार्गको अपरिहार्यताको बोध गराएको उहाँले उल्लेख गर्नु भएको छ। “भगवान बुद्धको आदर्शले सबैलाई शान्ति, सत्य, प्रेम, संयम र सदाचारको बाटोमा अग्रसर हुने प्रेरणा प्रदान गरोस्” देवकोटाले सन्देशमा भन्नुभएको छ ।