मकवानपुर । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रदेशका मन्त्रालयहरुले पेश गरेका योजना तथा कार्यक्रम विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी मन्त्रिपरिषदबाट स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए । मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेटमा समेट्ने गरी प्रभावकारी ढंगबाट कार्यक्रम तयार गरेको उनले बताए ।
मन्त्रिपरिषदबाट स्वीकृत भएको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकबाट सार्वजनिक गरिने छ । १४ जेठमा १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुखले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने कार्य सूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
यसैगरी बैठकले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा थप दुई सदस्य नियुक्त गर्ने निर्णय गरेकाे छ। पाँच सदस्यीय समितिमा बाँकी रहेका दुई पदमा नियुक्तिका लागि धादिङ थाक्रे गाउँपालिका–११ का नेत्रराज पौडेल र रामेछापको मन्थली नगरपालिका–१ की निशा न्यौपानेलाई राजनीतिक सहमतिका आधारमा नियुक्त गर्ने निर्णय गरेकाे प्रवक्ता लामिछानेले बताए ।
यस्तै प्रदेश मन्त्रिपरिषद्ले नीजि वनको साल प्रजातिको रुख कटान तथा ओसारप्रसार अनुगमन सम्बन्धि कार्यविधि, २०८२ स्वीकृत गरेको छ। स्वीकृत कार्यविधि अनुसार प्रदेश सरकारले अनुगमन गर्न सक्ने गरी अधिकार सुनिश्चित गरिएको छ । त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित ‘बागमती प्रदेश स्तरीय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२’ लाई बैठकले स्वीकृत गरेको छ।

