मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बिच सहमति भएको छ । आज (आइतबार) बिहान ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदामा सहमति भएको हो ।
रास्वपाका सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन साहलाई अघि सारिएको छ ।
सहमति पत्र

रास्वपा र बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो । गत हप्ता सोमबारदेखि दुवै नेताबिच निरन्तर भेटघाट र छलफल सुरु भएको थियो ।
यो सहमतिसँगै रास्वपा सभापति रवि लामिछानेले सहमति हुँदाको फोटो सामाजिक सञ्जाल फेसबूक राख्दै लेखेका छन् ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।’
बालेन शाहले पनि रवि लामिछानेसँगको फोटो फेसबूकमै शेयर गर्दै ‘शुभप्रभात’ लेखेका छन् ।

मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिध सभा निर्वाचनकाे लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेकाे छ । मकवानपुरकाे २ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारकाे नाम सिफारिस गर्दा विरोध खतिवडाकाे नाम दुवै तिर अटाएकाे छ ।
जिल्लाकाे क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ सिफारिस भएकामा पुराना नेता खतिवडा, संविधान सभा सदस्य प्रल्हाद लामिछाने, युवा नेता विजय गौतमसम्म छन् । वाम घटकहरुकाे एकतामा नेकपामा समेटिएका खतिवडाले विगतमा पटक पटक सांसदमा प्रतिनिधित्व गरेका छन् । यसैगरी विद्यार्थी राजनीतिबाट आएका गौतम साविक नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन्।
क्षेत्र नम्बर १ बाट वहालवाला जनप्रतिनिधि सहित १३ जनाकाे नाम आगामी निर्वाचनकाे लागि उम्मेदवार सिफारिसमा परेका छन् । सिफारिस हुनेमा खतिवडा, गौतम र लामिछानेसहित घनप्रसाद गौतम, भीम पाख्रिन, सोमबहादुर थिङ् , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ रहेका छन्। सिफारिस हुने वहालवाला जनप्रतिनिधिहरुमा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलान रहेका छन्।
त्यसैगरी पुर्व सांसद खतिवडाको नाम क्षेत्र नम्बर २ बाट पनि सिफारिसमा परेकाे छ। मकवानपुर २ बाट वहालवाला जनप्रतिनिधिसहित ८ जनाको नाम उम्मेदवारमा सिफारिस गरिएकाे छ । खतिवडासहित रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती , किशोर बर्तौलाको नाम सिफारिस छ। त्यस्तै सिफारिस हुने वहालवाला जनप्रतिनिधिहरुमा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्थम् थिङ् रहेका छन् ।
यसैगरी समानुपातिक तर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी , लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान सिफारिस भएका छन्। समानुपातिक तर्फकै विभिन्न क्लस्टर अन्तर्गत सिफारिस हुनेमा कृष्ण चेपाङ , रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरे रहेका छन्।
मकवानपुर । जेसीआई हेटौंडा वर्ष २०२६ अध्यक्षमा सन्तोष पराजुली निर्वाचित भएका छन् । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था जेसीआई हेटौंडा शाखाकाे शनिबार नेतृत्व चयनका लागि भएको निर्वाचनमा पराजुलीकाे प्यानल नै विजयी भएकाे हाे ।
शनिबारकाे अधिवेशनमा आफ्ना प्रतिस्पर्धी जीवन ढकाललाई २९ मत अन्तर पराजित गर्दै पराजुली विजयी भएका हुन् । पराजुलीले १ सय ७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी ढकालले ७८ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल १ सय ८७ मत खसेकोमा २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षसँगै पराजुलीको प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार तथा उपाध्यक्षमा विवेक बानिँया, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पराजुलीले जेसीआईको मर्मअनुसार युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेसीआई हेटौंडालाई थप उचाइमा पुर्याउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन् ।
जेसीआईले लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गर्दै आएकाे छ ।
मकवानपुर । निर्वाचन आयोगले राजनैतिक दलहरुलाई समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन २ दिनकाे समय ताेकेकाे छ । आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिक सूची बुझाउन समेत दलहरूलाई आयोगले अनुरोध गरेको छ ।
आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची पेस गर्न पुस १३ र १४ गतेकाे समय ताेकेकाे हाे । आयोगले समानुपातिक तर्फकाे निर्वाचन कार्यतालिका तय गर्दै उक्त कुरा बताएकाे छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर उम्मेदवारको बन्द सूची तयार पार्न आयोगले आग्रह गरेको हो ।
राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्द सूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीको लागि सार्वजनिक गर्न सक्ने पनि आयोगले जनाएको छ ।