मकवानपुर । मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको जिल्ला सञ्जाल मकवानपुरले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ ।
आत्मसम्मान सहितको जीवन बाँच्न पाउनु प्रत्येक नागरिकको अधिकार संरक्षणको माग गर्दै सञ्जालले ज्ञापन पत्र बुझाएको हो ।
हाम्रो मुलुकी देवानी संहिताले विवाहलाई अनतिक्रम्य सामाजिक बन्धन हुने भन्दै विवाह गर्ने स्वतन्त्रता र विवाह हुन सक्ने अवस्थाको विषयमा उल्लेख गरेको छ । मुलुकी अपराध संहिताले बहु विवाहलाई अपराध परिभाषित गरि दण्ड सजायको प्रावधान गरेको छ ।
नेपालमा लामो प्रतिक्षा र प्रयासबाट निर्माण भएका मुलुकी संहिताहरुले तय गरका कानुनी प्रावधानको भावनाको प्रतिकुल हुनेगरी यदि कुनै श्रीमानले वैवाहिक सम्बन्ध कायम भएकै अवस्थामा आफ्नी श्रीमती बाहेक कुनै बच्चाकी आमालाइ श्रीमती बनाउने मनसायले आफुसँग ल्याउँछ र उक्त बच्चा आफ्नो भएको स्विाकार्दछ भने अब ति महिलालाई पनि कानुनी रुपमा नै श्रीमती हुन पाउने अधिकार सहितको मुलुकी संहिता संसोधनको दुखद चर्चा समुदायमा सुनिन थालिएकोले यसो नगर्न सुझाव सहित ज्ञापन पत्र पेश गरिएको हो ।
महिलाहरुको गरिमा र आत्मसम्मानमा दख्खल पुग्ने गरी महिलाहरुलाई सम्भावित डर र शंकामा रहन पर्ने गरी कुनै पनि कानुन निर्माण नगर्न संजालले माग गरेको हो।
“जे सुनिदै आएको छ,यस किसिमका संसोधनका कुचेष्टा हुन नपाओस भन्ने कुरामा सञ्जाल संवेदनशील छ दृढ संकल्पित छ” ज्ञापन पत्रमा भनिएको छ ।
कानुन निर्माण र संसोधनको विषयसँग सम्बन्धित सरोकारवाला निकाय तथा पदाधिकारीहरुको यस सवालमाथि ध्यानाकर्षणको निम्ति जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञापनपत्र बुुुझाइएको संजाल सह संयोजक माया तामाङले बताइन् ।
मकवानपुर । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ । सोमबार साँझ प्रकाशित नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ ।
परीक्षामा पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएकाेमा कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका हुन् । परीक्षामा सहभागी मध्ये १७ जनाको परीक्षाफल रद्द गरिएको बाेर्ड जानकारी दिएकाे छ । नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षा रद्द भएको हाे ।
कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो । पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी भएकाे वोर्डले जनाएकाे छ ।
कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।
यसरी हेर्न सकिनेछ नतिजा
बोर्डका अनुसार यो वर्षको १२ कक्षाको परीक्षाकाे नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न र थाहा पाउन सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ४ वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ । सोमबार प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित भएका ४ वटा विधेयकहरुलाई प्रमाणीकरण गर्नु भएको हो ।
विभिन्न मितिमा प्रदेश सभाबाट पारित भएका विधेयकहरु गत ११ साउनमा प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणको लागि पेस गरिएको थियो ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको हो ।
प्रदेश प्रमुख देवकोटाले व्यावसायिक २ विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् भने प्रदेश कृषि विकास सम्बन्धी विधेयक संविधानको धारा २०१ को उपधारा (४) प्रमाणीकरण गरेका हुन् ।
मकवानपुर । प्राचीन संस्कृति र ऐतिहासिक सम्पदाकाे पनौती स्थित त्रिवेणीघाट क्षेत्रको संरक्षणका लागि पहल गरिएकाे छ।
काठमाडौं विश्वविद्यालयका आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले त्रिवेणीघाट क्षेत्रको सांस्कृतिक सम्पदाको विस्तृत नक्साङ्कन तथा संरक्षणका सम्भावित प्रस्तावहरू तयार पारी पनौती नगरपालिकाकालाई हस्तान्तरण गरेका छन् ।
आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका २६ जना विद्यार्थीको टोलीले त्रिवेणीघाट क्षेत्र संरक्षण प्रस्ताव पनौती नगरपालिका प्रमुख र उपप्रमुखलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । करीब ५ महिनाको सम्पदा अध्ययन, नापजाँच लगायतका काम पछि तयार पारिएको प्रतिवेदनको चित्रसहित पनौतीको लायकु स्थानमा प्रदर्शनी गरिएको थियो ।
विद्यार्थीहरूको टोलीले तयार पारेको प्रतिवेदनमा त्रिवेणीघाट क्षेत्रका मूख्य सम्पदाहरू – जस्तै ऐतिहासिक मन्दिरहरू, पुराना धारा–पाटी, प्राचीन वस्ती संरचना, घाट तथा धार्मिक आयोजनाका स्थानहरूको नक्साङ्कन गरिएको छ। यसैगरी उक्त क्षेत्र संरक्षणका लागि उपयुक्त निर्माण प्रविधि, हरित संरचना, संवेदनशील पुनःस्थापना उपाय, सामुदायिक सहभागिता तथा दीर्घकालीन व्यवस्थापन रणनीतिहरूसमेत समेटिएको आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका विद्यार्थी अंकित श्रेष्ठले बताए ।
प्रस्ताव ग्रहण गर्दै पनौतीका नगरप्रमुख रामशरण भण्डारीले विद्यार्थीहरूबाट प्राप्त प्रस्तावलाई गम्भीरतापूर्वक लिइने र आगामी नगर योजना तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्रिवेणीघाटको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व स्मरण गर्दै यस किसिमको प्राविधिक अध्ययनले संरक्षण अभियानलाई दिशा दिने विश्वास व्यक्त गरेका छन् ।
‘त्रिवेणीघाट संरक्षण सम्बन्धी प्रदर्शनी’ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री एकालाल श्रेष्ठले आर्किटेक्ट अध्ययनरत विद्यार्थीहरूको अथक मेहनत कार्यले पनौतीको समृद्ध इतिहासलाई संरक्षण गर्न मद्दत पुर्याउने बताए । यस प्रतिवेदनले पनौतीको यस क्षेत्रलाई विश्व सम्पदा सुचिमा समावेश गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।