मकवानपुर । निर्वाचन आयोगले राजनैतिक दलहरुलाई समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन २ दिनकाे समय ताेकेकाे छ । आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिक सूची बुझाउन समेत दलहरूलाई आयोगले अनुरोध गरेको छ ।
आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची पेस गर्न पुस १३ र १४ गतेकाे समय ताेकेकाे हाे । आयोगले समानुपातिक तर्फकाे निर्वाचन कार्यतालिका तय गर्दै उक्त कुरा बताएकाे छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर उम्मेदवारको बन्द सूची तयार पार्न आयोगले आग्रह गरेको हो ।
राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्द सूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीको लागि सार्वजनिक गर्न सक्ने पनि आयोगले जनाएको छ ।

