बीबीसी/ भारतको केन्द्र प्रशासित भूमि लद्दाखमा बुधबार जेनजीहरुले आन्दोलन गरेका छन् । जेनजी (युवा प्रदर्शनकारी) र प्रहरीबीच झडप भएपछि हिंसा र आगजनीको घटना भएको छ । घटनाबाट कम्तिमा ५ जनाको ज्यान गएकाे बताइएको छ ।
भारतको समाचार एजेन्सी एएनआईका अनुसार, झडपका क्रममा प्रदर्शनकारीहरूले लद्दाखको सदरमुकाम लेहमा रहेको भारतीय जनता पार्टी (बीजेपी)को कार्यालयमा आगो लगाइदिएका छन् ।
लद्दाखमा पूर्ण राज्यको दर्जा र छैटौँ अनुसूचीका लागि आन्दोलन केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग राख्दै वातावरणविद् तथा सामाजिक कार्यकर्ताहरू विगत दुई हप्तादेखि भोक हडतालमा छन् ।
बुधबार सोनम वाङचुकको समर्थनमा ठूलो संख्यामा मानिसहरू लेहका सडकमा उत्रिए । केही युवाहरूले कथित रूपमा लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरी आफ्नो आक्रोश व्यक्त गरेका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास र लाठीचार्ज गरेको थियो । केही भिडियोहरूमा लेह सहरमा धेरै सवारीसाधनहरू जलिरहेको र केही झडपहरू भएको देखिएको छ ।
बीजेपी प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले बीबीसी संवाददाता माजिद जहांगीरलाई फोनमा बताएअनुसार उनको पार्टी कार्यालयमा आगजनी गरिएको छ र लेहमा स्थिति तनावपूर्ण छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, लेहमा बुधबार भएको हिंसामा चारजनाको मृत्यु र करिब ३० जना घाइते भएका छन् । लेहमा पाँच वा सोभन्दा बढी व्यक्तिहरू जम्मा हुन प्रतिबन्ध लगाइएको छ । जिल्ला मजिस्ट्रेटको आदेशअनुसार लेहमा पूर्वलिखित अनुमतिबिना कुनै पनि जुलुस, र्याली वा मार्च निकाल्न पाइने छैन ।
सोनम वाङचुकद्वारा शान्तिको अपिल
सोनम वाङचुकले सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको अपिल गरेका छन् ।
उनले भने, “यहाँ केही मानिस ३५ दिनदेखि अनशन गरिरहेका थिए । हिजो उनीहरूमध्ये दुईजनाको स्वास्थ्य बिग्रियो र उनीहरूलाई निकै गम्भीर अवस्थामा अस्पताल भर्ना गरियो । यसबाट मानिसहरूमा धेरै आक्रोश छ र आज पूरै लेहमा बन्दको घोषणा गरियो । यस दौरान हजारौँको संख्यामा युवाहरू सडकमा उत्रिए । यो एक प्रकारको ‘जेनजी रिभोलुसन’ थियो ।”
“पाँच वर्षदेखि ‘जेनजी’ युवाहरू बेरोजगार छन् । एकपछि अर्को बहाना बनाएर उनीहरूलाई जागिरबाट बाहिर राखिँदै छ र लद्दाखलाई पनि संरक्षण दिइएको छैन । आज यहाँ कुनै लोकतान्त्रिक मञ्च छैन,” उनले थप भने । सोनम वाङचुकले कुनै पनि परिस्थितिमा युवाहरूलाई हिंसाको बाटो नअपनाउन अपिल गरेका छन् ।
वार्ताका लागि नयाँ मिति तय
समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र र लद्दाखका प्रतिनिधिहरूबीच अक्टोबर ६ मा वार्ताको एक नयाँ चरण निर्धारण गरिएको छ । जसमा लेह एपेक्स बडी र कारगिल डेमोक्रेटिक अलायन्सका सदस्यहरू सहभागी हुनेछन् ।
मकवानपुर । आजबाट बडादशैको नवरात्र सुरु भएको छ । आज घटस्थापना गरि नवरात्रको सुरुवात गरिन्छ । शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरिन्छ ।
देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ ।
कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल यज्ञमा भगवान् शंकर र शतिदेवीलाई निमन्त्रणा दिइएन । बाबुले गरेको यज्ञमा सहभागी हुन चाहनुभएकी शतिदेवीलाई श्रीमहादेवले रोके पनि उनी आफ्ना आमा र बहिनीहरूसँग भेट गर्न भन्दै यज्ञस्थल पुगेकी थिइन् । त्यहाँ उनलाई अपमान गरिएको र महादेवलाई नाना प्रकारले गाली गरिएको सहन नसकी शतिदेवीले यज्ञकुण्डमा आफैँलाई समर्पण गरिन् । यो घटनापछि क्रुद्ध महादेवले आफ्ना गणहरूलाई पठाई यज्ञ पूर्णतः ध्वस्त गरिदिनुभयो ।
यज्ञकुण्डमा देह त्याग गरेकी शतिदेवीले पुनर्जन्म लिएर हिमालयराजकी छोरीका रूपमा शैलपुत्री नामले परिचित भइन् । शैलपुत्रीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको चित्रण पाइन्छ ।
नवरात्रको पहिलो दिन स्नानादि नित्यकर्मपछि गंगाजल वा गाईको गहुँतले शुद्ध गरी रातो वस्त्र ओछ्याएर शैलपुत्रीको तस्बिर स्थापना गरिन्छ । शुद्ध मन, वचन र कर्मले पूजन सामग्री तयार गरी धान, चामल, जौँ, तिल, कुश, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, फलफूल, पकवान्न, धूप, बत्ति, कपूर, फूलमाला आदि अर्पण गर्ने प्रचलन छ ।
पूर्व, उत्तर वा पश्चिम फर्केर शुद्ध आसनमा बसेर दियो प्रज्वलन गरी सङ्कल्प उच्चारणसहित ॐ देवी शैलपुत्र्यै नमः मन्त्र ११, २१ वा १०८ पटक जप गर्नुपर्ने शास्त्रीय उल्लेख छ । सङ्कल्पपछि गणेश पूजा गरी वरुण कलशमा ब्रह्माण्डका सम्पूर्ण देवी–देवताहरूको आवाहन गरी कलश पूजन सम्पन्न गरिन्छ ।
शास्त्रअनुसार शैलपुत्रीको पूजा गर्दा मानसिक शान्ति, पारिवारिक सुख, आध्यात्मिक उन्नति र शक्ति जागृत हुने विश्वास गरिएको छ ।
शैलपुत्री माताको पूजा गर्दा निम्न मन्त्र उच्चारण गर्नुपर्दछ :
वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्
वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम् ।।
पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा ।
पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता ।।
प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम् ।
कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम् ।।
वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम ।
वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम् ।।
मकवानपुर । जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १५ र बारा जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाई स्थित मकवानपुर र बाराकाे सिमाना पुर्व पश्चिम सडक खण्डमा सेना बोकेको ट्रक दुर्घटना भएको छ।
२ नम्बर राजदल गण तनहुँबाट धनुषा तर्फ जाँदै गरेको सेनाको ट्रक दुर्घटना भएको हो। दुर्घटनामा परि ३ जना गम्भीर र १३ जना सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकमा २२ जना सेना सवार थिए ।
उप सेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा जादै गरेको ४ वटा नेपाली सेनाको ट्रक मध्ये लु १ ग २८० नं.को ट्रक सिमानाको पुल बाट अन्दाजी १२ फिट तल खोल्सामा खसेको थियो ।
घाइतेहरुलाई नेपाली सेनाकै सहयोगमा उद्दार गरी उपचारको लागी हेटौडा अस्पताल ल्याइएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।